
पाटन दरबार क्षेत्रस्थित भीमसेन मन्दिर पुनर्निर्माणमा प्राइम बंैकले सहयोग गरेको छ ।
ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनलाई बंैकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले आइतवार १० लाख रुपैयाँ हस्तान्तरण गरे ।
भारत सरकाले पुनर्निर्माण गर्ने भनिएको सो मन्दिर भूकम्प गएको ४ वर्ष बितिसक्दा पनि चासो नदेखाएपछि ‘ललितपुरको इतिहासमा दानदातव्य’ नारालाई पाटनवासीले अघि बढाई गत वर्षको असार १२ गते गाईको पुच्छरमा डोरी बाँधेर मन्दिरको गजुर निकाली भत्काउने काम शुरूआत गरेका थिए ।
मन्दिर पुनर्निर्माणमा स्थानीय आफैं जुटेपछि आइतवार बैंकका अध्यक्ष श्रेष्ठले १० लाख सहयोग गरेको महर्जनले जानकारी गराए ।
यसअघि वाणिज्य बैंकले ५ लाख, एभरेस्ट बैंकले १ करोड सहयोग गरेको थियो । सो मन्दिर पुनर्निर्माणमा तदर्थ समितिका सदस्यले ९० हजार र ललितपुर महानगरपालिकाले १ करोड सहयोग गरेको महर्जनले बताए । ‘हाम्रो सम्पदा हामी आफैं बनाऔं’ भन्ने नाराका साथ मन्दिर पुनर्निर्माणमा सुन लेपन खर्चबाहेक ४ करोड ९३ लाख लागत लाग्ने अनुमान गरिएको संघका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम श्रेष्ठले जानकारी गराए ।
विक्रम संवत् २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्प र पटक–पटकका पराकम्पनका कारण मन्दिरको माथिल्लो तलाको गारो थाम्ने, थाम, दलिन र बिम भाँच्चिएर भित्ता चिराचिरा भएका थिए । सो मन्दिर परिसरबाट आवतजावत गर्ने हजारांै स्वेदेशी र विदेशीलाई नोक्सानी पुग्ने डरका कारण पाटनका जनता मन्दिर पुनर्निर्माणमा अग्रसर भएर हाल धमाधम काम भइरहेको श्रेष्ठको भनाइ छ ।
मन्दिरको गजुर, तामा र धातुको पातालगायत अन्य महत्पूर्ण वस्तु रेखदेखको जिम्मा पुरातत्व विभाग, स्मारक संरक्षक तथा दरबार हेरचाह कार्यालय पाटन दरबार संग्रहालयको निगरानीमा रहेको छ । ४ शताब्दी पुरानो इतिहास बोकेको मल्लकालमा निर्मित भीमसेनको मन्दिर उपत्यकाकै नमूनाको धरोेहरका रुपमा प्यागोडा शैलीमा निर्माण भएको थियो ।
मन्दिर निर्माणमा लाग्ने सम्पूर्ण प्राविधिक सहयोगको जिम्मा काठमाडौं भ्याली प्रिजर्भेसन ट्रस्टले लिएको छ । मन्दिर पुनर्निर्माणका लागि नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, पुरातत्व विभाग, काठमाडौं भ्याली प्रिजर्भेसन ट्रस्ट, मंगल टोल सुधार समिति, ललितपुरभरिका जातीय समाजलगायत विभिन्न संघसंस्था लागि परेका छन् ।
मन्दिरको माथिल्लो तल्लाको गजुर तथा धातुका छाना निकाल्ने तथा मर्मतपश्चात् पुनः राख्ने कामको जिम्मा भने पाटन हौगल टोल निवासी कल्याणकृष्ण ताम्राकारले लिएका छन् । यसैगरी मन्दिरलाई चाहिने डाँची र ईट्टा दक्षिण बाराही ब्रिक फ्याक्ट्रीका हीराकाजी महर्जन र तीर्थलाल महर्जनले उपलब्ध गराउने संघले जनाएको छ । ५ पाण्डवका माइला भाई भीमसेनलाई नेवारहरूले आराध्य देवका रुपमा पुज्ने गरेका छन् । भीमसेन मन्दिरको दर्शन र पूजाआजा गर्नाले व्यापार फलिफाप हुने विश्वास आम व्यवसायीको छ ।