दशैंका लागि सहुलियत मूल्य पसल सञ्चालन हुने

प्रतिकात्मक तस्वीर

दशैंलाई लक्षित गर्दै असोज १५ गतेबाट सहुलियत मूल्यको पसल सञ्चालन गरिने भएको छ ।

सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पाेरेसनले आगामी मंसिर ७ गतेसम्म  पसल सञ्चालन गर्ने भएका हुन् ।


Advertisement

खाद्य कम्पनीले काठमाडौं उपत्यकाका ५ बिक्री केन्द्रमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । कम्पनीका अनुसार थापाथली, रामशाहपथ, नख्खु, लगनखेल र सूर्यविनायकमा रहेका बिक्री काउन्टरमा नै सुपथ मूल्य सञ्चालन गर्ने र सम्भाव्यताका आधारमा बाहिरका जिल्लामा समेत पसल सञ्चालन गरिने कम्पनीका प्रमुख कार्यकारी निर्देशक नेत्रप्रसाद सुवेदीले जानकारी दिए ।

सोमवार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलमा २ कम्पनीलाई काठमाडौैं उपत्यकामा ५/५ स्थानमा सुपथ मूल्यका पसल सञ्चालनको अनुमति दिइएको छ । सोही अनुमतिका आधारमा दुबै कम्पनीले बिक्री काउन्टरमा सुपथ मूल्य पसल सञ्चालनको तयारी गरिएको सुवेदीले जानकारी दिए ।


Advertisement

मन्त्रालयमा भएको छलफलमा दुवै कम्पनीले एकअर्काका सामग्रीको समेत बिक्री वितरण गर्न पाउने भएका छन् । साल्ट ट्रेडिङको ललितपुर, सङ्लुगल, कोटेश्वर, भक्तपुर र बनेपामा बिक्री काउन्टर रहेका छन् । सोही स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरिने कर्पाेरेसनले जनाएको छ ।

कमेन्ट गर्नुहोस्