चालकमा कोरोना देखिएपछि नगरपालिका सिल

प्रतिकात्मक तस्वीर

बैतडीको मेलौली नगरपालिकालाई सिल गरिएको छ । 

मंगलवार नगरपालिकामा कार्यरत १ कर्मचारी र भारतबाट फर्केका १ स्थानीयमा कोरोना संक्रमणको पुष्टि भएपछि नगर क्षेत्र सिल गरिएको हो ।


Advertisement

मंगलवार बसेको आकस्मिक बैठकले असोज १७ गते राति १२ बजेसम्मका लागि नगरक्षेत्र सिल गर्ने निर्णय भएको मेलौली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामदत्त भट्टले जानकारी दिए ।

उनले भने, ‘संक्रमण पुष्टि भएका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ गरी स्वाब संकलन गर्ने कार्य हुने भएकाले नगर क्षेत्र सिल गरिएको हो ।’ नगरपालिकाको गाडीको चालकमा कोरोना पुष्टि भएपछि स्वास्थ्य र आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवा बन्द रहने मेलौली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण चन्दले जानकारी दिए ।


Advertisement

सिल गरिएको अवधिमा नगरपालिकामा रहेका सबै विद्यालय, वित्तीय संस्था, सरकारी कार्यालय बन्द रहने भएका छन् । सबै प्रकारका व्यापार, व्यवसाय र यातायात सेवा पनि बन्द गर्ने निर्णय भएको छ । यसका साथै आवतजावतमा पनि पूर्णरूपमा बन्द गरिएकाले एक वडाबाट अर्काे वडामा पनि आउनजान पनि रोक लगाइएको छ ।

मेलौलीमा हालसम्म ३६ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा २ जना मात्र सक्रिय संक्रमित छन् ।

मंगलवार थप ३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । जिल्ला अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा मेलौली नगरपालिकाका २ र दशरथचन्द नगरपालिकाका १ गरी ३ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा मेलौली नगरपालिकामा कार्यरत २४ वर्षीय पुरुष कर्मचारी, मेलौली नगरपालिका–८ का ३० वर्षीय पुरुष र दशरथचन्द नगरपालिका–९ का ३६ वर्षीय पुरुष रहेका छन् । 

संक्रमण पुष्टि हुने कर्मचारी नगरपालिकाको गाडीको चालक र अन्य २ जना भारतबाट फर्किएका व्यक्ति रहेको स्वास्थ्य कार्यालय बैतडीका कोभिड–१९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले बताए । यससँगै बैतडीमा संक्रमितको संख्या ४०९ पुगेको छ । जसमध्ये हाल ३१ जना मात्रै सक्रिय संक्रमित रहेका छन् । १ जनाको भने कोरोना संक्रमणकै कारण ज्यान गएको छ ।

हालसम्म जिल्लाको पञ्चेश्वर गाउँपालिकाका सबैभन्दा बढी ६१ जनामा संक्रमण पुष्टि भएको छ । दशरथचन्द नगरपालिकाका ५६, सिगास गाउँपालिकाका ५१, शिवनाथ गाउँपालिकाका ५०, पाटन नगरपालिकाका ४९, दोगडाकेदार गाउँपालिकाका ४६ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

मेलौली नगरपालिकाका ३६, सुर्नया गाउँपालिकाका २८, पुर्चौंडी नगरपालिकाका २० र डिलाशैनी गाउँपालिकाका १० जनामा संक्रमण पुष्टि भएको छ ।  

कमेन्ट गर्नुहोस्