सप्तरीमा थप १ जना कोरोना संक्रमितको मृत्यु

सप्तरीमा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरी अग्नीसाइर कृष्णसवरण गाउँपालिका–४ का ३५ वर्षीय पुरुष रहेको छ ।


Advertisement

मिर्गौला रोगबाट पीडित उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा बुधवार मृत्यु भएको हो । अक्सिजन कम भएपछि प्रतिष्ठानको कोभिड अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको उनको बुधवार मृत्यु भएको उनका भाइ पिन्टुकुमार यादवले जानकारी दिए ।

बालकैदेखि मधुमेहबाट पीडित उनको ८ दिन उपचार गरेपछि गोल्डेन अस्पताल विराटनगरले दुवै मिर्गौलाले काम गर्न छाडेको भन्दै घर फर्काएको थियो । गोल्डेन अस्पतालमा भदौ २७ गते गरिएको परीक्षणमा कोरोना संक्रमण नेगेटिभ आएको थियो । खर्चविहीन भएर अस्पतालबाट घर फर्किएका उनलाई अग्नीसाइर कृष्णसवरण गाउँपालिका–४ का वडाध्यक्ष तेजनारायण यादवले १५ हजार रुपैयाँ दिएर उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएका थिए ।


Advertisement

उपचारका क्रममा परीक्षण गर्दा असोज ८ गते उनमा कोरोना संक्रमण पुष्टि भएको वडाध्यक्ष यादवले जानकारी दिए । नेपाली सेनाले अहिले उनको शव व्यवस्थापन गर्ने तयारी गरिरहेको उनले बताए ।

कमेन्ट गर्नुहोस्