कोरोनाले फेरिएको पेशा : तारे होटलका सेफले खोले खाजा पसल, कम्प्युटर गुरुको हातमा हतौडा

लखन चाैधरी
लखन चाैधरी

लखन चौधरी लोकान्तरका लागि सुदूरपश्चिम प्रदेश प्रतिनिधि हुन् । 

कैलाली जिल्लाको कैलारी गाउँपालिका–७ भुइयाफाँटाका विवश चौधरी ६ वर्षअघि कामको खोजीमा भारतको मुम्बई पुगेका थिए ।


Advertisement

उनले त्यहाँ एक होटलमा हेल्परको रूपमा काम थाले । उनी थर्डकोमी, सेकेन्ड कोमी, फर्स्टकोमी, डीसीडीपी हुँदै सीडीपी सेफसम्म बने । ५ हजार भारुमा शुरू गरेको होटल क्षेत्रमा मासिक २२ हजार भारुसम्म कमाउने भए ।


Advertisement

गत चैतअघिसम्म उनी मुम्बईको प्रतिष्ठित तीनतारे होटलमा सीडीपी सेफको पदमा कार्यरत थिए । साथमा होटलको आकर्षक सेवासुविधा पनि थियो ।

जब कोरोना भाइरसको महामारीले भारत हल्लियोे, तब उनी स्वदेश फिर्ता भए । भारतको सबै सेवासुविधा त्यागे । नेपालमा पनि जारी लकडाउनले केही समय गाउँमै भौतारिएका उनी आजभोलि भारतमा आर्जन गरेको सीपले मज्जाले कमाइ गर्न थालेका छन् ।


Advertisement

प्रसन्न मुद्रामा रहेका विवश भन्छन्, ‘इण्डियामा लगातार ६ वर्ष बसे । पैसा मात्रै कमाइएन, सीप पनि सिकियो । कूक सम्बन्धी सीप सिकें । आज त्यही सीप मेरो जीवनको सहारा बन्यो ।’

उनले हाल धनगढी उपमहानगरपालिका–७ मोतीचोकमा विवश फास्टफूड एण्ड सुप सेन्टर सञ्चालन गरेका छन् । उनी दैनिक १ हजारदेखि २ हजार कमाइ गर्न थालेका छन् ।

उनी भन्छन्, ‘अझै लगानीकै फेजमा छु । लकडाउनले व्यवसायले खासै गति लिन सकेको छैन । तर घरको खर्च यसैबाट जोहो भइरहेको छ ।’

उनले १ लाख ४० हजार लगानीमा व्यवसाय शुरूवात गरेका हुन् । पहिले मालिकको लागि दिलोज्यान लगाएर काम गरेका उनी आज आफैं मालिक बनेर आफ्नै लागि मेहनत गर्न पाउँदा खुशी छन् ।

‘पहिले कसैको अधिनमा काम गर्नुपथ्र्यो, आज स्वतन्त्र भई आफ्नै लागि गरिरहेको छु । स्वदेशमै पनि केही गर्न सकिन्छ भन्ने लागेको छ । व्यवसाय गर्ने वातावरण बनिरहे अब कहिल्यै इन्डिया जान्न,’ उनले आत्मविश्वास व्यक्त गर्दै भने ।

उनी जस्तै उनकै गाउँ भुइयाफाँटाका अर्का युवा उमेश चौधरी पनि कामकै खोजीमा १३ वर्षअघि भारत पुगेका थिए । भारतमा होटलमा काम गर्ने उनी लकडाउनपछि स्वदेश फिर्ता भए । अब भारतमा सिकेको सीप उनको लागि जीवनको आधार बनेको छ । उनले पनि धनगढीकै मोतीचोकमा ‘मेडिवन चाइनिज कर्नर’ थालेका छन् ।

उमेश पनि मुम्बईको होटलमा हेल्परबाट थर्डकोमी, सेकेन्ड कोमी, फर्स्टकोमी, डीसीडीपी हुँदै सीडीपी सेफसम्म बने । त्यहाँ उनी मासिक २५ हजार भारु कमाउँथे । कोरोना कहरले स्वदेश फिर्ता भएका उनी उता सिकेको सीपले स्वदेशमा स्वरोजगार भएका छन् ।

उमेश भन्छन्, ‘कोरोनाबाट डराएर ज्यान जोगाउन स्वदेश आयौं । उताको रोजगारी त गुम्यो । तर आर्जन गरेको सीपले आज भोको हुनबाट जोगायो । इन्डियामा कसैको नोकर थियौं, आज सानो भए पनि आफ्नै व्यवसायको मालिक छौं । कम कमाइ भएपनि सन्तुष्टि मिलेको छ ।’

कोरोनाको महामारी फैलिएपछि भारतमा मात्रै रहेका लाखौं नेपाली स्वदेश फिर्ता भए । लामो लकडाउनपछि धेरै नेपालीहरू स्वदेशमा रोजगारी नभएको भन्दै ज्यान जोखिममा पारेर पुनः भारत फर्किरहेका छन् । तर केही नेपालीले भने स्वदेशमै केही गर्नुपर्छ भन्दै सानो लगानीमा व्यवसाय थालेका छन् ।

लामो लकडाउनले स्वदेशमै पनि धेरै नागरिक बेरोजगार भएका छन् । उनीहरूले पुरानो पेशा व्यवसायलाई थाती राखेर नयाँ वैकल्पिक व्यवसाय थालेका छन् ।

कम्प्युटर गुरुको हातमा हतौडा

धनगढीमा लोक सेवा आयोगका विभिन्न कक्षा, विभिन्न भाषा कक्षा, बैंक वित्तीय कक्षा, कम्प्युटर कक्षासहित विभिन्न विषयका वृज कोर्स सञ्चालन गर्दै आएको एडुपल नेपालमा कार्यरत विषय विज्ञहरू पनि कामविहीन भएका छन् । उनीहरूले पनि वैकल्पिक व्यवसायमा हात हालेका छन् ।

एडुपलमा कार्यरत कम्प्युटर शिक्षक दिलिप चौधरी आजभोलि ग्रील सटर उद्योगमा हतौडा चलाउन व्यस्त छन् । दिलिप हाल धनगढीको मनेहरास्थित न्यू बेहडा बाबा ग्रील सटर उद्योगमा व्यस्त छन् ।

उनी भन्छन्, ‘के गर्नु ? घरमा त्यत्तिकै बस्नु पनि भएन नि ! घरपरिवारको खर्चको जोहो गर्न केही त गर्नैपर्‍यो, हैन र ?’

उनको कम्प्यूटर चलाउने हातमा हतौडा, घन लगायत औजार छन् । कम्प्युटर कक्षा डिजाइन गर्ने उनी आजभोलि फलामे झ्याल, ढोका, च्यानल गेट लगायतमा फूलबुट्टा भर्न व्यस्त छन् ।

एडुपलकै लेखा शाखामा कार्यरत राजकुमार डगौरा आजभोलि लोकल कुखुरासँग रमाउन थालेका छन् । कैलालीको बर्दगोरिया गाउँपालिका घर भएका उनले पहिलो लटमा ५० हजार रुपैयाँका चल्ला हालेका छन् । उनले दशैं र दीपावलीमा कुखुरा बिक्रीवितरण गर्ने योजना रहेको बनाए ।

लखन चाैधरी
लखन चाैधरी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्