छपक्कै मनमा बस्न सफल गणेश रसिक

  • छविरमण सिलवाल 

भाषा, साहित्य, कला, संगितको अद्वितीय संगमका साधक गणेश रसिकबारे जति लेखे पनि थोरै हुन्छ । नम्र स्वभाव, मधुर बोली, तेजस्वी अनुहार उहाँको यो परिचय यहीँ नै हो ।


Advertisement

उहाँको पुस्तक पढ्दा होस या गीत सुन्दा उस्तै हार्दिकता झल्किन्छ । जीवनको आरोह अवरोहमा परेका हरेक कुराहरूलाई हामीले स्वागत गर्नुको विकल्प रहँदैन । जे जस्तो परिवेशसँग पनि हामी साक्षात्कार हुनैपर्छ ।

यही क्रममा गणेश रसिक पनि तिनै परिवेशसँग ठक्कर खाँदै हुर्केका सर्जक हुन् । यसै मेसोमा उनका जीवनका मोडमा देखिएका, भोगिएका र प्रत्यक्ष/अप्रत्यक्ष रूपमा गाँसिन पुगेका सर्जकबारे उहाँले लेख्नुभएको पुस्तक ‘छपक्कै मनमा बसेकाहरू’ पढिरहँदा मलाई मनमा एक प्रकारको रोमाञ्चकता र भावुकतासँगै ती समयसँग साक्षात्कार हुन पुगें, जुन बेलाको समयमा म जन्मेको पनि थिइनँ ।


Advertisement

‘छपक्कै मनमा बसेकाहरू’ पुस्तकभित्र १९ जना मुर्धन्य व्यक्तित्वबारे उहाँका आफ्ना विचारलाई निर्धक्क लेख्नुभएको छ । जे छ त्यहीँ, जस्ताको तस्तै । कतै बढाइचढाई गरेको भेटिन्न । त्यसैले उहाँहरू रसिकको मनमा छपक्कै भएर बस्न सफल हुनुभयो । पुस्तकमा भेटिएका १९ जना व्यक्ति सबैका मनमा छपक्कै भएर बस्न सफल हुने छन् युगौं युगसम्म ।

‘मैले भेटेको एउटा रत्न’ शीर्षकमा बालकृष्ण समबाट रसिकले शुरूवात गर्नुभएको छ र ‘कोसीछेउ उभेको जोर सिमल’ शीर्षकमा जनगायक रामेश र मञ्जुललाई अन्त्यमा प्रस्तुत गर्नुभएको छ । लेख्दालेख्दै उहाँले आफ्नाबारे पनि धेरै कुरा पस्कन सफल हुनुभएको छ । 

पुस्तक लेखनबारे उहाँ यसरी प्रस्तुत हुनुहुन्छ, ‘हो कहीँकतै अभिलेख नरहने त्यो समयगाथा एक दिन मसँगै समाधिस्थ हुनेछ । समयले छोडेपछि स्वयं आफैंले पनि बिर्सनुपर्ने हुन्छ । एक दिन आफ्ना लागि आफैं बोझ र बिरानो भइन्छ । अहिले म त्यही बिरानो हुँदै गएका धमिला चित्रहरूलाई पल्टाउँदै र छान्दै छापामा उतार्ने प्रयत्न गर्दैछु ।’

‘देश खोज्दै एउटा लाहुरे’ शीर्षकमा केशवलाल जोशी उभिन्छन् र भन्छन्, ‘आराम छ रसिक भाइ ।’ 

‘नेपाली संगीतका सप्तकोशी’ शीर्षकमा नातिकाजीलाई सम्झन्छन् र लेख्छन्, ‘शान्त नदी जस्तै, गम्भीर शिवपुरी पहाडजस्तै थिए नातिकाजी । मजस्ता धेरैका पूजनीय र आदरणीय थिए । जीवनको उत्तराद्र्धमा पनि उनको सिर्जना, लगनशिलता, समर्पण यथास्थितिमै रहेको देख्दा मेरो शिर श्रद्धाले निहुरिन्छ ।’ साँच्चिकै रसिकज्यूले भने जस्तै नातिकाजी नेपाली संगीतका सप्तकोशी नै हुनुहुन्थ्यो ।

नयाँ पुस्ताले बिर्संदै गए भने पुराना पुस्ताको इतिहास मेटिन कतिबेर लाग्ला र ? यस्ता बिर्सने शैली अहिले निकै मौलाएको छ । पुराना कुरा हाम्रो सम्पदा हुन् र उनीहरूकै पदचापमा हामी हुर्केका हौं भन्ने भान जबसम्म नयाँ पुस्तालाई पर्दैन, तबसम्म मौलिकताको जगेर्ना गर्न कठिन नै हुन्छ । त्यसकारण पनि यस्ता पुस्तकको महत्त्व ह्वात्तै बढ्छ । 

‘नौलाख ताराका एउटै जून’ शीर्षकमा अगमसिंह गिरीलाई रसिक यसरी सम्झनुहुन्छ, ‘आजभोलि जब देशका सीमाका जङ्गे पिलर हराएको र सारिएको खबर सुन्छु, जब आफ्नो गाउँको पशुपतिनगर छब्बिसे, मेग्मामा सीमा मिचिएको देख्छु । त्यतिबेला म अगमसिंह गिरीका कालजयी गीत सम्झन्छु, जसमा अम्बर गुरुङको स्वर र संगीत बगेको छ –

सुगौली सन्धी हामीले भुलेका छैनौं भनिदेऊ,
किल्ला काँगडा हामीले भुलेका छैनौं भनिदेऊ ।’

स्कूल पढ्दा साथीभाइको लहलहैमा स्कूलका हेडमास्टर हटाउनका लागि हड्ताल गर्छन् । तर रसिकलाई केको लागि हड्ताल गरियो भन्ने थाहा थिएन । पछि थाह पाउँदा पो झल्यास हुन्छन्, जसको लागि हड्ताल गरियो, उनी त भिनाजु पर्नै रहेछन्, तर पछि तिनै भिनाजुले काठमाडौंमा बस्नको लागि निकै सहयोग गरेको प्रसङ्ग निकै घतलाग्दो छ । उहाँको नाम हो शरदचन्द्र शर्मा भट्टटराई । 

‘तिम्रो माया मार्न सकिनँ’ शीर्षकमा गायक फत्तेमानलाई यसरी सम्झन्छन्, ‘साँचो भन्नुपर्दा पछिल्लो पुस्ताका लागि उनी अत्यन्तै चाखलाग्दा र जोशिला पनि । योगदानको वा उमेरका हिसाबले अग्रज हुँ भन्ने घमण्ड पटक्कै नभएका, पुस्तापुस्ताबीच कुनै सीमा रेखा नकोर्ने, सबैका लागि आत्मीय र समावेशी थिए फत्तेमान । तर चित्त बुझेन भने कसैलाई बाँकी नराख्ने, लाग्ने छुराजस्तै थिए ।’

मैले पनि उहाँसँग थोरै भए पनि भेट्ने अवसर प्राप्त गरेको थिए । म पनि उहाँकै भनाईमा ऐजन–ऐजन गर्न चाहन्छु । फत्तेमानले हात्ती किनेर पालेका कुराको प्रसङ्ग निकै घतलाग्दो छ । 

‘बीसौं शताब्दीको गीत’ कविताका सर्जक वासु शशीबारे पनि रसिकका संस्मरण निकै घतलाग्दा छन् । कर्णप्रिय गीतका गायक बच्चु कैलाश प्रचारमा त्यति रुचि नराख्ने स्वभावका रहेछन् । उहाँबारे यसरी वर्णन गर्छन्, ‘जब बच्चु कैलाश गाउँथे, तब गीत र संगीतमा चुर्लुम्मिएर गाउँथे । आफ्नो स्वर संगीतजस्तै पृथक शैलीमा गाउँथे । २०२७ सालतिरको कुरा हो, मैले रंगमञ्चमा पहिले र अन्तिमपटक रूपरेखाले राष्ट्रिय नाचघरमा आयोजना गरेको कार्यक्रममा उनले गाएको सुनेको थिएँ । त्यसपछि उनको सार्वजनिक जीवन कहिल्यै देखिएन ।’

शान्ति ठटाल, नटराज भैरवबहादुर थापा, जितेन्द्र बर्देवाका जीवनका पाटाहरूलाई उहाँले सचित्र उर्तानुभएको छ । यो समाज वा समाजका केही मै हुँ भन्नेहरूले भैरवबहादुर थापालाई दिएको दुःखका पहाडले मन चसक्क दुख्छ नै । त्यो समय बितिसकेको छ । तर समयले उनलाई दिएको चोट छपक्क मनमा बसेकाहरूमार्फत ताजा नै रहेको छ । यसबाट हामीले पनि धेरै कुराहरू सिक्न, जान्न र मान्छेलाई मार्गनिर्देश गर्नका लागि एउटा सुन्दर क्षण हुन्छ भन्ने लाग्छ ।

हिरण्य भोजपुरेलाई म पनि नजिकबाट चिन्दछु । उहाँको लेखन, गायन र बोली वचनले कसलाई पो मोहनी नलगाउला र ? तर भोजपुरेका केही दुःखका पाटाहरूले मन चसक्क दुख्छ नै । एउटा प्रसङ्ग प्रस्तुत गर्दछु, ‘झण्डै १५ मिनेटजति कुराकानी भयो । आँखामा आँसु भए पनि हाँसिरहेका थिए भोजपुरे । तर आजचाहिँ मैले भोजपुरेको हाँसोमा अन्तरमनका आँसु देखें । अव्यक्त गहिरो पीडा र समवेदना देखें । मलाई पूरा विश्वास भयो – वास्तवमा रुन नसकेर पो हाँस्ने मनुख्खे रहेछन्, हिरण्य भोजपुरे ।’

रवि शाह, शशी भण्डारी, तारादेवी, कमला श्रेष्ठ र कवि कृष्णभुषण बलका प्रसङ्ग अत्यन्त मार्मिक छन् । जे छन् यथार्थ छन्, हरेक मानव जन्मनु एउटा विशेष कारण भएकै हुन्छ जस्तो लाग्छ मलाई, त्यस्तै विशेषता बोकेर नेपाली साहित्य, शिक्षा, गीत–संगीतका आ–आफ्ना छाप छोड्न सफल व्यक्तित्वसँगका प्रसङ्गले नयाँ पिँढीलाई पनि झक्झक्याउने नै छ यो पुस्तकले । 

दार्जिलिङमा जन्मेर जीवनभर नेपाली गीत–संगीतमा सेवा गरेर पनि नेपाली नागरिकता नपाएरै यस संसारबाट बिदा भए । तर नेपाल र नेपाली गीत–संगीतलाई माया गरिरहें । त्यस्ता व्यक्तित्व हुन् दिव्य खालिङ । दिव्य खालिङबारे रसिकका विचारहरू यसरी पोखिएका छन् पुस्तकमा, ‘आदर्शवादी नेपाल र नेपालीलाई अत्यन्तै माया गर्ने दान खालिङका भतिजा दिव्य खालिङ आज हाम्रासामु छैनन् । तर उनका अमर सिर्जनाहरू सम्पूर्ण नेपाल र नेपालीलाई नासोका रूपमा या भनौं सम्पत्तिको रूपमा छोडेर गएका छन् । भोलि दिव्यको परिचय पक्का नेपालमा दरिने छ, यसमा कुनै शंका छैन । तर दुःखको कुरा नेपाली नागरिकताको प्रमाणपत्र भने सधैं रहनेछन् अनागरिक दिव्य ।’

एक समय थियो रामेश, रायन र मञ्जुलको । अहिले समयसँगै उनीहरूको शरीर बुढो भएको छ । तर स्वर उस्तै छ, संसारले सुन्ने उनीहरूको आवाज उस्तै छ । तर उनीहरू विगत २७ वर्षदेखि बोलचालमा छैनन् । रसिकले यी प्रसङ्गहरू निकै मिठासका साथ पस्केका छन्, ‘छपक्कै मनमा बसेकाहरू’ पुस्तकमार्फत । उनीहरूको भावना एकै भएको ठान्छन् तर सोच ? यस्तो कुरा उनीहरूका फ्यानहरूले सुन्दा नमज्जा मान्लान् भन्ने सोच कहिले आउने हो, भन्ने प्रश्न उठ्छ नै । तर रसिकको मिठासपूर्ण प्रस्तुतिले उनीहरू मिलेकै अनुभूत गराउँछन्, ‘समय कति कठोर र निर्दयी छ, सँगै उभेको जोर सिमल आज रामेश मञ्जुलको गीत गाउँदै छन्् – ‘भोकै मर्ने महाकविका पेटका सारंगीहरू हाम्रा गीतहरू ।’

यता दर्शकदीर्घामा बसेर ताली बजाइरहेका छन्, गीतकार मञ्जुल । यिनीहरूबीच विगत २५ वर्षदेखि दोहोरो संवाद छैन । तर शब्द र संगीत संवाद छ । ताल र स्वरबीच संवाद छ । मात्र २ जना व्यक्तिबीच संवाद छैन ।’

अन्त्यमा, ‘छपक्कै मनमा बसेकाहरू’ पुस्तकमा प्रस्तुत भएका १९ जना नै नेपाली गीत–संगीत, साहित्य, शिक्षा, नाट्य आदि क्षेत्रका महत्त्वपूर्णका साथै एउटा युगै हाँकेका व्यक्ति हुन् । उनीहरू त्यो युगका मात्र नभएर सदियौंसम्म पनि यस क्षेत्रमा आफ्नो नाम स्वर्ण अक्षरमा लेख्न सफल रहेका प्रमाण हामीसँगै छ । त्यसकारण पनि यो पुस्तक उपयोगी छ । अर्को कुरा १९ जनाले मात्र त्यो युगको प्रतिनिधित्व धानेको छैन । धेरै त्यस्ता व्यक्तित्वहरू छुट्नु भएको छ । त्यसको परिपूर्ति आगामी पुस्तकले गर्ने नै छ । यस पुस्तकलाई साग्रिला बुक्सले प्रकाशन गरेको हो । 

कमेन्ट गर्नुहोस्