माघ २, २०८०
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
असोज २२, २०७७
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच गत फागुनयता ४९ पटक एक्लाएक्लै र अन्य केही नेतासँग संयुक्त छलफल भयो । तर नेकपाभित्रको विवाद झन् बल्झिँदो क्रममा उकालो लागिरहेको छ ।
२०७५ साल जेठ ३ गते पार्टी एकता भएयता विवादका धेरै शृंखला देखापरे । फागुनभन्दा अगाडिका विवादहरू पार्टी एकता प्रक्रियालाई लिएर देखिएको थियो भने फागुनपछिको विवादले राष्ट्रिय राजनीतिलाई नै नकारात्मक प्रभाव पार्ने गरी बल्झियो ।
फागुन १४ गते उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपतिबाट मनोनित हुने राष्ट्रिय सभाको एक सीटमा लैजाने पार्टीको निर्णयलाई अध्यक्षसमेत रहेका ओलीले चुनौती दिएपछि विवादको नयाँ 'एपिसोड' सिर्जना भएको थियो । विवादको त्यही झिल्कोले नेकपाभित्र अहिलेसम्म आगो बालिरहेको छ ।
विवाद समाधानकै निम्ति भनेर महासचिव विष्णु पौडेलको नेतृत्वमा बनाइएको कार्यदलको प्रतिवेदनले दिएको सुझावलाई पनि प्रधानमन्त्री ओलीले नमान्ने संकेत गरिसकेका छन् । गत भदौ २६ गते बसेको स्थायी कमिटी बैठकपछि अध्यक्षद्वयले संयुक्त हस्ताक्षर गरेर अन्तरपार्टी निर्देशिकासमेत जारी गरिसकेका छन् ।
कार्यदलको प्रतिवेदनपछि साम्य हुने अपेक्षा राखिएको नेकपाको विवाद प्रधानमन्त्री ओलीले एकलौटी राजदूत नियुक्तिको शृंखला शुरू गरेपछि पुनः बल्झिने दिशातर्फ लागिरहेको छ ।
लोकान्तरले गत फागुनदेखि यो यो टिप्पणी लेख्ने समयसम्म ओली र प्रचण्डबीच एक्लाएक्लै र संयुक्त भेटघाट कतिपटक र कुन प्रयोजनका लागि भयो भनेर खोजी गरेको थियो । खोजीका आधारमा पत्ता लाग्यो, दुई अध्यक्षबीच करीब ४९ पटक भेट भएको रहेछ ।
लगभग सबै भेटवार्ता पार्टीभित्रको आन्तरिक विवाद समाधान गर्न केन्द्रित थिए ।
गत सालको फागुनको पहिलो साता तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले ७० करोड बार्गेनिङ गरेको अडियो टेप सार्वजनिक भएको थियो । त्यसले प्रधानमन्त्रीलाई तनाव दियो । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले फागुन ८ गते प्रधानमन्त्रीलाई भेटेर बाँस्कोटाको राजीनामा माग्नुपर्ने अन्यथा पार्टी बैठक बोलाएर निर्णय गराउने चेतावनी दिएका थिए ।
फागुनमा ओली प्रचण्ड भेट २ पटक, सचिवालय बैठक ३ पटक
तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले एजेन्ट विजयप्रकाश मिश्रसँग सेक्युरिटी प्रिन्टिङ मेसिन खरिदका क्रममा घुसको मोलमोलाई गरेको अडियो टेप बाहिरिएपछि तत्काल राजीनामा दिलाउनुपर्ने सुझाव दिन फागुन ८ गते बिहान प्रचण्ड बालुवाटार पुगेका थिए ।
प्रचण्डले दिएको सुझाव अनुसार ८ गते नै बाँस्कोटाले राजीनामा दिए ।
फागुन १० गते नेकपाको सचिवालय बैठक बस्यो । उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने र प्रधानमन्त्री बनाउने कसरत शुरू भयो ।
वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा पूर्वसभामुख सुवास नेम्वाङ र पूर्वसांसद एवं अधिवक्ता खिमलाल देवकोटा सदस्य रहेको कार्यदल गठन गर्ने निर्णय गरियो । कार्यदललाई राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न सक्ने गरेर संविधान संशोधनमा सुझाव दिने म्यान्डेट दिइयो । पछि नेम्वाङ र देवकोटा दुवैले कार्यदलमा बस्न अस्वीकार गरेपछि कार्यदल तुहिएको थियो ।
त्यसको २ दिनमा प्रचण्ड पुनः बालुवाटार पुगे । छलफलमा मन्त्रिपरिषद् बिस्तार, राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री हुने गरी संविधान संशोधन गर्ने विषय, एमसीसी कार्यदलले बुझाएको प्रतिवेदन लगायत कतिपय विषयहरूमा छलफल गरेर निचोड निकाल्ने विषयमा कुराकानी भयो ।
फागुन १४ गते बसेको सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने गरी सिफारिश गर्न नेकपा सचिवालय बैठकले गरेको अनुरोध पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले अस्वीकार गरे ।
सचिवालयले निर्णय गरेको केही घण्टा पनि बित्न नपाउँदै 'वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजान सकिन्न, अब वार कि पार शुरू हुन्छ,' भन्दै ओलीले वरिष्ठ नेता नेपाललाई फोन गरेर पहिलो र ठूलो फायर खोलेका थिए । यही बिन्दूबाट नेकपाभित्र विवाद शुरू भएको हो ।
फागुन १८ आइतवार बसेको सचिवालय बैठकमा ओलीले 'भोली' फागुन १९ गते नै आफू मिर्गौला प्रत्यारोपण गर्न जान लागेको जानकारी गराए । गौतमका विषयमा पार्टी अनिर्णित रह्यो ।
चैतमा३पटकओली-प्रचण्ड भेट, १ पटक सचिवालय बैठक
सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेपछि डिस्चार्ज भएर बालुवाटार फर्केका ओलीलाई भेट्न अध्यक्ष प्रचण्ड चैत १ गते साँझ बालुवाटार पुगे । उनले ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिए । ओली अस्पतालमा रहँदा भने प्रचण्ड भेट्न गएका थिएनन् ।
त्यसपछि दुवै अध्यक्षबीच चैत ४ गते बालुवाटारमा भएको भेटमा राजनीतिक विषयमा छलफल भयो । प्रचण्ड र ओलीबीच समसामयिक राजनीति र कोभिड– १९ का कारण निम्तिएको समस्याका बारेमा छलफल भयो । त्यसको भोलिपल्ट सचिवालय बैठक बोलाइयो ।
बैठकमा राजनीतिक एजेण्डाभन्दा पनि विश्वव्यापी रूपमा फैलिएको कोरोनाभाइरसको संक्रमणबाट नेपाललाई बचाउने उपायको विषयमा छलफल भएको थियो ।
त्यसपछि अध्यक्षद्वयबीच चैत १९ गते बालुवाटारमा भेटघाट भयो । उक्त भेटघाटमा गरीब, किसान, मजदूर र विपन्न वर्गलाई राहत दिने तथा उनीहरूको व्यवस्थापनका विषयमा छलफल भएको थियो ।
चैत ११ देखि देशव्यापी लकडाउन गरिएको थियो । त्यसपछि काठमाडौंबाट हिँडेरै धेरै नागरिक बाहिरिएका थिए । दु:ख पाएका मजदूरहरू सयौं किलोमिटर हिँडेर घर गइरहेको समाचार आइरहेका थिए ।
चैत २५ गते सचिवालय बैठक बस्यो । बैठकमा स्वास्थ्य सामग्री खरिद प्रकरणका बारेमा चर्चा भयो । स्वास्थ्य सेवा विभागले ओम्नी समूहसँग सम्झौता गरेर खरिद गरेको स्वास्थ्य सामग्रीमा भ्रष्टाचार भएको आवाज बाहिर उठिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठकमा सरकारको बचाउ गरे ।
वैशाखमा ओली-प्रचण्डबीच ९ पटक भेट, ३ सचिवालय बैठक
वैशाख ६ गते प्रचण्ड प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगे । दुई अध्यक्षबीचको छलफल कोरोना संक्रमण नियन्त्रण कसरी गर्ने भन्नेमा केन्द्रित रह्यो ।
वैशाख ८ गते बसेको मन्त्रिपरिषद् बैठकले दल विभाजन खुकुलो बनाउने र संवैधानिक परिषदसम्बन्धी २ अध्यादेश राष्ट्रपति कहाँ पठायो । साँझ नै राष्ट्रपतिबाट दुवै अध्यादेश जारी भए । त्यसपछि राजनीतिक वृत्तमा ठूलो हलचल मच्चियो ।
ओलीले नेकपा फुटाउन तयारी गरेको आरोप लाग्यो । यद्यपि बालुवाटार स्रोतले भने प्रचण्डकै सहमतिमा अध्यादेश ल्याइएको भन्दै स्पष्टीकरण दिएको थियो ।
वैशाख १० नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डले सुदूरपश्चिमका नेकपा सांसदहरूलाई विवादित अध्यादेश र पछिल्लो घटनाक्रमका बारेमा ब्रिफिङ गरे । प्रचण्ड खासै बोलेनन् ।
सरकारले विवादित अध्यादेश ल्याएको भन्दै नेकपाका २० स्थायी कमिटी सदस्यले तत्काल बैठक बोलाउन माग गर्दै वैशाख १० गते हस्ताक्षरसहित अध्यक्षद्वयलाई पत्र बुझाएका थिए ।
ओली र प्रचण्डबीच वैशाख ११ गते पुनः भेट भयो । भेटमा प्रचण्डले अध्यादेश फिर्ता लिए सकारात्मक सन्देश जाने भन्दै ओलीलाई सुझाव दिए ।
'विचार गर्नुपर्ला' भन्दै ओलीले अध्यादेश फिर्ता लिने संकेत गरे । त्यसलगत्तै ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगे ।
वैशाख १२ गते पनि ओली र प्रचण्डबीच बालुवाटारमा छलफल भयो ।
प्रचण्ड बालुवाटार पुग्नुअघि ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति देउवासँग छलफल गरेका थिए ।
१२ गते नै बसेको मन्त्रिपरिषद् बैठकले विवादित दुवै अध्यादेश फिर्ता लिन राष्ट्रपतिसमक्ष सिफारिश गर्यो ।
अध्यादेश फिर्ता गरिएपनि नेकपाभित्रको विवाद झन् गहिरिँदै गयो । ओलीइतरका नेताहरूले प्रचण्डलाई ओलीसँग निर्णायक छलफल गर्न दबाब दिए ।
वैशाख १६ गते विवाद समाधानका निम्ति निर्णायक छलफल गर्न भन्दै प्रचण्ड बालुवाटार पुगे ।
वैशाख १७ गते सचिवालय बोलाइयो । बैठकमा ओलीले वरिष्ठ नेता नेपाललाई तेस्रो अध्यक्ष र उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री बनाउने 'कार्ड' फ्याँके । तिनै एजेण्डावरिपरी रहेर छलफल भएको भएपनि बैठक विनानिष्कर्ष टुंगियो ।
वैशाख २० गते पुनः सचिवालय बैठक बस्यो । बैठकमा गौतमलाई उपयुक्त समयमा प्रतिनिधि सभामा लैजाने निर्णय भयो ।
पार्टीभित्र देखिएको समस्याको जिम्मेवारी लिँदै शीर्ष नेताहरूले आत्मालोचना गर्ने र थप विवाद नलम्ब्याउने सहमति भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि सञ्चारकर्मीलाई ब्रिफिङ गरे ।
सचिवालय बैठक सकिएपछि अध्यक्षद्वयले बालुवाटारमै छुट्टै भेट गरे । स्थायी कमिटी बैठकमा पेश गर्ने दस्तावेज बनाउने सहमति भयो । दस्तावेजलाई सचिवालयले सर्वसम्मत पारित गरेपछि स्थायी कमिटी बैठक बस्ने निष्कर्ष निस्कियो ।
त्यसपछि २२, २३ र २४ गते अध्यक्षद्वयबीच बालुवाटारमा निरन्तर छलफल भयो । २४ गते सचिवालय बैठकअघि पनि दुई अध्यक्षबीच छलफल भएको थियो । विधानतः २५ गतेभित्र बोलाइसक्नुपर्ने स्थायी कमिटीको बैठक २५ गते पनि बस्न सकेन । अध्यक्षद्वयबीच भएको ३ दिनको लगातारको भेट निरर्थक रह्यो ।
३० गते सरकारका नीति तथा कार्यक्रमका सन्दर्भमा छलफल गर्ने भन्दै छोटो समयका लागि स्थायी कमिटी बैठक बस्यो । वैशाख ३१ गते लिपुलेकको विषयलाई लिएर ओलीले सर्वदलीय बैठक डाके ।
बैठकमा प्रचण्ड पनि उपस्थित थिए । लिपुलेक हुँदै तिब्बतको मानसरोवर जाने बाटो भारतले उद्घाटन गरेपछि त्यसले नयाँ तरंग निम्त्याएको थियो । सर्वदलीय बैठकमा नेपालले लिम्पियाधुरा समेटेर छुट्टै नक्सा प्रकाशित गर्नुपर्ने विषय उठ्यो ।
जेठमा जम्मा १ पटक सचिवालय, अध्यक्षद्वयको एउटा संयुक्त विज्ञप्ति
जेठ २ गते बालुवाटारमा सचिवालय बैठक बस्यो । सरकारले संसदमा पेश गर्ने आगामी वर्षको नीति तथा कार्यक्रममा छलफल भयो । सचिवालय बैठकले नीति तथा कार्यक्रममा नेपालले नयाँ नक्सा जारी गर्ने निर्णय गर्यो ।
जेठ ३ गते अध्यक्षद्वयले संयुक्त वक्तव्य जारी गर्दै जननेता मदन भण्डारीको आँधीमय जीवन सबैका लागि प्रेरणाको विषय रहेको बताए ।
त्यसपछि जेठमा अध्यक्षद्वयको छुट्टै भेट भएन । सरकार नीति तथा कार्यक्रम र बजेटमाथि केन्द्रित रह्यो । संसद् बैठक निरन्तर चलिरह्यो ।
असारमा ९ पटक छुट्टै भेट, १ पटक सचिवालय
असार ३ गते बुधवार बालुवाटारमा अध्यक्षद्वय ओली र प्रचण्डबीच छलफल भयो । छलफलमा छिट्टै स्थायी कमिटी बैठक बोलाउने र त्यसअघि सचिवालय बैठक बसेर कार्यसूची तयार गर्ने विषयमा कुराकानी भएको थियो ।
असार ६ गते बालुवाटारमा सचिवालय बैठक बस्यो । बैठक पार्टीभित्र देखिएको समस्या समाधानमै केन्द्रित रह्यो । स्थायी कमिटी बैठक असार १० गते बोलाउने मोटामोटी सहमति बन्यो ।
असार १० गते पाचौं स्थायी कमिटी बैठक शुरू भयो । बैठकका लागि सीमा समस्या, कोरोना संक्रमण नियन्त्रण र रोकथाम, सरकारका कामकारवाहीको समीक्षा लगायतका ७ वटा एजेण्डा तय गरिएको थियो ।
असार ११ गते अध्यक्षद्वय ओली र प्रचण्डबीच छुट्टै भेट भयो । भेटघाट पार्टी विवाद समाधानमै केन्द्रित रह्यो । १२ गते स्थायी कमिटी सुचारु भयो तर ओली अनुपस्थित रहे । ओली उपस्थित हुनुपर्ने माग बैठकमा उठ्यो । १३ गते बसेको बैठकमा ओली केही छिन बसेर बाहिरिए ।
१४ गते ओलीले भारतीय दूतावासको सहयोगमा आफ्नै पार्टीका नेताहरू सरकार ढाल्न सक्रिय भएको आरोप लगाए । मदन भण्डारीको जन्मजयन्तीको अवसरमा बालुवाटारबाट वक्तव्य दिँदै ओलीले यस्तो आरोप लगाएपछि नेकपाका नेताहरू बिच्किए ।
१६ गतेको बैठकमा ओलीको आरोपमाथि स्पष्टीकरण सोधियो । स्थायी कमिटी बैठकमा बोल्ने अधिकांश नेताहरूले ओलीको राजीनामा मागेका थिए । १८ गते स्थायी कमिटी बैठकभन्दा केहीअघि ओलीले मन्त्रिपरिषद् बैठक बोलाएर संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिश गरे ।
संसद् अधिवेशन अन्त्य गरेर सरकारले तत्काल कुनै अध्यादेश ल्याउने हो कि भन्ने आशंका नेताहरूमा व्याप्त थियो । त्यो आशंका निवारण गर्न भन्दै बालुवाटारबाट प्रचण्ड राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगे । राष्ट्रपतिकहाँ पुग्नुअघि ओली र प्रचण्डबीच केहीबेर छलफल भएको थियो ।
स्थायी कमिटी बैठक अन्योलमा थियो । प्रचण्ड राष्ट्रपतिकहाँबाट फर्केपछि तत्काल कुनै पनि अध्यादेश नआउने जानकारी गराए ।
१९ गते सहमतिको प्रयास गर्न भन्दै ओलीसँग वार्ता गर्न प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगे ।
वार्तामा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डसँगै नेकपाका महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि सामेल थिए ।
२० गते शनिवार अपराह्न अध्यक्ष प्रचण्डनिवास खुमलटारमा प्रचण्डसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा ‘बादल’को भेला बस्यो ।
भेलाले स्थायी कमिटीको बैठकले नै सबै विषयको छिनोफानो गर्ने सहमतिका साथ अघि बढ्ने निर्णय गर्यो ।
२० गते नै ओलीलाई भेट्न प्रचण्ड बालुवाटार पुगे ।
छलफलमा ओलीले मङ्सिर ४ को सहमतिमा फर्किने प्रस्ताव गरे भने प्रचण्डले जेठ २ को आलोपालो सहमतिमा फर्किन दबाब दिए ।
२० गते साँझ प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदका सदस्यहरूलाई बोलाएर पार्टी एक नरहन पनि सक्ने ब्रिफिङ गरेपछि नेकपा फुट्न सक्ने आशंका व्याप्त भयो ।
असार २१ गते राष्ट्रपति भण्डारीसँग भेट गर्न प्रचण्ड, नेपाल र खनाल शीतलनिवास पुगे । राष्ट्रपतिमाथि महाभियोग लगाउने कुनै छलफल नभएको भन्दै नेताहरूले राष्ट्रपतिलाई आश्वस्त पारे । त्यसपछि ओलीसँग छलफल गर्न प्रचण्ड बालुवाटार पुगे ।
ओली प्रचण्डबीच २२, २३ र २४ गते म्याराथुन छलफल भयो । विवाद समाधानका निम्ति अघोषित कार्यदल बनाउने सहमति भएको थियो ।
महासचिव विष्णु पौडेल, प्रदेश ५ का मुख्यमन्त्रीसमेत रहेका शंकर पोखरेल, स्थायी कमिटी सदस्यद्वय जनार्दन शर्मा र वर्षमान पुनलाई विवाद समाधानका निम्ति गृहकार्य गर्न खटाइयो ।
साउनमा ९ पटक छुट्टाछुट्टै र संयुक्त भेट, १ पटक सचिवालय बैठक
साउन २ गते ओलीसँग छलफल गर्न प्रचण्ड बालुवाटार पुगे । साउन ३ गते सचिवालय बैठक बोलाइयो । सचिवालय बैठकमा मङ्सिरमै अर्ली महाधिवेशन गर्ने प्रस्ताव ओलीले राखे । प्रचण्ड सहमत देखिए । त्यही दिन साँझ ओली, प्रचण्ड, जनार्दन शर्मा लगायतका नेताहरू राष्ट्रपति निवास शीतलनिवास पुगे । त्यहाँ जनताको बहुदलीय जनवाद माने मात्र प्रचण्डलाई पार्टीको अध्यक्ष स्वीकार्न सकिने भन्दै प्रचण्डमाथि दबाब बनाउन प्रयास गरिएको खुलासा भयो ।
प्रचण्ड तत्काल आफ्नो निवास खुमलटार फर्किए र कुनै सहमति नभएको भन्दै स्वकीय सचिव समेत रहेकी छोरी गंगा दाहाललाई वक्तव्य लेख्न भने ।
त्यसको भोलिपल्ट साउन ४ गते प्रचण्ड बालुवाटार पुगे । छलफल विवाद समाधानमै केन्द्रित रह्यो । ६ गते छोटो समयका लागि स्थायी कमिटी बैठक बोलाइयो । बैठकमा प्राकृतिक प्रकोपका कारण देशव्यापी भइरहेको क्षतिका विषयमा कुराकानी भयो ।
त्यसपछि साउन ९ गते बालुवाटारमै ओली र प्रचण्डबीच भेट भयो ।
साउन १८ गते पनि ओली प्रचण्डबीच बालुवाटारमै भेट भयो । भेटको मध्यस्थता वरिष्ठ नेता झलनाथ खनालले गरे ।
साउन १९ गते भएको दुवै अध्यक्षको भेटलाई सुवासचन्द्र नेम्वाङ र खनालले मध्यस्थता गरेका थिए । २० गते बालुवाटारमा लगातार तेस्रो दिन ओली-प्रचण्डबीच छलफल भयो । छलफल सहमतिउन्मुख भएको दाबी गरियो तर केही निष्कर्ष निस्कन सकेन ।
त्यसपछि साउन २९ गते ९ दिनको संवादहीनता तोड्दै ओली र प्रचण्डबीच छलफल भयो । त्यसको अघिल्लो दिन ओलीले एक टेलिभिजन कार्यक्रममा अन्तर्वार्ता दिँदै ५ दिनमा समस्या समाधान हुने दाबी गरेका थिए ।
३० गते भएको आर्को भेटमा ओली र प्रचण्डबीच विवाद समाधानका निम्ति कार्यदल बनाउने निर्णय गरे । महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठन गरिएको कार्यदलमा शंकर पोखरेल, पम्फा भुसाल, जनार्दन शर्मा, भीम रावल र सुरेन्द्र पाण्डे थिए ।
कार्यदलले ३१ गतेबाट नै काम थालेको थियो ।
भदौमा ओली प्रचण्डबीच ७ पटक भेट, २ पटक सचिवालय
भदौ १ गते नेकपाको सचिवालय बैठक बसेर कार्यदल अनुमोदन गर्यो । कार्यदललाई छिटो प्रतिवेदन ल्याउनसमेत म्यान्डेट दियो ।
भदौ ६ गते नेकपा कार्यदलले तयार पारेको प्रतिवेदन अध्यक्षद्वयले संयुक्त रूपमा बुझे । ९ गते कार्यदलको प्रतिवेदन कार्यान्वयनबारे ओली–प्रचण्ड परामर्शमा जुटे । १३ गते सचिवालय बैठक बोलाउने सहमति भयो तर बैठक १८ गतेसम्म स्थगित भयो ।
बैठकको अघिल्लो दिन १७ गते ओली प्रचण्डबीच भेट भयो । १८ गते बसेको सचिवालय बैठकमा ओलीले गौतमलाई राष्ट्रिय सभामा लैजाने प्रतिबद्धता व्यक्त गरे ।
भदौ २२ बिहान बालुवाटारमा पार्टी अध्यक्षद्वय ओली, प्रचण्ड र महासचिव पौडेल सहितको छलफलमा भदौ २६ गते स्थायी कमिटी बैठक बोलाउने सहमति भयो ।
भदौ २४ स्थायी कमिटी बैठकका एजेण्डा तय गर्न ओली–प्रचण्डबीच भेटवार्ता भयो । १५ बुँदे कार्यसूची प्रस्ताव तयार गरियो ।
२६ गते बसेको स्थायी कमिटी बैठकले कार्यसूचीमाथि छलफल गर्दै विभिन्न निर्णयहरू गर्यो ।
पार्टीभित्र उत्कर्षमा पुगेको विवाद स्थायी कमिटी बैठक समापन भएसँगै साम्य भएको मानियो, तर कतिपय नेताहरूले त्यो युद्धविराम मात्र भएको र आचारसंहिता नमाने विवाद पुनः बल्झिन सक्ने खतरा रहेको बताएका थिए ।
भदौ २८ बालुवाटारमा ओली प्रचण्डबीच समीक्षा भेटघाट भयो ।
दुवै नेताहरूले स्थायी कमिटी बैठकले गरेको निर्णयानुसार सहमतिमा अघि बढ्ने गरी छलफल गरे ।
भदौ ३१ गते पनि ओली-प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भयो । भेटमा असोज २ गते सचिवालय बैठक राख्ने सहमति भयो ।
असोजमा ओली-प्रचण्डबीच ९ पटक एक्लाएक्लै र संयुक्त भेट, ३ पटक सचिवालय बैठक
असोज २ गते बस्ने भनिएको सचिवालय बैठक ४ गतेलाई सारियो । ४ गते पहिलोपल्ट तत्कालीन माओवादीको मुख्यालय पेरिसडाँडामा नेकपाको सचिवालय बैठक बस्यो । बैठकमा मन्त्रिमण्डल पुनर्गठन र संवैधानिक नियुक्तिका लागि मापदण्ड बनाउने विषयमा छलफल भएको थियो ।
असोज ५ गते मन्त्रिपरिषद् पुनर्गठनका बारेमा ओली-प्रचण्डबीच पुनः छलफल भयो । ६ गते बालुवाटारमा सचिवालय बस्यो । त्यसपछि ८, ९, ११, १२ र १३ गते मन्त्रिमण्डल पुनर्गठनकै विषयमा ओली प्रचण्डबीच म्याराथन भेट भयो ।
असोज १६ अध्यक्षद्वयबीच पुनः भेटवार्ता भयो । प्रधानमन्त्री ओलीले पार्टीमा सहमतिबेगर केही देशका राजदूत नियुक्तिका लागि सिफारिश गरेपछि असन्तुष्ट रहेका प्रचण्ड ओलीलाई भेट्न बालुवाटार पुगेका थिए ।
१८ बस्ने भनिएको सचिवालय बैठक प्रधानमन्त्री कार्यालय बालुवाटारमा ठूलो संख्यामा सुरक्षाकर्मीमाथि कोरोना संक्रमण देखिएपछि स्थगित गरियो ।
सचिवालय बैठक स्थगित गरेर ओली, प्रचण्ड, विष्णु पौडेल, शंकर पोखरेल, जनार्दन शर्मासहितका नेताहरूले बालुवाटारमा संयुक्त भेटवार्ता गरे ।
असोज २० गते सचिवालय बैठक बस्यो । बैठकमा मेडिकल शिक्षा क्षेत्र सुधारका लागि भन्दै अनसन बसेका डा. गोविन्द केसीका बारेमा छलफल भयो ।
पार्टी एकीकरण प्रक्रियालाई अघि बढाउने, मन्त्रिमण्डल पुनर्गठन गर्ने र नियुक्तिहरूका बारेमा अध्यक्षद्वयबीचको सहमतिलाई सचिवालय बैठकले जोड दिएको थियो ।
असोज २२ गते (आज) दुई अध्यक्षबीच बालुवाटारमा पुनः छलफल भएको छ ।
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...