
कैलालीको टीकापुर नगरपालिकाले सञ्चालन गरेको ‘होम टु हस्पिटल’ कार्यक्रमबाट ९२ सुत्केरीले सेवा लिएका छन् ।
होम टु हस्पिटल अर्थात् घरदेखि अस्पतालसम्म कार्यक्रमबाट निःशुल्क एम्बुलेन्स सेवा पाएपछि सुत्केरलाई सहज भएको छ ।
विक्रम संवत् २०७५ माघ १७ गतेदेखि शुरू भएको होम टु हस्पिटल कार्यक्रमबाट हालसम्म ९२ महिलाले सेवा लिएको नगरपालिकासँग तथ्यांक छ ।
नगरपालिकामा गर्भवतीलाई सुत्केरी हुन अस्पताल आउन सजिलो होस् भन्नका लागि नगरपालिकाले होम टु हस्पिटल कार्यक्रम सञ्चालन गरेको हो । यस कार्यक्रमअन्र्तगत व्यथा लागेका गर्भवतीलाई घरदेखि अस्पतालसम्म निःशुल्करुपमा पुर्याउने गरिन्छ । यसले गर्भवतीलाई सजिलो भएको वडा नम्बर २ विकासपुरकी चन्द्रा बुढाले बताइन् ।
‘मलाई सुत्केरी व्यथाले च्याप्यो, नगरपालिकाले किनिदिएको एम्बुलेन्सले निःशुल्क बोक्छ भन्ने सुनेकी थिएँ,’ चन्द्राले भनिन्, ‘फोन गरेपछि एम्बुलेन्सले निःशुल्क अस्पतालसम्म पुगाइदियो, सजिलो भयो, रकम पनि खर्च भएन ।’
एम्बुलेन्स सेवा लिन पाएकामा स्थानीय सरु कडायत पनि खुशी छिन् । कडायतले पनि स्वयंसेविकाले दिएको एम्बुलेन्समा फोन गरिन्, फोन गर्नेबित्तिकै एम्बुलेन्सले अस्पताल पुर्यायो ।
‘यस्तो महामारीमा अन्य सवारी चढेर अस्पताल जान पनि जोखिम थियो, एम्बुलेन्स चढेर छिट्टै अस्पताल पुगियो,’ कडायतले भनिन्, ‘सुत्केरीपछि आवश्यक रगत पनि निःशुल्क पाइने रहेछ, यसअघि एक पिन्ट रगतको नेपाल रेडक्रस सोसाइटीले ८०० शुल्क लिने गरेको थियो ।’
होम टु हस्पिटल अर्थात् घरदेखि अस्पताल कार्यक्रम शुरू भएका कारण टीकापुरमा कुनै पनि सुत्केरीले ज्यान गुमाउन नपरेको नगरपालिकाले जनाएको छ । नगरपालिका स्वास्थ्य शाखा संयोजक बलबहादुर रावलले बाल तथा मातृ मृत्युदर शुन्यमा ल्याउने उद्देश्यले नगरपालिकाले कार्यक्रम सञ्चालन गरेको बताए ।
‘निःशुल्क एम्बुलेन्ससँगै निःशुल्क रक्तदान, स्त्रीरोग विशेषज्ञ सेवा, बालरोग विशेषज्ञको सेवा समेत दिन थालिएको छ,’ रावलले भने, ‘यी सबै कार्यक्रम आमा र बच्चाको स्वास्थ्यसँग जोडिएका छन् ।’ ९ वडा रहेको सो नगरपालिकामा ९८ हजार ६५१ जनसंख्या छ । एउटा एम्बुलेन्समार्फत सबै वडाका गर्भवतीलाई सेवा दिइएको छ ।
नेपाल रेडक्रस सोसाइटी टीकापुर शाखाका लागि नगरपालिकाले एम्बुलेन्स खरिद गरेपछि रेडक्रसले ‘घरदेखि अस्पताल’ कार्यक्रमको व्यवस्थापनमा सघाइरहेको नेपाल रेडक्रस सोसाइटी टीकापुर शाखाका सभापति जगदिश्वर पण्डितले बताए ।
‘गर्भवती महिला लक्षित कार्यक्रमको सिको अन्य पालिकाले पनि गर्न थालेका छन्,’ सभापति पण्डितले भने, ‘नगरपालिकाका विभिन्न ठाउँबाट गर्भवतीलाई टीकापुर अस्पतालमा ल्याएबापत एम्बुलेन्सलाई नगरपालिकाले ८ लिटर इन्धन दिने गरेको छ, एम्बुलेन्स मर्मत, व्यवस्थापन तथा चालकको पारिश्रमिकको व्यवस्था रेडक्रसले गर्दै आएको छ ।’