कोभिड अस्पताल निर्माणमा जुटे स्थानीय तह

प्रतिकात्मक तस्वीर

भोजपुरका सबै स्थानीय तहमा कोभिड–१९ अस्थायी अस्पताल निर्माणको काम थालिएको छ । 

अस्पताल निर्माणका लागि स्थानीय तहले आवश्यक प्रक्रिया अगाडि बढाएका हुन् । पौवादुङमा गाउँपालिका–४ मानेडाँडा, रामप्रसादराई गाउँपालिका–६ र हतुवागढी गाउँपालिका–४ खैराङमा कोभिड अस्पताल निर्माण गर्ने तयारी थालेका छन् ।


Advertisement

केन्द्रबाट आएको परिपत्रअनुसार आवश्यक कर्मचारीका लागि दरखास्त आह्वान गरिएको हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए । अध्यक्ष राईले भने, ‘केन्द्रबाट आएको जानकारीअनुसार हामीले प्रक्रिया अगाडि बढाएका छौं, वडा नम्बर ४ खैराङमा निर्माण गर्ने लक्ष्यका साथ कर्मचारीको दरखास्त माग गरिएको छ ।’

पौवादुङमा गाउँपालिकाले भने आवश्यक स्वास्थ्यकर्मीको समेत छनोट सम्पन्न गरेर केन्द्रबाट आएको परिपत्रअनुसार कामको थालनी गरेको जनाएको छ । वडा नम्बर ४ मानेडाँडामा निर्माण हुने अस्पतालमा गाउँपालिकाले ल्याबसमेत सञ्चालनमा ल्याउने गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए ।


Advertisement

अध्यक्ष राईले भने, ‘हाम्रो कोभिड अस्थायी अस्पताल निर्माणका लागि काम अघि बढिसकेको छ, केन्द्रबाट १० लाख रुपैयाँ बजेट आएको छ, त्यसले ल्याब स्थापना गर्न रकम कम भएपछि गाउँपालिकाले नै ल्याब स्थापना गरेर दशैंअघिसम्ममा सञ्चालनमा ल्याउने तयारीमा छौं ।’

निर्माण हुन लागेको अस्पतालमा अक्सिजनसहित ५ शय्या रहने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ज्ञानु दाहालले जानकारी दिए । टेम्केमैयुङ, आमचोक, अरुण, साल्पासिलिछो गाउँपालिका र षडानन्द नगरपालिकाले पनि प्रक्रियामा लागेको जनाएका छन् भने अरुण गाउँपालिका र भोजपुर नगरपालिकाले पनि निर्माणको काम थालनी गरेका छन् ।

कमेन्ट गर्नुहोस्