निशान छाप : नेपालको पहिचान कि अनभिज्ञताको परिणाम ?

श्रीराम अधिकारी
श्रीराम अधिकारी

लेखक अन्तर्राष्ट्रिय मानव अधिकार र नेशनल ह्युमन राइट्स इन्ष्टिट्युसनप्रति चासो राख्छन् ।

शायद तात्कालिक अवस्थामा सरकारका कुनै मन्त्रीले आफ्नो नजिकको नातेदारले बनाएको नेपालको निशान छाप चोर बाटोबाट स्वीकृत गराए होलान् । कलाकारितामा पोख्त नभएका व्यक्तिले कला देखाउन खोजे भने केही समय पहिले बनेको संसदको लोगो जस्तै हुने रहेछ । सांसदबाट नै अस्वीकार भएको थियो । तर पनि प्रतिस्पर्धामा योभन्दा उत्कृष्ट निशान छापहरू पनि थिए रे !

हालको वर्तमान निशाना छापमा न कुनै कला छ, न त कलात्मकता र कुनै खास विशेषता नै । नेपालको चित्रकला र थान्का पेन्टिङ विश्व प्रसिद्ध छ । तर नेपालको निशान छाप कस्तो छ ?


Advertisement

नेपालको इतिहास, परम्परा, भूगोल, संस्कृतिलाई हालको निशान छापले प्रतिनिधित्व गरेको पाइँदैन । नेपालको नक्सा अगाडि महिला र पुरुषको हातले कुनै ब्रुअरी वा डिस्टिलरी कम्पनीको सोमरसलाई चियर्स गरे जस्तो देखिन्छ । त्यो पनि नेपालको मानचित्र अगाडि सगरमाथाको काखमा । 

महिलाको हातलाई हातमा लगाइएको चुराबाट प्रस्ट्याइएको छ कि उनी महिला हुन् । महिलाको चुरा हिन्दू धर्म, संस्कृतिको अभिन्न अंग बनेको छ । धर्म निरपेक्षता भएको देशमा हिन्दू महिलाले लगाउने चुरालाई निशाना छापमा राख्दा धर्मनिरपेक्षता र क्रिस्चियनवादको वकालत गर्ने किन बोलेनन् होला ? प्रश्न उठ्छ ।


Advertisement

यसको एक मात्र जवाफ भनेको नेपालमा महिला र पुरुषबीच विभेद छ भन्ने कुरा सदियौंसम्म देखाउने र लैंगिक विभेद र समानताको नाममा पश्चिमाको एजेण्डा अनुसार काम गर्ने रणनीतिको रूपमा यसलाई राखिएको हो भन्ने बुझाइ पंक्तिकारको हो ।

नेपालको इतिहास, भूगोल र परम्परामा रहेका सयौं चिजलाई गुराँसको फूल, सगरमाथा, दुईहात, धानको बालामा मात्र सीमित गराइएको छ । के नेपाल भनेको यति मात्र हो ? यस निशाना छापले राष्ट्रको गौरव, परम्परा, भौगौलिक विविधता, नेपाल आमाकोे मर्म, भावना र नेपालीको संस्कार एवं रीतिथितिलाई उजागर एवं प्रतिनिधित्व गर्न सकेको छैन ।

गणतन्त्र नेपालको निशान छापभन्दा अघि प्रचलनमा रहेकोे निशान छापमा कला एवं कलात्मकता प्रस्ट झल्किने खालको थियो । गोरखनाथको पद चिह्नले नेपालको गोर्खा (शक्तिशाली योद्धा) लाई प्रतिनिधित्व गरेको थियो भने दुवैतर्फ बन्दुकसहित उभिएको सिपाही जसले सम्पूर्ण नेपालको सुरक्षामा खटिने सुरक्षाकर्मी र गोर्खा योद्धा प्रतिको सम्मान र धनुवाणमा उभिएका सिपाहीले नेपालको जनजाति, आदिवासीको प्रतिनिधित्व गर्दै हातको धनुवाण र चन्द्रसूर्यले किराँत मुन्धुम समेतको व्याख्या गरेको पाइन्छ ।

नेपालको सदियौंदेखिको इतिहासलाई निमिट्यान्न पारेको हालको निशाना छापको विकल्पको रूपमा अर्को नयाँ निशाना छाप वा पुरानो निशान छापको निरन्तरता रहन सक्छ । तर पनि त्यसमा श्रीपेच छुट्टै बहसको विषय बन्ने नै छ । 

पुरानो निशाना छापमा चन्द्रसूर्यदेखि खुकुरी, डाँफे, गुराँस, मुनालगाई हिमाल, पहाड, तराई, मन्दिर, जोडा क्रस खुकुरी, रुख नदी आदि सबै एकै छापमा थियो, साथमा राजालाई प्रतिनिधित्व गर्ने श्रीपेच । हेर्दामा सुन्दर, राम्रो कलात्मकता र नेपालको भूगोल, संस्कृति र परम्परालाई प्रतिनिधित्व गर्ने हाम्रो निशाना छापलाई विदेशीको सल्लाहमा मासेर बनाइएको हालको निशाना छाप कुनै प्राइभेट लिमिटेड कम्पनी वा गैरसरकारी संस्थाको लोगो जत्तिको स्ट्यान्डर्डको समेत रहेको छैन । यसलाई पनि गणतन्त्रका ठेकेदार र संस्थापक भन्नेहरूले एकै क्षणमा इतिहास मेट्ने प्रयास गरे तर घडी फुटाए पनि समय रोकिने छैन । यस्ता वैदेशिक इशारामा निशान छाप परिवर्तन गरेर इतिहास र हाम्रो मौलिक निशान छाप मर्ने छैन ।

गणतन्त्रका अभियान्ताले पुरानो निशाना छापमा रहेको श्रीपेचलाई मात्र हटाए पुग्ने ठाउँमा नेपाल आमाप्रति नै विश्वासघात गरियो । वास्तवमा त्यो श्रीपेच राजाको नभई सबै नेपालीको नै थियो । भविष्यमा नेपाल आमाले गणतन्त्रवादीसँग आफ्ना नेपाली सपुतमार्फत सायद यसको बदला लिने नै छिन् । जुन देशको सरकारले देशको भूगोल, संस्कृति, धर्म, परम्परा र इतिहासलाई संरक्षण र माया गर्न सक्दैन र त्यसलाई विश्वभर चिनाउन सक्दैन भने त्यस्तो सरकार कसरी देशभक्त र राष्ट्रप्रेमले ओतप्रोत भएको हुन्छ ? नेपाल र नेपालीलाई चिनाउने निशान छापको सम्बन्धमा पनि सम्झौता, बहस र लेनदेन हुन्छ र ? जब सवाल राष्ट्रको हुन्छ तब सिर्फ राष्ट्रभक्ति रहन्छ । ‘जननी जन्मभूमिश्च स्वर्गादपी गरीयसी’ निशान छापमा लेखेर मात्र जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा प्यारा हुँदैनन् । यो स्वर्गलाई हामीले निशान छापबाट प्रतिनिधित्व गराउनु नै पर्दछ ।

नेपाल राष्ट्र बैंकको लोगो ‘असतोमा सद्गमय’ लेखिएको नेपाल सरकारको हालको निशान छापभन्दा सयौं गुणा उत्कृष्ट रहेको छ । त्यसैगरी नेपाल वायु सेवा निगमको लोगोले समेत हाम्रो नेवार संस्कृतिको प्रतिनिधित्व गरेको छ । चित्रकलामा रुचि भएको ४–५ कक्षामा चित्र कोर्ने र पेन्टिङ गर्ने विद्यार्थीले हालको भन्दा कठिन र कलात्मक निशान छाप लोगो बनाइदिन सक्छ । हालको निशान छापमा चतुर तरिकाले नेपालको झण्डाबाट चन्द्रसूर्य प्रतिबिम्बित गराइएको छ । जबकि त्यो चन्द्रसूर्यलाई बुझ्न सकिँदैन । रातो र चन्द्रसूर्यको हाम्रो इतिहास मेट्ने हालको निशाना छाप कुनै पनि नेपालीलाई अस्वीकार छ । जबकि  नेपालको पुरानो निशान छापमा झण्डा सहितको छुट्टै चन्द्रसूर्य थियो । के चन्द्रसूर्य अरु राष्ट्रको हो ? क्रिस्चियन वा मुस्लिमको मात्र हो ? चन्द्रसूर्य विश्वभरका मानिसको हो । हरेक धर्म र जातजातिको नै हो ।  के नेपाल भनेको नेपालको नक्सा, महिला र पुरुषको हात, लालीगुराँस मात्र हो ?

पश्चिमाले महिला र पुरुषबीच अत्यन्त विभेद हुने देशको रूपमा निशान छापमार्फत चित्रण गरिदिए  । जबकि त्यस्तो अवस्था नेपालको कदापी होइन । महिला र पुरुषको हातबाट, लैंगिग विभेद भएको देशमा नेपाललाई परिचय गराइदिए । महिला र पुरुषबीचको समानताको व्यवस्था गणतान्त्रिक व्यवस्थाले गरेको हो भन्ने भ्रम पत्याइदिने नेपाली बौद्धिक र कथित नेपालका फेमिनिस्ट कस्ता होलान् ? राणा शासनकालको वैधानिक कानून २००४ देखि नै लेखिँदै आएको हो । हिमाल र पहाड, २ हात र डाँफे, धानको बाला र झण्डा मात्र रहेको यस्तो सस्तो चित्रकारिता नेपालको निशान छाप कसरी हुन्छ ? सबैभन्दा महत्त्वपूर्ण सगरमाथा र बुद्धको जन्मभूमिभन्दा पहिले नेपाल चिनिएको भनेको गुर्खा (गोर्खा) सिपाही र खुकुरीबाट हो । हामी गोर्खाली खुकुरी बेगर अपुरो र अधुरो हुन्छौं । खुकुरी हाम्रो वीरताको प्रतिक र नेपालीको पहिचान हो । तर यो खुकुरीलाई हालको निशान छापले हटाइदियो ।

नेपालका सबै युद्धमा खुकुरीको प्रयोग गरेर नै नेपाल देश बन्यो । दुवै विश्वयुद्ध लगायत अफगानिस्तानमा केही वर्ष अगाडि हाम्रा गोर्खा नेपाली सिपाहीले खुकुरीको प्रयोगले नै दुश्मनको सफाया गरेका थिए । खुकुरी बेगरको निशाना छाप कुन चाहिँ सच्चा नेपालीलाई स्वीकार्य छ र ? २०४६ सालसम्म हामीले खुकुरीलाई दिएको महत्त्व ‘खुकुरीको डोबभित्र वीरहरूको पाईला हुन्छ’ भन्ने गीतको वाक्याशंबाट पनि उद्गार हुन्छ । आज हाम्रो खुकरीलाई सरकारले रम (रक्सीको ब्राण्ड) रूपमा र गोर्खालाई बियरको ब्राण्डको रूपमा प्रयोग गर्न छुट दिएको छ । यी दुवै शब्दको ब्राण्ड लगायत सगरमाथा, बुद्ध, माउन्ट एभरेस्ट, जानकी आदि शब्दको सरकारले आफ्नो नाममा (ब्राण्ड नेम) सरकारको नाममा सुरक्षित राख्नुपर्छ । यी शब्दहरू बहुत सम्मानित शब्द हुन् ।

रक्सी र बियरको नाम राख्न जन्मेका शब्द होइनन् । यो हाम्रो संस्कृति र परम्परालाई नाश गर्ने पश्चिमा रणनीति अन्तर्गतको कार्य हो । हाम्रो खुकुरी र गोर्खाको सदैव सम्मान हुनुपर्छ । जसलाई पुरानो निशान छापले बचाएको थियो, सम्मान र संरक्षित गरेको थियो । तुलनात्मक रूपमा पहिलेको निशाना छापमा नेपालको नक्सा भने नभएको नै हो । तर नक्साभन्दा महत्त्वपूर्ण नक्साभित्र रहेको खजाना थिए, त्यसलाई प्रतिबिम्बित नै गरिएन । सायद नेपालको भूगोल घट्ने–बढ्ने भइरहने भएकाले सायद त्यो बेला नक्सा राखिएको थिएन होला ।

इन्डियाले सम्राट अशोकले बनाएको ३ बाघको कलात्मक मूर्तिलाई आफ्नो निशान छाप बनाएको छ । जो त्यहाँका मुस्लिम र क्रिस्चियन समुदायबाट सर्वस्वीकार्य छ । श्रीलंकाले बौद्ध धर्ममा आधारित निशान छाप बनाएको छ । जसमा चन्द्र र सूर्यलाई स्थान दिइएको छ र राष्ट्रिय जनावार सिंहसहित कलश र चक्र समेत राखिएको छ । थाइल्यान्डले भगवान् विष्णुको बाहन गरुडको कलात्मक निशान छाप राखेको छ । क्रिस्चियनको तीर्थस्थल भेटकिन सबैभन्दा सानो राष्ट्रको निशान छापमा रोमन राजाहरूलाई प्रतिनिधित्व गर्दै मुकुटलाई राखिएको छ । रोमन राजाहरूले जिससको जन्मभन्दा अगाडिदेखि नै मुकुटको प्रयोग गर्दथे ।

संसारको सबैभन्दा पुरानो निशाना छापको रूपमा जर्मनीको निशाना छाप रहेको छ । जसलाई तेह्रौ शताब्दीमा राजाहरूले प्रयोगमा ल्याए । तत्पश्चात हालसम्म निशाना छाप प्रचलनमा नै छ । यसलाई कुनै राजनीतिक परिवर्तनले परिवर्तन गरेन । सामान्य रंग मात्र परिर्वतन गरियो । इतिहास र आफ्नो परम्परा जोगाउने हो, मास्ने र बिर्सने होइन । इन्डोनिसियाले समेत गरुडको कलात्मक निशाना छाप बनाएको छ । हामी कहाँ के–के थियो र के–के हटाइयो तस्विरमा हेर्न सकिन्छ । संसारभरका निशान छापलाई गूगलमा हेरेर आफ्नो धारणा बनाउन पाठकलाई नै जिम्मा दिएको छु ।

 


तस्वीर स्रोत : गूगल इमेज

ऐतिहासिक तस्वीर स्रोत

https://en.wikipedia.org/wiki/Emblem_of_Nepal

श्रीराम अधिकारी
श्रीराम अधिकारी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्