×

NMB BANK
NIC ASIA

शहर कोरोनामय बनेको थियो । पत्रपत्रिका, टेलिभिजन, रेडियो, अनलाइन पोर्टल, सामाजिक सञ्जाल लगायतका सञ्चारमाध्यमभित्र कोरोनाको साम्राज्य थियो । टेलिफोन, इन्टरनेट वा अन्य भेटघाटमा संक्रमितको संख्या, मृतकको संख्या र असुरक्षाका मात्र कुरा हुन्थे ।

Muktinath Bank

अस्पतालका बेड, आईसीयू तथा भेन्टिलेटर भरिएका थिए । अस्पतालको बेडका लागि मन्त्रीको पावर लगाउनुपर्ने वा निजी अस्पतालमा पैसाको खोलो बगाउनुपर्ने अवस्था थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महामारीको डढेलो चारैतिर फैलिएको थियो । सरकार र नागरिक मिलेर यो डढेलो निभाउने नाममा पेट्रोल खन्याइरहेका थिए । न नागरिकले मापदण्ड पालना गरेका थिए, न सरकारले अनुगमन गरेको थियो ।


Advertisment
Nabil box
Kumari

उनले मलाई लेखे – दाइ ! मलाई ज्वरो आएको छ, घाँटी खसखस गरेको छ, सास फेर्न गाह्रो भएको छ, शरीर दुखिरहेको छ । कसरी कोरोना टेस्ट गर्ने होला ?

Vianet communication
Laxmi Bank

मैले ज्वरो र अक्सिजन नाप्न भनें । तापक्रम नर्मल थियो । अक्सिजनको मात्रा एकदम राम्रो थियो । उनले भने – दाइ, पक्कै पनि यो थर्मोमिटर र पल्स अक्सिमिटर बिग्रेको हुनुपर्छ । मलाई हनहनी ज्वरो आएको छ, सास बढेजस्तो भएको छ ।

उनी पीसीआर टेस्ट गर्न अस्पताल गए । उनले अर्को दिन मलाई भने – दाइ ! पीसीआर नेगेटिभ आयो । त्यो ल्याबको मलाई विश्वास लागेन । त्यसपछि वडा कार्यालयमा गएर टेस्ट गरें ।

मैले उनलाई सम्झाउने प्रयत्न गरें – तपाईंलाई कोभिड भएको छैन । कोभिडमा स्वाद र गन्ध हराउने, उच्च ज्वरो आउने, सुख्खा खोकी लाग्ने, एकदम थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने लगायका लक्षण देखिन्छन् । चिन्ता नलिनुहोला । तपाईं धेरै आत्तिएर हो ।

३ दिनपछि उनले फोन गरे – वडाको रिपोर्ट अहिलेसम्म आएको छैन । अर्को अस्पतालमा पीसीआर टेस्ट गर्दा नेगेटिभ आयो । मलाई यो अस्पतालको पनि पटक्कै विश्वास लागेन ।

मैले उनलाई सकेसम्म धेरै उदाहरण दिएर काउन्सिलिङ गरें । डाक्टरसँग कुरा गराएँ  । उनको मुहार उज्यालो देखियो ।

उनले भने – दाइ, मलाई अहिले एकदम ठीक छ । हिजो खाना टन्न खाएँ । मिठो निद्रा लाग्यो । भोलि काममा जान्छु ।
 
काउन्सिलिङले काम गरेकोमा मलाई खुशी लाग्यो ।

दिउँसो उनकी पत्नीले मलाइ फोन गरिन् – सर ! सर ! उहाँलाई एकदम गाह्रो भएको छ, प्लिज एकपटक घरमा आउनुहोस् । 

उनको स्वरमा सुँक्कसुँक्क मिसिएको थियो ।

मैले उनको घरमा पुगेर ज्वरो नापें । अक्सिजन नापें । सबै नर्मल थियो ।

उनले भने – अफिस जाँदा बाटोमा भीड देखेर मलाई अत्यास लाग्यो । मान्छेहरूले मास्क लगाएका थिएनन्, लगाए पनि नाकमुनि र चिउडोमा लगाएका थिए । एकआपसमा धकेलाधकेल गर्दै हिँडिरहेका थिए । पुलिस एक जना पनि थिएन । यो देखेपछि मलाई रिङ्गटा लाग्यो । चिसो पसिना आयो । हातखुट्टा लुला भए । पसलको पेटीमा थुचुक्क बसें । त्यसपछि के भयो, मलाई थाहा भएन । ब्युझिँदा पसलेले पानीले छ्यापिरहेको थियो । वरिपरि ठूलो भीड जम्मा भएको थियो । नारायण भाइ त्यहीँ बाटो हिँडेको रहेछ । केको भीड लागेको रहेछ भनेर हेर्दा मलाई देखेपछि मलाई उठाएर नजिकको स्वास्थ्य केन्द्रमा लिएर गएछ । डाक्टरले सबै ठीक छ, तनावले यस्तो भएको हो भनेर घर पठाएछन् ।

मैले उनकी पत्नीलाई भनें – उहाँ कोरोना महामारीसँग एकदम डराउनुभएको छ । एकपटक डा. सरोजसँग भेटेर मनोपरामर्श लिनुहोला । घरमै राख्नुहोला । मिडिया र सामाजिक सञ्जालदेखि अलग राख्नुहोला । धेरै सूचना तनावको स्रोत हो ।

अर्को दिन उनले मलाई फोन गरे – दाइ ! यो कोरोना भन्ने नै छैन । यो मास्क, स्यानिटाइजर, पीसीआर मशिन र खोप आदिको व्यापार गर्न बहुराष्ट्रिय कम्पनीले गरेको षड्यन्त्र रहेछ । मास्क लगायो भने सास फेर्न नपाएर मृत्यु हुँदोरहेछ । स्यानिटाइजरले क्यान्सर हुँदोरहेछ, यो यो देशमा मास्क लगाउन प्रतिबन्ध गरेको रहेछ, यो यो देशमा डब्ल्यूएचओलाई निष्कासन गरेको रहेछ ... !’

उनले यूट्युब हेरेर यस्तो धारणा बनाएका रहेछन् । मैले उनलाई अनेक प्रमाण दिएर विज्ञानको विश्वास गर्न तथा अज्ञानको विश्वास नगर्न भनें ।

अर्को दिन उनी मास्क नलगाई अफिस गएछन् । १५ दिनलाई पुग्ने गरी शपिङ गरेका रहेछन् । सामाजिक सञ्जालमा उनले यस्तो पोस्ट गरेका थिए – यो महामारी होइन, षड्यन्त्र हो, लकडाउन र डरको व्यापार हो । पीसीआर टेस्ट फेक हो । कोरोना भन्ने सामान्य रुघाखोकी हो । अम्बा, आँप र लिचिको पात खाए ३ दिनमा निको हुन्छ । कोरोनाले १ जना पनि मान्छेको मृत्यु भएको छैन ... ।

मलाई उनको चिन्ता लाग्यो । यस्तो खतरनाक भ्रमले गर्दा कतै उनले मास्क छोड्ने त होइनन् ? दूरी बेवास्ता गर्ने त होइनन् ? हात स्यानिटाइज नगर्ने त होइनन् ?

हेर्दाहेर्दै उनी सामाजिक सञ्जालमा ‘कन्स्पिरेसी थ्योरी’को अभियन्ता भए । कोरोना महामारीको मनोसामाजिक असर तीब्र फैलिएको थियो । यही कारण क्षणिक तुष्टि प्राप्त गर्नको लागि उनको कमेन्टमा ‘यू आर ग्रेट’, म तपाईंको फ्यान हुँ, तपाईंले पार्टी खोल्नुपर्छ, मास्क विरोधी जुलुस निकाल्नुपर्छ, पीसीआर टेस्ट बन्द गर्नुपर्छ ... लगायत लेखिएका थिए । यस्ता प्रतिक्रियाले उनी अँध्यारोमा मख्ख परेका थिए ।

आफ्नो परिवर्तन विपरीत उनले मलाई लेखे – सर ! मेरा पैताला पोलेर सुत्नै सकिनँ । मन नरमाइलो हुन्छ । जोशजाँगरको थोपो छैन । खाना देख्यो कि वान्ता आउँछ, कोल्टे फेर्दैमा रात बित्छ । सामाजिक सञ्जाल चहार्ने बेलामा अलि फ्रेस हुन्छु । सायद म मर्छु होला, पत्नी र केटाकेटीको बिचल्ली हुने भयो । मैले १० दिन मास्क लगाएको थिइनँ, भौतिक दूरी कायम गरेको थिइनँ तथा स्यानिटाइजर विष्णुमती नदीमा फ्याँकेको थिएँ । दाइ, कोरोना साँच्चै छ कि छैन ? कि मैले मास्क नलगाएर गल्ती गरें ? मलाइ एकदम कन्फ्युज भयो दाइ ।

मैले उनलाई भ्रमको औंला समाएर नहिड्न भनें । डा. सरोजलाई भेट्न जाऊ, नभए डा. सुवासलाई भेट भनें । 

अर्को दिन मैले उनलाई फोन गरें । उनले भने – दाइ, म टेकुमा पीसीआर टेस्ट गर्नेको लाइनमा छु । प्राइभेट अस्पतालले व्यापार मात्र गर्छन्, टेकुमा राम्रो हुन्छ, फ्री हुन्छ भनेर लाइनमा बसेको छु ।

बिहानदेखि लाइन लागेको ३ बजे मात्र उनको पालो आएछ ।

‘घरमा आएपछि हनहनी ज्वरो आयो । १०१, १०२, १०३ डिग्री ज्वरो आयो । सुख्खा खोकीले रातभर सुत्न सकिनँ । सिटामोल २ चक्की खाँदा पनि ज्वरो थामिएन । मांशपेशी र जोर्नी दुखेर मर्ने लागें,’ उनले मलाई म्यासेन्जरमा लेखेका थिए ।

अर्को दिन अपराह्न उनले मलाइ फोन गरे । दाइ, वडामा चेक गराएको रिपोर्ट आज १० दिनपछि आयो । त्यसमा नेगेटिभ देखियो । आजै टेकुमा गरेको पीसीआर रिपोर्ट ‘पोजेटिभ’ आयो । कुन रिपोर्टलाई विश्वास गरूँ ? वडाले कोरोना छैन भनेको छ, टेकुले होम आइसोलेसनमा बस्नु भनेको छ । 

मैले उनलाई भनें – नयाँ रिपोर्टको विश्वास गरेर होम आइसोलेसनको मार्ग निर्देशिका अनुशरण गर्नुहोला । गाह्रो भयो भने अस्पताल जानुहोला । आत्मबल बढाउनुहोला ।

अर्को दिन उनले फोन गरे – दाइ, ज्वरो घटेको छैन । सास फेर्न गाह्रो भएको छ । टिमुर, मरिच, ज्वानो चपाउँदा पनि उस्तै लाग्छ । स्वाद थाहा हुँदैन । पाकेको अम्बा तथा चमेली फूलको पनि बासना आउँदैन । अक्सिजन लेभल ९० बाट तल घटिरहेको छ । एकदम गाह्रो भयो, प्लिज मलाई बचाउनुहोस् !

मलाई एकदम नरमाइलो लाग्यो । मैले उनकी पत्नीलाई फोन गरेर तुरुन्त अस्पताल लैजानु भनें । ‘दिनभर फोन गर्दा पनि कुनै एम्बुलेन्स आएन । लौन सर !’ उनकी पत्नीले रुँदै फोन गरिन् । मैले धेरै ठाउँ सम्पर्क गरेर बल्लतल्ल एम्बुलेन्सको व्यवस्था गरें । उनलाई एम्बुलेन्समा राखेर तथा म पछिपछि अर्को गाडीमा अस्पताल गएँ । ४ वटा सरकारी र ५ वटा निजी अस्पताल चहारें । सबै अस्पतालको उही जवाफ हुन्थ्यो – बेड खाली छैन । अर्को अस्पताल जानू !

हामी हैरान भयौं ।

मैले ठूलै नेतालाई फोन गरें । उनले चर्चित प्राइभेट अस्पतालमा बेड निकाले । म उनीप्रति निकै आभारी भएँ । पहिले एउटा बेड पनि छैन भनेर एम्बुलेन्स फर्काएको अस्पतालमा पुनः गयौं । अस्पतालले उनलाई चेक गर्नुभन्दा पहिले हाम्रो खल्ती चेक गर्‍यो । ३ लाख डिपोजिट राख्नुपर्ने तथा अवस्था हेरेर १५–२० लाख खर्च हुने काउन्सिलिङ टीमले बतायो । मैले हुन्छ भनेर त्यहाँ भर्ना गरें । हामीसँग कुनै विकल्प थिएन । उनलाई भर्ना गरेपछि उनकी पत्नीलाई फोन गरेर ५ दिन होम आइसोलेसनमा बस्न भनें । साना केटाकेटी भएकाले उनीहरूसँग छुट्टिएर बस्न सम्भव थिएन । आवश्यक सामान मैले किनेर ढोका बाहिरराख्छु, चिन्ता नगर्नु भनें ।

उनले म्यासेन्जरमा लेखे – यहाँको खाना देख्यो कि वान्ता आउँछ । मुखमा राख्न सकिँदैन । शौचालयको लागि लाइन लाग्नुपर्छ । शौचालयबाट कोरोना सर्ने डर छ । डाक्टरको अनुहार देख्न पाइँदैन, फोन गरेर ‘ठीक छ नि ?’ भनेर सोध्नेसम्म गरेका छन् । नर्सले तापक्रम र अक्सिजन नाप्ने, सलाइन दिने काम गरिरहेका छन् । अरु बिरामी रोएर, कराएर, घुरेर, लाइट बालेर तथा बाथरुममा ओहोरदोहोर गरेर सुत्नै सकेको छैन । मलाई कि क्याबिन मिलाइदिनु कि अर्को अस्पतालमा लैजानु ।

मैले धेरै ठाउँ फोन गरें, बिन्ती गरें । कतै पनि १ सिट बेड मिलेन ।

मलाई अस्पतालबाट फोन आयो – तपाईंको बिरामीलाई अचानक अक्सिजनको लेभल घटेर आईसीयूमा राखेका छौं । उहाँलाई कोभिड निमोनिया भएको छ । तल सम्पर्क राख्नुहोला ।

म चेक बोकेर अस्पताल गएँ । ५ लाख ‘डिपोजिट’ राख्न भनियो । राखें ।

त्यसको लगत्तै उनकी पत्नीको फोन आयो – सर ! मेरो पोजेटिभ रिपोर्ट आयो । केटाकेटीको जाँच गरेको छैन । अब के गर्ने होला ?

मेरा ओठमुख सुके ।

उनलाई भनें – होम आइसोलेसनमा बस्नुहोला । ज्वरो र अक्सिजन लेभल नियमित नाप्नुहोला । ज्वरो आए सिटामोल खानुहोला । उहाँले खाएका भिटामिन सी, जिंक, भिटामिन डी तथा जडिबुटीको चिया खानुहोला । डर नमान्नुहोला । म अस्पताल ओहोरदोहोर गर्नुपर्ने हुन्छ ्र उहाँलाई गाह्रो भएको छ । 

उनकी पत्नीले बारम्बार फोन गरेर रुँदै भन्थिन् – प्लिज उहाँलाई जसरी भए पनि बचाउनुहोला । जति खर्च भए पनि उहाँ बाँच्नुपर्‍यो ।

आईसीयूबाट उनले म्यासेन्जरमा लेखिरहन्थे –

‘मलाई सास फेर्न एकदम गाह्रो भयो । यस्तो किन हुन्छ ? आईसीयूमा त निको हुनुपर्ने हो ?’

‘दाइ ! आज मेरो छेउको मान्छे मर्‍यो ! लाशलाई सेतो कपडाले छोपेर त्यहीँ राखेका छन् ! म पनि मर्छु होला ।’

‘ट्वाइलेट छेउको बेडमा अर्को मान्छे पनि मर्‍यो । ट्वाइलेट जान डर लाग्छ ।’

‘डाक्टर, नर्स पनि डरलाग्दा छन् । रोबोटजस्ता ।’

‘मलाइ एकदम गाह्रो भएको छ, सास अड्केको छ, मुटुको धड्कन बाहिरै सुनिन्छ, शितांग हुन्छ ज्यान ।’

‘एक थोपो निद्रा लाग्दैन, मेरो बेड नजिकको मान्छे पागलले जस्तै जे पायो त्यही बोलिरहन्छ ।’

‘अब म स्योर मर्छु । प्लिज ! मेरो पत्नीलाई कतै जागिर लगाइदिनुहोला । केटाकेटीले दुःख पाउने भए, कलिलो उमेरमा टुहुरो हुने भए । छोराछोरी बाटोमा भीख माग्न बसेको मात्र देख्छु निद्रामा ।’

‘राति निद्रा लागेको बेला घरमै सुतेको भ्रम हुन्छ । ब्युँझिदा मसानघाटमा सेता कपडा लगाएका, नाक, कान, मुख, आँखा तथा औंला नभएका भूतप्रेत तथा किच्किन्नी मात्र देखिन्छन् । उनीहरू पीपीई लगाएका डाक्टर, नर्स हुन् भनेर चित्त बुझाउने गरेको छु ।’

‘यहाँ आएपछि मेरो सुगर र प्रेसर पनि बढेको छ । कोभिड, निमोनिया, सुगर, प्रेसर भएपछि म कसरी बाँच्छु र ? प्लिज म बाँच्न चाहन्छु, मलाई जहाँ लगेर भए पनि बचाउनुहोस् । एकपटक यहाँका डाक्टरसँग कुरा गर्नुहोला ।’

‘मलाइ घरमा लैजानु ! आईसीयूका बिरामी सबै मर्दा रहेछन् । यति दिन राख्दा पनि रोग झन् बढिरहेको छ । मलाई बाहिरबाट रामदेवको दबाई पठाइदिनुहोला । बाफ लिने चाइनिज भाँडो पठाइदिनुहोला ।’

उनी निकै आत्तिएको देखेर मैले डा. शर्मालाई उनको स्थिति बुझ्न अनुरोध गरें ।

डा. शर्माले भने – उहाँ एकदम ठीक हुनहुन्छ । ज्वरो छैन । अक्सिजन नर्मल छ । हल्का निमोनिया हो । उहाँ जस्तो आत्तिने मान्छे यो पृथ्वीमा कोही पनि छैन । एकदम एटेन्सन खोज्नुहुन्छ । मोबाइल चलाइरहनुहुन्छ । भनेको पटक्कै मान्नुहुन्न । म मर्छु, प्लिज बचाउनु भनिरहनुहुन्छ । अरु बिरामीलाई पनि डिस्टर्ब गर्नुभएको छ । भोलिदेखि एन्जाइटीको औषधि चलाउने योजना छ । डर नमान्नुहोला । उहाँलाई सम्झाउनुहोला । आईसीयूमा पीपीई लगाएका स्वास्थ्यकर्मी, जटिल बिरामी, मृत्युका घटना आदिले आत्मबल कमजोर भएका बिरामीलाई गाह्रो अनुभव हुन्छ । उहाँलाई निको बनाउन हामीले रातदिन काम गरिरहेका छौं ।

मैले उनलाई डा. शर्माले भनेका कुरा कपडछान गरेर म्यासेन्जरमार्फत पुर्‍याएँ । उनी अलि ढुक्क भए ।

***

उनकी पत्नीले मलाई भनिन् – उहाँको चिन्ताले गर्दा मेरो आङमा घाम लागेको छैन । नराम्रा सपना मात्र देख्छु । मलाइ त ज्वरो, खोकी र मुख बिरसता मात्र भयो । त्यति गाह्रो भएन । केटाकेटीलाई सर्छ कि भनेर मास्क लगाएर, सकेसम्म दूरी बढाएर हेरविचार गरें । अहिले एकदम थकाइ लाग्छ, शरीरका मासु दुख्छन्, मन एक तमासको भइरहन्छ । उहाँलाई जसरी पनि बचाउनुहोला । उहाँलाई तलमाथि भए हाम्रो जहाज डुब्छ ।

***

उनी आत्तिने, विना काम डाक्टर तथा नर्सलाई बोलाइरहने तथा अर्को अस्पतालमा लैजाउ भन्ने गरिरहँदा डाक्टर तथा नर्स पनि इरिटेट भएको कुरा डा. शर्माले बताएका थिए । मैले उनलाई सम्झाउने प्रयास गरिरहेको थिएँ । विना काम स्वास्थ्यकर्मीलाई बोलाइरह्यो भने साँच्चै गाह्रो भए/नभएको उनीहरूलाई थाहा नहुन सक्छ भनेर उनलाई सजग बनाएँ । बाघ र गोठालोको कथा सुनाएँ ।

उनले २ दिन सम्पर्क गरेका थिएनन् । मलाई एकदम छटपटी भयो । मनमा नकारात्मक कुरा खेले । डा. शर्मालाई कति डिस्टर्ब गर्नु भनेर परिचित सिस्टरमार्फत त्यहाँ काम गर्ने सिस्टरसँग उनको अवस्था बुझ्न अनुरोध गरें । उनको अवस्था बिग्रेको रहेछ ।

अर्को दिन अस्पतालबाट फोन आयो । रेमडेसेभिर नामक एन्टीभाइरल औषधि चलाउनका लागि मसँग सल्लाह भयो । मैले स्वीकृति पत्रमा हस्ताक्षर गरें । उनको ब्लड ग्रूप ‘ओ पोजेटिभ’ रहेछ । यही ग्रूपको प्लाज्मा डोनर खोज्नुहोला, हामीले पनि खोज्छौं भनेर डा. शर्माले भने । मैले फेसबूकमा सूचना राखें । तर कसैले पनि ‘रेस्पोन्स’ गरेनन् । अन्त्यमा अस्पतालले आफैं व्यवस्था गर्ने भयो । अस्पतालले थप उपचारको लागि ५ लाख ‘डिपोजिट’ गर्न भन्यो । जग्गा बेचेको पैसा बैंकमा थियो । ५ लाखको चेक ‘डिपोजिट’ गरें ।

डा. शर्माले ३ दिनपछि फोन गरे – औषधि तथा प्लाज्माको प्रयोग गरेपछि उहाँको स्वास्थ्यमा सुधार आएको छ । अक्सिजन क्यानुला लगाउने र छोड्ने गरेका छौं । अब ५ दिनपछि डिस्चार्ज गर्छौं ।

यो सुनेर म निकै हर्षित भएँ । तुरुन्तै यो सुखद समाचार उनकी पत्नीलाई सुनाएँ । उनी पनि खुशीले रोइन् ।
 
उनी आफैं शौचालय जान सकेको, झोलिलो खाना खाएको, मुखमा मधुरता आएको, निद्रा गहिरो लागेको तथा अब बाँचे भन्ने भावना आएको सुनेर हामी निकै खुशी भयौं ।

उनको आर्थिक अवस्था लकडाउनको कारण लथालिङ्ग भएको थियो । सरकारी अस्पतालमा उपचार गर्ने पनि हैसियत थिएन । स्कूलदेखि ब्याचलरसम्म सँगै पढेको, सधै रुम पार्टनर भएको तथा मेरा हरेक कठिन मोडमा दिलोज्यान दिएर सहयोग गरेको हुनाले उनलाई सकेसम्म सहयोग गर्नु मेरो कर्तव्य थियो । जीवनमा अरु के नै कमाउनु छ र ? मित्र आर्जनभन्दा ठूलो कमाइ केही हुँदैन ।

उनकी पत्नीको पनि नेगेटिभ रिपोर्ट आएको थियो । त्यसैले उनकी पत्नी र केटाकेटीलाई लिएर अस्पताल गएँ । डिस्चार्जको लागि काउन्टरमा गएँ । १० लाखको थप बिल आएको रहेछ । डिस्काउन्ट गर्न अनुरोध गरें । डिस्काउन्ट रेट नै यही हो भनेपछि मेरो केही लागेन । १० लाखको चेक दिएँ अनि उनलाई डिस्चार्ज गर्‍यौं । अस्पताल परिवारलाई धन्यवाद दिएर अस्पतालको गेटबाट हामीहरू बाहिर निस्कियौं ।

उनले सोधे – दाइ ! मेरो उपचारमा कति खर्च भयो ?

मैले भनें – जति भए पनि तपाईंलाई पूरा ठीक भएपछि कुरा गरौंला ।

उनकी पत्नीलाई खर्चको जानकारी दिएको थिएँ । उनले भनिन् – यहाँ मात्र २३ लाख बुझाउनुपर्‍यो । औषधि ब्ल्याकमा किन्दा तथा अरु खर्चको हिसाब गर्दा २६ लाख खर्च भयो ।

यो सुनेर उ ढल्यो । त्यसपछि हामीले त्यही अस्पतालको इमर्जेन्सीमा पुर्‍यायौं । जाँचपछि डाक्टरले भने – उहाँलाई हृदयाघात भएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

कात्तिक १३, २०८०

वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...

असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x