
मन्त्रिमण्डल पुनर्गठन र हेरफेरपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक राखे । बैठकले केही सचिवहरूको सरुवा गरेको छ।
मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री कार्यालयका सचिव यादव कोइरालालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ भने मन्त्रालयका सचिव सूर्य गौतमलाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको एक मन्त्रीले जानकारी दिए ।
यसैगरी जल तथा ऊर्जा आयोगका सचिव रमेशप्रसाद सिंहलाई सहरी विकास मन्त्रालयमा सरुवा गरिएको छ ।
यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको जिम्मेवारी एकनारायण अर्याललाई दिइएको छ । पर्यटन मन्त्रालयमा सचिव पद रिक्त हुँदै आएको थियो । यसैगरी सिँचाइ सचिव रवीन्द्र मान श्रेष्ठलाई भौतिक पूर्वाधार मन्त्रालयमा सरुवा गरिएको छ भने सो मन्त्रालयका सचिव देवेन्द्र कार्कीलाई ऊर्जा आयोगमा पठाइएको छ ।
यसैगरी प्रधानमन्त्रीका कार्यालयका सचिव केदार न्यौपाने उपराष्ट्रपति कार्यालयमा सरुवा भएका छन् । यस्तै हाल उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव खगराज बराललाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ ।
आजको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले नव नियुक्त मन्त्रीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै जनताको पक्षमा प्रभावकारी काम गर्न निर्देशन दिएका थिए ।
बुधबार सरकारको सिफारिसमा मन्त्री नियुक्त भएका विष्णु पौडेल, कृष्ण गोपाल श्रेष्ठ र लीला श्रेष्ठले बिहीबार राष्ट्रपतिबाट पद तथा गोपनीयताको सफल लिएका थिए ।