आज घटस्थापना : कोरोना महामारीमा बडादशैंलाई कसरी स्वागत गर्ने ?

कमल रिजाल
कमल रिजाल

लोकान्तरका नियमित स्तम्भकार कमल रिजाल धार्मिक संस्कार र समसामयिक विषयमा कलम चलाउँछन् ।

आजदेखि यस वर्षको दशैं पर्व शुरू भएको छ । यो पर्व नेपालीको सबैभन्दा ठूलो चाड हो । 

हरेक वर्ष असोज शुक्ल प्रतिपदादेखि शुरू हुने दशैं पर्व दशमीसम्म मनाइन्छ । कतैकतै पूर्णिमासम्म मनाउने गरिएको पनि पाइन्छ । यस पर्वलाई नवरात्र पनि भनिन्छ ।


Advertisement

यतिबेला ९ दिनसम्म माता भगवतीको उपासना गरी दशमीको दिन बिसर्जन गरी मान्यजनका हातबाट प्रसादको रूपमा टीका र जमरा लगाउने चलन छ । यसो गर्नाले वर्षभरि सुख, शान्ति र आनन्द पाइन्छ भन्ने विश्वास छ । टीका लगाइदिँदा मान्यजनले अश्वत्थामाको जस्तो आयु, राजा दशरथको जस्तो सम्पत्ति, रामचन्द्रको जस्तो शत्रुक्षय, नहुष राजाको जस्तो ऐश्वर्य, वायुको जस्तो गति, दुर्योधनको जस्तो मान–सम्मान, भीष्मको जस्तो शौर्य, बलरामको जस्तो बल, कुन्तीपुत्र युधिष्ठिर जस्तो सत्यवादी, विदुरको जस्तो ज्ञान र नारायणको जस्तो कीर्ति होस् भनेर आशिर्वाद दिने गर्छन् । 

मुख्यतः दशैं शक्ति उपासनाको पर्व हो । प्रकृति आफैं शक्तिको अनुपम भण्डार मानिन्छ । संसारमा जति पनि ऊर्जा तत्व रहेको छ, त्यसको मूल स्रोत भनेको प्रकृति नै हो । यिनै शक्तिगर्भा प्रकृतिले अनन्तकालदेखि संसारलाई खेलाएको मात्र छैन, डुलाएको पनि छ, भुलाएको पनि छ । संसारमा प्रलयपूर्व केही थियो भने यही प्राकृतिक शक्ति नै थियो, प्रलयपछि केही बाँकी रहन्छ भने पनि यही प्राकृतिक शक्ति नै रहन्छ । 


Advertisement

सृष्टि, स्थिति प्रलयको आधार भनेकै प्राकृतिक शक्ति हो । जन्माउने पनि यसैले हो, हुर्काउने पनि यसैले हो, मार्ने पनि यसैले हो । अनि मृत्युपछि नवीकरणीय प्रविधिको प्रयोगशालामा गालेर पुनः अर्को जीवन दिने पनि यसैले हो । गीतामा कृष्णले खाने, खुवाउने, खाइने र मार्ने, मर्ने, मरिने सबै मै हुँ भनेका छन् । वास्तवमा भन्ने हो भने प्राकृतिक शक्ति भनेकै यही हो । यसैले नै विभिन्न रूपमा खाने, खुवाउने, खाइने मात्र होइन मार्ने, मर्ने मारिनेको भूमिका निर्वाह गर्दै आएको छ । 

शक्ति खासगरी ३ किसिमका हुन्छन्, जसलाई प्रभाव शक्ति, मन्त्र शक्ति र उत्साह शक्ति भनिन्छ । यिनीहरू प्रत्येकको ३–३ रूप हुन्छन्, जसमा तामसिक, राजसिक र सात्विक शक्ति पर्छन् । यसबाहेक अन्य जति पनि शक्ति छन्, ती  सबै यिनै ३ भित्र अन्तरभाव रहेका हुन्छन् ।

दशैं पर्वमा प्रतीकात्मक रूपले उल्लिखित ३ वटै शक्तिको उपासना हुने गर्छ, जसलाई महाकाली, महालक्ष्मी, महासरस्वती भनिन्छ । महाकाली तामसिक शक्तिको प्रतीक हो, जसले संहार अर्थात् प्रलय क्रियाको प्रतिनिधित्व गरेको हुन्छ । विस्फोट वा ध्वंश विना प्रलय सम्भव हुँदैन । जहाँ ध्वंश हुन्छ, त्यहाँ तमोगुण हावी हुन्छ । त्यसैले यसलाई तामसिक शक्ति भनिएको हो । 

महालक्ष्मी राजसिक शक्तिको प्रतीक हो, जसले पालन क्रियाको प्रतिनिधित्व गरेको हुन्छ । स्थिति अर्थात् पालन क्रियामा राजसिक शक्तिको विशेष भूमिका हुन्छ । त्यसैले महालक्ष्मीलाई राजसिक शक्तिको प्रतीक मानिएको हो । महासरस्वती सात्विक शक्तिको प्रतीक हो । संसारमा शान्ति, सद्भाव राखी आपसी शक्तिलाई समन्वय गरी सहकार्य गराउन ज्ञानको आवश्यकता पर्छ । यसको प्रतिनिधित्व सरस्वतीले गर्ने भएकाले उनलाई सात्विक शक्ति भनिएको हो । 

महाकालीको उपासनाबाट प्रलय अर्थात् ध्वंस र विस्फोटजन्य शक्तिलाई सन्तुलनमा राख्न सकिन्छ भन्ने विश्वास गरिएको छ । महालक्ष्मीको उपासनाबाट स्थिति अर्थात् पालनशक्ति र महासरस्वतीको उपासनाबाट ज्ञान शक्तिलाई सन्तुलनमा राखी आयु, आरोग्य वृद्धि गर्दै दीर्घ जीवन पाउन सकिन्छ भन्ने विश्वास गरिएको छ । हाम्रा जति पनि रोग, भोक, शोकजन्य समस्या छन् ती सबै शक्ति असन्तुलनकै उपज हुन् । त्यसैले यस पर्वले शक्ति सन्तुलनको माध्यमबाट सार्थक जीवनको सन्देश दिने काम गरेको छ । 

यसो त दशैं भन्ने बित्तिकै दूर्गा पूजाको कुरा पनि सँगै जोडिएर आएको हुन्छ । दूर्गा भन्नाले नवदूर्गा भन्ने बुझिन्छ, जसमा शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघन्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री पर्छन् । यिनको प्रत्येक दिन क्रमशः १–१ गरी पूजा गर्नुपर्ने शास्त्रीय प्रावधान छ । कतैकतै एकै दिन सबै दूर्गाको पूजा गर्ने गरिएको पनि पाइन्छ तर नवदूर्गा भनेका आधिदैविक रूपले मात्र अलग–अलग रूप हुन् । आध्यत्मिक रूपमा उनीहरू एउटै हुन्, जसको प्रतिनिधित्व सोही प्राकृतिक शक्तिले गरेको हुन्छ । यही आदि शक्ति नै काम अनुसार विभिन्न समयमा विभिन्न रूपले प्रकट भएका हुन् । 

दशैं पर्वमा यिनै शक्तिको उपासना हुने भएकाले यो विशेष पर्व हुन पुगेको हो । मार्कण्डेय पुराणमा एउटा कथा आएको छ । जतिबेला दानवीय शक्ति बढेर स्वर्गमा आक्रमण गर्न पुगेका थियो, त्यतिबेला देवताले निरीह बनेर पृथ्वीतलमा भड्किँदै हिँड्नुपर्‍यो । यतिबेला दानवीय शक्तिलाई परास्त गर्ने अर्को कुनै उपाय नदेखेपछि सबै देवताहरूले आफ्नो–आफ्नो शक्ति खिचेर एकै ठाउँमा जम्मा गरे । हेर्दाहेर्दै त्यही शक्तिपुञ्जबाट माता भगवती प्रकट भई दानवीय शक्ति नष्ट गर्दै पुनः दैवी सत्ता स्थापित गरेकी थिइन् । नवरात्रमा यस प्रसङ्गको बढी नै चर्चा हुने गर्छ । यसको अर्थ हो कथाको वास्तविक अर्थ बोध गराउने प्रयास गर्नु । वास्तवमा भन्ने हो भने कथा प्रतीकात्मक हो । वास्तविक अर्थ आपसमा मिलेर प्रयास गरे रोग, भोक, शोकजन्य जस्तोसुकै समस्या पनि सहजै हल गर्न सकिन्छ भन्ने नै हो । 

एकांकी प्रयासबाट सानै समस्या हल गर्न पनि गाह्रो पर्छ । मिलेर गरे ठूलै समस्या पनि सजिलै हल गर्न सकिन्छ । दशैं पर्वले हामीलाई यही सन्देश दिएको छ । यस वर्षको अवस्था अलि भिन्नै छ । कोरोना कहरकै बीच हामीले पर्व मनाउनुपरेको छ । त्यसैले पनि ऐक्यबद्धताको झनै आवश्यक हुन पुगेको छ । जब हामी आपसी सहकार्यको माध्यमबाट एकले अर्कोलाई सुरक्षित राख्ने प्रण गर्छौं, तब मात्र यस महामारीबाट मुक्ति पाउन सक्छौं । हामीलाई चाड मनाउनु पनि परेको छ, आफू, आफ्ना र टोलछिमेक सबैलाई सुरक्षित राख्नु पनि परेको छ । हाम्रा सानै गल्ती वा लापरवाहीले धान्नै नसकिने समस्या आउन सक्छ । अरुलाई सम्मान गर्ने नाममा उनीहरू नै थप जोखिममा पर्न सक्ने अवस्था आउन सक्छ । त्यसैले दशैं त मनाऔं तर कसरी सबैलाई स्वस्थ र सुरक्षित राख्न सकिन्छ भन्नेतर्फ पनि ध्यान दिऔं । यसैमा सबैको भलाइ छ ।

कमल रिजाल
कमल रिजाल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्