यसपटकको दशैं कसरी मनाउँदै हुनुहुन्छ ?
अलि फरक तरिकाले । पहिले जसरी होइन । मास्क लगाएर, कोरोना भगाएर, घरभित्रै बसेर, स्यानिटाइजर घसेर... ।
यो पटक दशैंमा मिस भएको कुरा के हो ?
मिस भाको कुराचाहिँ हामीलाई माया गर्ने दर्शक र मेरो एउटै हो ‘छक्का पञ्जा’ ।
जिन्दगीमा सबैभन्दा सम्झनलायक दशैंको सम्झना ?
हरेक सम्झना अर्कोभन्दा रोचक नहोला, तर फÞरक छ । त्यसैले म कम्पेयर गर्दिनँ ।
दशैंको सबैभन्दा महत्त्वपूर्ण पक्ष के हो ?
अवीरमा लत्पतिएको आशीर्वादसहित खाममा आएको पैसो अनि लंगुरगुच्चामा जितेको ५ रूपैयाँले आफूलाई नै करोडपति सम्झिएको पल । त्यो नै महत्त्वपूर्ण थियो । अहिले त्यो कहाँ पाउनु ?
दशैंमा सपिङ गर्ने बानी कत्तिको छ ? अहिले कसरी सपिङ गर्दै हुनुहुन्छ ? के–के किन्दै हुनुहुन्छ ? को–कसका लागि किन्दै हुनुहुन्छ ?
सपिङभन्दा त सपिङबाट स हटाएर पिङ नै राम्रो । सपिङ सेक्सन यसपटक मेरो मन्त्रालयमा पर्दैन ।
दशैंको राम्रो–नराम्रो पक्ष के–के हो ?
खल्तिमा जसको गाँठ छ, मन रमाइलो । मन रमाइलो सबै रमाइलो । पैसा नहुँदा वरपर अरूको दशैं बबाल देखेपछि त्यही दशैं नरमाइलो ।
दशैं मनाउने तरिका परिवर्तन हुँदै गएको जस्तो लाग्छ ?
पहिला पिङमा झुलिन्थ्यो । अहिले क्वार्टरले झुलिन्छ । क्वार्टरले पिङको जागिरै खाइसक्यो ।
दशैंका बेला खानपानमा ध्यान नदिएर धेरै मानिस बिरामी हुने गरेको थाहै छ, केही सुझाव दिनुस् न ?
मासु नखाई दशैं हुन्न भन्नेहरू नै हो समस्या । अर्को दशैं नै आउँदैन भन्ठानेर कोचेको कोच्यै गर्नुभएन नि ! रक्सी पनि खानु पर्यो तर घिच्नुभएन ।
सानो छँदाको दशैं सम्झना कत्तिको याद गर्नुभएको छ ?
सानो छँदा सपना सानो थियो । सन्तुष्टि धेरै थियो । अहिले उपलब्धि धेरै छ । सन्तुष्टि छैन । शायद, फरक त्यही हो ।
दशैंका बेला सधैँ सम्झनामा आउने एउटा याद के हो ?
मालाश्री धुन ।
रामजी ज्ञवाली
ज्ञवाली लोकान्तरका कला र मनोरञ्जन संवाददाता हुन् ।