दशैं कसरी मनाउँदै हुनुहुन्छ ?
सकेसम्म घरबाहिर आफन्तको घरमा नजाने । पहिलेजस्तो सबैको घरमा जान, टीका थाप्न उचित महसूस गरेको छैन, त्यसैले परिवारभित्र मात्रै सीमित रहने गरी एक आपसमा टीका जमरा लगाउने, आशीर्वाद लिएर दशैं मनाउने सल्लाह भएको छ । स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो ।
यसपटक दशैंमा मिस भएको कुरा के हो ?
यस पटकको दशैंमा निधार ढाकिने गरी लगाइने टीका मिस हुने भएको छ । कानमा त्यत्ति धेरै जमरा हुने छैनन् । दशैंको मुख्य पक्ष भनेको हर्सोल्लास, रमाइलो, टाढा–टाढाका आफन्तसँगको भेटघाट, आत्मीयता तथा आदरणीय आफन्तहरूको आशीर्वाद हो । यो सबै कुरा मिस भएको छ ।
जिन्दगीमा सबैभन्दा सम्झनलायक दशैंको सम्झना याद गर्नुभएको छ ?
सानो छँदा जब दशैं आउँछ, मनैदेखि नयाँ लुगा किन्ने भन्ने हुटहुटी हुन्थ्यो । अहिलेजस्तो मन परेपछि पर्यो, किनिहाल्छु भन्ने स्थिति थिएन । नयाँ पहिरनमा सजिएर चिटिक्क परेर वर्ष दिनमा मामाघरमा जानु छुट्टै रौनक थियो । म सँग पनि यससँग जोडिएका धेरै यादहरू छन्, कति धेरै–धेरै ।
दशैको सबैभन्दा महत्त्वपूर्ण पक्ष के हो ?
असत्यले जति नै आफ्नो नङ्ग्रा गाडेपनि अन्तिममा सत्यको जीत भएरै छाड्छ । असत्यमाथि सत्यको जीत । नवदुर्गा माताको नवरात्रिको पूजा अनुशरण, नयाँ लुगा, मीठो खानेकुरा, दक्षिण, चंगा उडाएको कुरा, तथा आदरणियहरूबाट आशीर्वाद लिनु यसको महत्त्वपूर्ण पक्ष हो ।
दशैंमा सपिङ गर्ने बानी कत्तिको छ ?
अरू बेला जति लुगा किनमेल गरेपनि दशैंको बेलामा लुगा किनमेल गर्दा रमाइलो लाग्छ । तर, यसपालि दशैंमा नयाँ लुगा किन्ने छाँटकाट देखेको छैन ।
दशैंको राम्रो–नराम्रो पक्ष के–के हो ?
टाढा रहेका आफन्तहरूसँगको भेटघाट, आत्मीयता नै दशैंको राम्रो पक्ष हो । जाँड रक्सी, जुवातास, देखावटी व्यवहार यसको नराम्रो पक्ष हो ।
दशैं मनाउने तरिका परिवर्तन हुँदै गएको जस्तो लाग्छ ?
समयअनुसार कतिपय कुरा परिवर्तनशील नै हुन्छ । तर, परिवर्तन सकारात्मक रूपमा हुनु जरुरी छ । आधुनिकताको नाममा दशैंको महत्त्वलाई हामी कसैले बिर्सनु हुन्न है ।
दशैंका बेला खानपानमा ध्यान नदिएर धेरै मानिस बिरामी हुने गरेको थाहै छ, केही सुझाव दिन सक्नुहुन्छ ?
आफ्नो शरीरलाई पाच्य नहुने कुरा भोजन ग्रहण नगरौं । आफूले रमाइलो गर्दा अरूलाई दुःख दिने, अशान्ति महसूस हुने किसिमको क्रियाकलाप नगरौं ।
सानो छँदाको दशैं सम्झना कत्तिको याद गर्नुभएको छ ?
बच्चा बेलामा अवोधपन, दक्षिणा पाउने आशा, नयाँ लुगा लगाउँदाको आनन्द, साथीभाइ जम्मा भएर पिङ खेलेको कुरा, चंगा उडाएको त्यो रमाइलो क्षण । आहा, कहिलेकाहीँ त मलाई फेरि सानो हुन पाए कस्तो हुन्थ्यो भन्ने लाग्छ । तर, शायद बालापनमा हराएका धेरै यादहरू छन्, जसलाई कहिल्यै बिर्सिन सक्दिनँ ।
दशैंका बेला सधैँ सम्झनामा आउने एउटा याद के हो ?
अरू बेलामा त्यस्तै हो तर, यो समयमा टीका लगाएर आफन्तले दिने जुन आशीर्वाद छ, त्यो निकै महत्त्वपूर्ण छ । मलाई सानोमा आफन्तहरूले दिने आशीर्वाद थियो, ‘गीत गाउँछु भन्दै हिँड्छस्, एकदमै ठूलो गायक बन्नु । धेरै–धेरै आशीर्वाद छ ।’ शायद त्यो आशीर्वाद लाग्यो होला, म गायक बनें । तर, ठूलो गायक भनेको के हो, त्यो दर्शकहरूले नै मूल्यांकन गर्नुहोला ।
सकेसम्म घरबाहिर आफन्तको घरमा नजाने । पहिलेजस्तो सबैको घरमा जान, टीका थाप्न उचित महसूस गरेको छैन, त्यसैले परिवारभित्र मात्रै सीमित रहने गरी एक आपसमा टीका जमरा लगाउने, आशीर्वाद लिएर दशैं मनाउने सल्लाह भएको छ । स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो ।
रामजी ज्ञवाली
ज्ञवाली लोकान्तरका कला र मनोरञ्जन संवाददाता हुन् ।