धान भित्र्याउने बेला भएपछि आउन थाल्यो रासायनिक मल

सांकेतिक तस्वीर

विगत दुई महिनादेखि पर्सामा रासायनिक मल पोटासको अभाव देखिएसँगै अब यो अभाव समाप्त भएको छ ।

आजदेखि रासायनिक मल पोटास आउन थालेपछि सो अभाव समाप्त भएको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालयले जनाएको छ ।
 
चार हजार ५०० मेट्रिक टन पोटासमध्ये आज मात्र ५०० मेट्रिक टन पोटास मल आएकाले सो अभाव समाप्त भएको र दशैंपछि लगत्तै बाँकी रहेको चार हजार मेट्रिक टन पोटास आउने सो कार्यालयका प्रादेशिक प्रबन्धक गोरखनाथ केसीले बताए ।
 
तेस्रो मुलुक बेलारुसबाट भारतको वैशाखापटनम बन्दरगाह हुँदै रेलमार्गद्वारा वीरगञ्जस्थित सुक्खाबन्दरगाहमा आएको सो पोटास वीरगञ्जको मुर्लीचोकस्थित कृषि सामग्री कम्पनी लिमिटेडको कार्यालयमा आएको छ । पर्सामा सो कार्यालयले आफ्ना ९५ वटा डिलरमार्फत अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा रु ६७ लाख दुई हजार २०० मूल्य बराबरको २१६.२ मेट्रिक टन पोटास बिक्री गरेको छ ।
 
बङ्गलादेशबाट नेपाल सरकारले ५० हजार मेट्रिक टन युरिया मल सापटीमा ल्याउन लागेकाले सो मल दशैँपछि आइपुग्ने प्रादेशिक प्रबन्धक केसीले  बताए ।


Advertisement

आयातकर्ताले ठेक्का पाइसकेकाले तोकिएकै अवधिमा सो मल नेपाल आउने बताइएको छ ।

बङ्गलादेशबाट नेपालका लागि आउने ५० हजार मेट्रिक टन युरियामध्ये पर्साका लागि २५ हजार मेट्रिक टन युरिया मल हुने भएकाले लामो समयदेखि युरिया मलको देखिएको अभाव समाप्त हुने उनले बताए ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्