कसले देख्छ बेलमायाको पीडा ?

प्रकाश आचार्य
प्रकाश आचार्य

लोकान्तर संवाददाता आचार्य लुम्बिनी प्रदेशबाट रिपोर्टिङ गर्छन् ।

पूर्वपश्चिम राजमार्गमा पर्ने रुपन्देहीको सैनामैना नगरपालिकामा ब्लकले बनेको सानो घर । बेलमाया बस्नेतको त्यो घरभित्र १५ जनाको परिवार छ । 

जसमध्ये ४ छोरा र बुहारीसहित ९ जनाले कान सुन्दैनन् । पति पक्षघातका कारण लामो समयदेखि थलिएर उठ्न सक्दैनन् ।


Advertisement

आफूसहित १५ जनाको अभिभारा अहिले बेलमायाको काँधमा छ । छोराबुहारीको कमाइ खाँदै नातिनातिना खेलाएर बस्नुपर्ने ५५ वर्षीया बेलमायाले परिवार पाल्न संघर्ष गर्नुपरिरहेको छ ।

कोरोना भाइरस संक्रमणको महामारीले परिवारमा झन् समस्या निम्त्याएको छ । सांकेतिक भाषाको प्रयोग गर्नुपर्ने छोराहरूले कोरोनाका कारण ज्याला–मजदुरी काम पनि पाएनन् । यस्तो बेला बेलमायाले दैनिक मजदुरी नगर्दासम्म बस्नेत परिवारमा बिहान–साँझ चुलो बल्दैन ।


Advertisement

‘महामारीले गर्दा छोराहरूले मजदुरी पाएनन् । सांकेतिक भाषा बुझ्न नसक्दा काम पाउनै गाह्रो भएको छ । मै बुढीले दैनिक ज्यालादारी नगरी चुल्हो बल्दैन,’ बेलमायाले दुखेसो पोखिन् ।

लकडाउन अघिसम्म जसोतसो काम पाएका बेलमाया परिवारका सदस्यले ६ महिनायता रोजगारी गुमाएका छन् । कान नसुन्ने भएकै कारण बेरोजगार हुँदा बेलमायाको परिवार आर्थिक समस्यामा परेको छ ।

बेलमायाले गहभरि आँसु पार्दै भनिन्, ‘सांकेतिक भाषाको माध्यमबाट बोल्नुपर्दा काम पाउन गाह्रो छ । अझै त्यसैमाथि कोरोनाको डर बढी छ । कान नसुन्ने अपाङ्गहरूसँग खुलेर कुरा गर्न पनि चाहँदैनन् ।’ 

बेलमायाको परिवार बागलुङको हुग्दिशिर काफलठुटादेखि सैनामैनामा बसाइसराइँ गरी आएको हो । बेलमायाका पति कर्णबहादुर २० वर्षदेखि पक्षाघात (प्यारालाइसिस) ले थलिएका छन् । छोरा, बुहारी, नातिनातिको मात्र होइन, पतिको रेखदेखमा पनि बेलमायालाई फुर्सद छैन । प्यारालाइसिस भएकै कारण उनका पति पनि बोल्न सक्दैनन् । उपचारका लागि ३ लाख रुपैयाँ सकिए पनि निको नभएपछि अहिले कर्णबहादुर घरमै छन् ।

बेलमायाका ५ छोराहरू हुन । ४ छोरा कान सुन्दैनन् । तर बोल्न–सुन्न सक्ने कान्छा छोरा विकासको ४ वर्षअघि नै मृत्यु भइसकेको छ । वैदेशिक रोजगारमा जानका लागि तयार भएका उनी मोटरसाइकल दुर्घटनामा परेर बितेको बेलमाया बताउँछिन् ।

बेलमायाको परिवारमा पति, ४ छोरा र ४ बुहारी अनि नातिनातिना हुन् । पति, छोरा, बुहारी गरी ९ जना बहिरा छन् । ४ छोरा जन्मैदेखि नै बोल्न नसक्ने भएका हुन् । सबै सांकेतिक भाषाबाट कुरा गर्छन् । छोराहरूको बिहे भइसकेको छ । बुहारीहरू पनि सांकेतिक भाषाबाट मात्र बोल्न गर्छन् ।

जेठा छोरा चेतबहादुर घरमा नै भैसी र बाख्रापालन शुरू गर्ने तयारीमा छन् । आमासँगै मजदुरी गर्दै आएका चेतबहादुरको रोजगारी कोरोनाले गुमेको छ । चेतबहादुरकी पत्नी हरिकलाको कपडा सिलाउने सीप भए पनि डिजाइनबारे नबुझ्ने हुँदा रोजगार पाउन सकेकी छैनन् । लामो समयपछि मजदुरीको लागि अवसर नपाएपछि अहिले चेतबहादुर सहकारीबाट ऋण लिएर घरमा भैसी पाल्ने योजनामा छन् ।

माइला छोरा शेरबहादुर काम खोज्नको लागि काठमाडौं गए पनि काम पाएका छैनन् । काठमाडौंबाट घर फर्किने पैसा नभएको भन्दै आफूलाई फोन आउने गरेको बेलमायाले सुनाइन् । साइला छोरा दानबहादुर र काइला छोरा तेजबहादुरले १२ कक्षासम्म पढेका छन् । पढेको भए पनि कान नसुन्ने हुँदा रोजगार दिन धेरैले आनाकानी गर्ने गरेको अनुभव तेजबहादुरको छ । 

‘बेटरको तालिम समेत मैले लिएको छु । केही समय बुटवलमा काम पनि पाए । तर सञ्चालक परिर्वतनपछि जागिर गुम्यो । कान नसुनेकै कारण अप्ठ्यारो भएको भन्दै मलाई जागिर दिएनन्,’ उनले भने । २१ वर्षका तेजले काठमाडौंबाट बिहे गरेका छन् । उनी पनि कान सुन्दैनन् । तेजबहादुर पत्नी सोनालाई सिलाइकटाईमा लगाउने इच्छा रहेको बताउँछन् ।

नातिनातिना साना भएका कारण बेलमायालाई सघाउन सक्दैनन् । त्यसैले पनि जीविका चलाउन गाह्रो भएको बेलमायाको भनाइ छ । 

सैनामैना नगरपालिका–३ का वडाध्यक्ष रत्नबहादुर पौडेलले बेलमायाको परिवार समस्यामा परेको हुँदा नगरपालिका र वडाबाट हुने सहयोग गर्ने बताए । वडाबाट अपाङ्गता भएका व्यक्तिले पाउने सुविधा सबैले पाउँदै आएको अध्यक्ष पौडेलले बताए ।

प्रकाश आचार्य
प्रकाश आचार्य

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्