यसरी गर्नुहोस् नेताको चाकडी !

दिलनिशानी मगर
दिलनिशानी मगर

समसामयिक विषयमा कलम चलाउने दिलनिशानी मगर लोकान्तरका नियमित स्तम्भकार हुन् । 

खास त यसरी जोत्नु पर्छ हलो, यसरी रोप्नु पर्छ धान, यसरी काट्नुपर्छ घाँस, यसरी मस्काउन पर्छ भाँडा भनेर सिकाउनु पर्ने हो। तर आज यसरी गर्नुपर्छ नेताको चाकडी भनेर लेख्दैछु। यो कुनै जीवन उपयोगी सीप त हैन तर जीवन जिउने कलाचाहिँ पक्कै हो । नेपालको शक्ति केन्द्रसँग चाकडीको थरीथरीका नमूनाहरू ठोक्किन पुग्छन् र नेपालको राज्य व्यवस्था चाकडी प्रथाको रूपमा स्थापित नै छ। 

नेपालमा कतै राम्रो जागिर चाहियो भने कोही न कोहीको  चाकडी त गर्नैपर्छ। सबैभन्दा धेरै जसले चाकडी गर्न सक्छ उसैले जागिर पाउने हो। पढाइको सर्टिफिकेट देखाएर, योग्यता अनि अनुभव भएर काम पाइन्न । चाकडीको भरमा बढुवा हुँदा कयौं सक्षम प्रहरी हाकिमहरू आईजीपी हुन पाउँदैनन्।  तल्लो तहमा पनि लाइन मिचिन्छ। सिनियर जुनियरको मतलब हुँदैन। पार्वती थापा मगर एक उदाहरण हुन्। आर्मीमा पनि त्यस्तै छ।  शान्ति मिसनमा भीआईपी कोटा हुन्छ, त्यो भनेको भीआईपीको चाकडी नै हो।  निजामती कर्मचारीको सरुवा बढुवामा ७० प्रतिशत चाकडीको प्रभाव हुन्छ। 


Advertisement

हुँदाहुँदा  अहिले त अस्पतालमा बेड पाउन पनि कसैको चाकडी नगरी भएको छैन। कार्यकर्ताले सांसदको, सांसदले मन्त्रीको, मन्त्रीले प्रधानमन्त्रीको जताततै चाकडी गरिरहेका छन्। र राज्य चाकडीकै भरमा टिकेको छ। अस्ति एकजना पत्रकारले आफूलाई नेपाल टेलिभिजनको गण्डकी प्रदेशको खै के नियुक्ति गरेकामा धन्यवाद भन्दै दर्जनभन्दा बढी नेताहरूको नाम लिएका थिए। तिनी नियुक्ति हुनुभन्दा अगाडि यतिधेरै चाकडी गरे होलान् ? उनको धन्यवाद दिने पञ्चायती शैलीबाट नै थाहा हुन्छ। 

सबैभन्दा धेरै चाकडी राजनीतिमा छ। युवा नेताहरू कुनै काम गर्दैनन्, नेताको चाकडी गरेकै भरमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भनेजस्तै उनीहरू झर्ला र खाउँला भनेर बसेका छन्। कुनै आन्दोलन छैन। कुनै कार्यक्रम छैन। कुनै प्रगतिशील सोच छैन। जनताको दु:खका प्रति कुनै बोझ छैन। मात्र चाकडी, चाकडी अनि चाकडी।


Advertisement

तपाईंले २० वर्ष पार्टीको झोला बोक्नुभएको छ तर अघिल्लो वर्ष पार्टी प्रवेश गरेको क्रसर उद्योगीले तपाईंको आँखैअगाडि सांसदको टिकट पाउन सक्छ ।

एक प्रसंग जोडौं, भियातनामी नेता होचिमिन्हाले प्रधानमन्त्री भएको समयमा एकपटक भारतको भ्रमण गरेका थिए। भारतीय मन्त्रीहरूसँग उनी भेटघाट गर्न सामूहिक रूपमा बसेछन्। होचिमिन्हाले  सोधेछन्– “तपाईंहरू के काम गर्नुहुन्छ?” होचिमिन्हाको प्रश्न सुनेर मन्त्रीहरू छक्कै परेछन्।

मन्त्रीहरूले जवाफ दिएछन्, 'हामी त मन्त्री हौ, राजनीति गर्छौं।' होचिमिन्हाले फेरि प्रश्न गरेछन्– 'हैन तपाईंहरूले के काम गर्नुहुन्छ भनेको? जस्तो कि म बाँच्नका लागि खेती किसानी गर्छु, आलु रोप्छु, माछा पालन गर्छु । राजनीति त मेरो काम हैन, यो जनताको सेवा हो।' हाम्रा युवा राजनीतिकर्मी, मन्त्री, संसदलाई तपाईंहरू के काम गर्नुहुन्छ भनेर सोध्यो भने के जवाफ देलान्? पक्कै तिनीहरूले चुनाव जितेको छु, जनताले मन्त्री बनाएको हो, यस्तै–यस्तै। तर कुखुरापालन गरेको छु कसैले भन्ने छैनन्। 

हुन् त  झलनाथ खनालजीले विषालु सर्प पालेर चकित पारेका छन्। विषालु सर्प यस्तो कि पचास लाखको त गाडी नै चाहिने। यस्तो खतरा विषालु सर्प पालन गरेका झलनाथ खनाल प्रधानमन्त्री भैसकेका मानिस हुन्। राजनीतिबाट दिक्क भएर किसानी कर्ममा लागेका पूर्वमन्त्री समेत रहेका लोकेद्रबहादुर विष्ट कालो चामलदेखि ड्रागन फ्रुटसम्मको खेतीमा लागेका छन्। यिनले एकपटक संसद्मा पेस्तोल देखाएका थिए। 

आज देशको कूटनीतिक निकाय भागबण्डामा चलेको छ । आज सुरक्षा अंगदेखि न्यायालयसम्म राजनीतिक बाँडफाँडमा चलेको छ। यसरी कूटनीतिमा बाँडफाँड हुँदा एक राजदूतलाई मानव तस्करीको आरोप पनि लाग्यो। अरू धेरैलाई सुटकेस बोकेको आरोप लागेको छ। तर मिलीभगतमा यी कुरा लुकाइएको छ। सरकारी अस्पतालदेखि क्याम्पससम्म चाकडीबाजहरूले  अड्डा जनाएका बसेका छन् । जिल्ला बाल समितिदेखि खेलकुद समितिसम्म चाकडीधारीकै रजगज छ । हिजो राजाको टीका लगाएकाहरूलाई मण्डले भनिन्थ्यो किनकी त्यहाँ कुनै योग्यताको मापन थिएन। यिनीहरूलाई के भन्नुपर्ने  हो थाहा छैन। 

दु:खको कुरा चकडीबाजले न समाजको हित गर्छ न, देशको । चाकडीबाजले  पढेलेखेका इमान्दार र सोझा व्यक्तिलाई पछाडि पार्छन् । अनपढ, टाठाबाठा, फूर्तीफार्ती लगाउने  धूर्तहरूले नाफामूलक अवसरहरू बेलामौकामा  हत्याउँछन्। उनीहरूलाई कहाँ चाकडी गर्दा के पाइन्छ भन्ने कुरा ठ्याक्कै थाहा हुन्छ। जब ती चाकडी गरेकै भरमा शासकको वरिपरि घुम्छन्, राजनीतिक नियुक्तिहरू लिएर राज्यको अंगलाई प्रभाव पार्न खोज्छन्। यसले गर्दा इमान्दारहरू निरुत्साहित हुन पुग्छन् । फटाहाहरू  फस्टाउँदै जान्छन् । हाकिमको चाकडीकै भरमा महिनाको तलब पकाउने, पेन्सन नै पकाउने कर्मचारीहरू पनि हजारौ छन्। यसर्थ चाकडी जहाँतहीँ छ। यिनीहरू  अरूलाई रिझाउने, भुलाउने मनोवृत्तिका हुन्छन् । तर यस्ता चाकडीबाजले आफ्नो काम फत्ते भइसकेपछि धोका दिन्छन्, किनकी उनीहरू आफ्नो क्षमताप्रति विश्वस्त हुँदैनन् ।

यिनीहरूलाई वियषगत पढ्नु पर्दैन, लोकसेवा आयोग पास गर्नुपर्दैन, कुनै खास वियषमा ज्ञान हाँसिल गरेको हुनुपर्दैन । केबल चाकडी गर्न जाने पुगिहाल्छ । हालसालै सरकारले बाँडेको पदकमा पनि अपवादबाहेक चाकडी गर्नेहरूकै हालुमुहाली रह्यो। र यो विगतदेखि नै चल्दै आएको परम्परा हो। आफैंलै आफैंलाई सिफारिस गर्ने कस्तो सम्मान पदक?  जो पदक आफ्नो घरको भित्तामा झुण्ड्याउँदा पनि आफैंलाई लाज लाग्ने, ग्लानी हुने पदक । पदकका लागि नेतालाई भन्नुपर्ने, गुहार्नुपर्ने चाकडी गर्न नजान्नेको नसक्नेको नाम काट्नुपर्ने । के यही हो गणतन्त्रको सुन्दर अनुहार ? 

कलिका बालबालिकाहरूले हामी भोलिका कर्णधार हौं भन्दै  गर्व गरेर पढ्नुको कुनै कारण देखिन्न । कर्णधार हैन 'हामी भोलिका साउदी कतारका कामगदार हौं” भनेर पढाए भैहाल्यो। केही दिनअगाडि दिनको चौबीस घण्टा प्रधानमन्त्री केपी ओलीको गाथा गाएर नथाक्ने एकजना मान्छे राम्रै सरकारी संस्थानको सञ्चालक समितिको सदस्यका रूपमा मन्त्री परिषद्बाटै निर्णय गराएर पद खाएर बसेका छन् । तर उनी वास्तवमा  आठ कक्षा फेल हुन्। पशुपतिनाथको कमस चाकडीकै भरमा उनी त्यहाँ पुगे ।

नेताका बारेमा आएका समाचारहरू फेसबूकमा शेयर गरेर ट्याग गर्नुहोस्। ताकि नेताले त्यो समाचार नदेख्ला भन्ने खतरा पैदा नहोस्। नेताले सामाजिक सञ्जालमा फोटो शेयर गर्ने बित्तिकै आहा!  निकै ह्याण्डसम देखिनुभएको छ भनेर कमेन्ट गर्नुहोस् । अनि सबैभन्दा महत्त्वपूर्ण नेताको जन्मदिन नबिर्सनुहोस्। ठ्याक्कै १२ बज्नासाथ फोटोसहित जन्मदिनको शुभकामना दिएर नेतालाई ट्याग गर्नुहोस् । एक सेकेन्ड पनि ढिला नहोस् ।

फाइदा नै फाइदा हुने नेताको चाकडी कसरी गर्ने? 

नेता बिरामी भएको थाहा पाउनासाथ दौडेर अस्पताल पुगिहाल्नु पर्छ। बरु डाक्टर ढिला पुगेस् तर तपाईंहरू एकदम चाँडो पुग्नै पर्छ । अनि फेसबूकमा नेताको फोटो राखेर हाम्रो “आशाको केन्द्र, जनताको मन मुटुमा बस्न सफल भनेर स्वास्थ्यलाभको कामना गर्नुपर्छ।” 
र त्यो कुरा नेताले थाहा नपाउने डर भएका कारण नेतालाई पनि फेसबूकमा ट्याग गरिदिनुपर्छ। ताकि नेता पूर्ण रूपमा निको भएपछि आफ्नो असली खातिदारी निभाउने महानआत्मा को हुन् भनेर सजिलै चिन्न सकुन् ।

यतिमा मात्रै कुरा सकिएको छैन,  जब नेता डिस्चार्ज हुन्छ तब नेता र नेताका परिवार घर पुग्नुभन्दा पहिला तपाईं नेताको घरमा पुगिसक्नुपर्छ। एकदम भावशून्य अनुहार लगाएर निकै पीडा महसूस भएजस्तो अनुहार बनाएर तपाईं नेताको घरदैलो अगाडि उभिनुपर्छ। सकेसम्म पुष्पगुच्छा पनि उचाल्नु भयो भने त्यो झन् राम्रो हुनेछ । तपाईंलाई देखेर नेताको मनमा यस्तो कुरा खेलोस् कि, 'अहो! मलाई जीवित भएको देख्न चाहने पनि कोही रहेछ यो देशमा, यिनलाई त राम्रो ठाउँमा नियुक्ति दिनैपर्छ । भविष्यमा समानुपातिक केटाको संसद भए पनि बानाउनै पर्छ । यिनको मान्छेको सरुवा बढुवा के–के छ त्यो पनि सबै गरिदिनुपर्छ।” 

एकताका भृकुटीमण्डपमा चिया पिउने क्रममा निकै हाँसो भयो। सुदुरश्चिमका एकजना मित्रले कुरा फुस्काइहाले । जुम्ली लवजमा तिनले भने- 'खुमबहादुर खड्काको घरमा जतिखेरै जाँदा पनि ढोका बाहिर सधैँ ४०–५० जोडी  चप्पल हुन्थे ।' 'जतिखेर पनि? राति १२ बजेपनि?' मैले शंकास्पद प्रश्न गरे।  तिनले भने अँ यार राति १२ बजे पनि। 'भोलिको पत्रिकामा यस्तो-यस्तो समाचार आउँदैछ हजुर' भनेर कतिपय पत्रकारहरू राति नै सुनाउन जाने रहेछन्। अनि बिहान, दिउँसो र बेलुकीपखचाहिँ कोही घर फर्किने पैसा माग्न, कोही उपचार गर्ने पैसा माग्न, कोही फलानालाई भर्ती गरिदिनुपर्‍यो भनेर जाँदा रहेछन्। 

ती जानेहरूको अनौठो शैली हुने रहेछ। कतिपयले झोलामा गाउँको लोकल घिउ, च्याउ, मार्सी चामल, कुटेको चिउरा, मह, गाउँको कागतीको झोल यस्तैयस्तै कोशेली बोकेर जाने रहेछन्। ती मित्रको अर्को गुनासो थियो, 'यो शेरबहादुर देउवाले चाकडी गरेको पनि बुझ्दै बुझ्दैनन्।' उनलाई चाकडी गर्न चाहिँ आरजु देउवामार्फत जानुपर्ने रहेछ। आरजु देउवालाई अहो! भाउजू तपाईं त जहिल्यै सुन्दर देखिनुहुन्छ, तपाईंलाई सुदुरपश्चिमका महिलाहरूले धेरै सम्झेका छन्, माया गरेका छन्' भन्दिएपछि मक्ख भएर नाक फुलाउने रहेछिन्। ।' कांग्रेसीहरूले जिल्लादेखि केन्द्रसम्म 'जय नेपाल काका' भन्नुको भेद पनि तिनले खुलाएरै छाडे । 

एकदिन गण्डकी प्रदेशबाट एकजना स्थानीय नेता काठमाडौं आए । उनले गृहमन्त्री रामबहादुर थापा बादललाई भेट्न समय मिलाएका रहेछन् । मलाई पनि जाऊँ भने। ट्याक्सीमा सँगै गयौं। तर रक्सीको गन्ध निकै आयो। मैले भनें 'के हो यार दाइ रक्सी पिएर पनि गृहमन्त्री भेट्न आउँछन् त, त्यहाँ प्रहरीले चेक गर्छन् नि, अनि गेटबाटै फर्किनुपर्‍यो भने त बदनाम हुन्छ।' उनले शान्त मुद्रामा भने 'हैन झोलामा कोदोको लोकल रक्सी छ क्या, कसैलाई नभन्नू । बुढालाई पहिल्यैदेखि लोकल रक्सी मन  पर्छ। त्यही भएर ल्याइदिएको हो।” म फेरि खिस्स हाँसे । उनले भनेका त थिए यो कुरा कसैलाई नभन्नू, तर आज मैले लेखिदिएँ किनकी उनले यो पढ्दैनन्,उनी गाउँतिर छन्,  पढ्न रुचि भएका मान्छे हैनन् ।

राजनीति चाकडीको सबैभन्दा ठूलो केन्द्र हो किनकी राजनीति नै राज्य हो। यसकारण सम्भावना बोकेका कयौं युवा राजनीतिकर्मीहरू पनि कताकता चाकडीको भाष्यमा रुमलिएका हुन्छन् । उनीहरूले आफ्नो नेताले कुकुरलाई बाघ हो भन्यो भने हो–हो बाघ नै हो भन्नुपर्छ । तपाईंको घडीमा दिउँसोको १२ बजेको छ, उज्यालो भएको छ । तर नेताले रात पर्‍यो भन्यो भने हो–हो हजुर रात पर्‍यो भन्नुपर्छ। यदि त्यसो भन्नु भएन भने त तपाईं जतिसुकै आस्था र निष्ठाको राजनीति गरे पनि अन्तिममा एउटा बस्ने झुपडी पनि नपाउने हुन सक्छ । किनकी हिजो गणतन्त्रका लागी लडेकाहरू आज पशुपतिनाथमा भीख मागेर बसिरहेका भेटिन्छन् ।

तपाईंले २० वर्ष पार्टीको झोला बोक्नुभएको छ तर अघिल्लो वर्ष पार्टी प्रवेश गरेको क्रसर उद्योगीले तपाईंको आँखैअगाडि सांसदको टिकट पाउन सक्छ । नगरपालिका र गाउँपालिकाको चुनावमा यस्तै भयो। केन्द्र हेर्‍यो भने पनि तस्करहरू सांसद भएका छन् । समानुपातिक कोटा अल्पसंख्यकहरूलाई हैन तस्करहरूलाई सम्मान उपहार भएको छ ।

तपाईंले नै पार्टी सदस्य दिलाएको मान्छे तपाईंकै अगाडि राजदूत बन्न सक्छ । अनि तपाईंले उसको उपदेश सुन्नुपर्ने हुन्छ। आज ठाकुर गैरेहरू कहाँ छन्, कोमल वलीहरू कहाँ छन् त्यो अनुमान गर्नुहोस् । आज लेखनाथ न्यौपानेहरूको हालत के छ, अनि कस्ता–कस्ता पृष्ठभूमि भएका मानिसहरूले राजनीतिक नियुक्ति पाएका छन् त्यो विवेचना गर्नुहोस्। राजनीतिक चेपुवा र कोपभाजनमा परेर आज कस्ता–कस्ता हस्तीहरू वैचारिक मानिसहरू डिप्रेसनको रोगी बनेका छन्। 

फलत: जस्ले चाकडी गर्न धेरै जान्यो ऊ नै राजनीतिक नियुक्त पाएर शानका साथ उपदेश दिएर बसेको छ । तिनीहरूको यो लोकतान्त्रिक गणतन्त्र ल्याउनका लागि के कस्तो भूमिका थियो?  के तिनीहरू संविधानसभाका निम्ति लडेका, आन्दोलन गरेका पात्रहरू हुन् त ? सोधखोज गर्ने फुर्सद कसैलाई छैन किनकी राजनीति महंगो भएको छ। चुनावका लागि दुई अगाडिदेखि नै तयारी गर्नुपर्छ, त्यसका लागि पैसा चाहिन्छ । राज्यका सम्मानित अंगहरूमा आज फेन्सी देकानको समान जस्तो मोलमोलाइ भएको छ। 

यसकारण तपाईं पनि गतिलो पद पाउन चाहनुहुन्छ । गतिलो जीवन बिताउन चाहनुहुन्छ भने नेताको चाकडी गर्नुहोस् । नेताका बारेमा आएका समाचारहरू फेसबूकमा शेयर गरेर ट्याग गर्नुहोस्। ताकि नेताले त्यो समाचार नदेख्ला भन्ने खतरा पैदा नहोस्। नेताले सामाजिक सञ्जालमा फोटो शेयर गर्ने बित्तिकै आहा!  निकै ह्याण्डसम देखिनुभएको छ भनेर कमेन्ट गर्नुहोस् । अनि सबैभन्दा महत्त्वपूर्ण नेताको जन्मदिन नबिर्सनुहोस्। ठ्याक्कै १२ बज्नासाथ फोटोसहित जन्मदिनको शुभकामना दिएर नेतालाई ट्याग गर्नुहोस् । एक सेकेन्ड पनि ढिला नहोस् । अनि त्यो जन्मदिनको शुभकामना स्क्रीनशट गरेर म्यासेन्जरमा समेत पठाएर थप अर्कोपटक पनि जन्मदिनको शुभकामना दिनुहोस्। ताकि नेताले राम्रोसँग देखेस्, किनकी नेता खुशी हुनु नै तपाई सन्तोषजनक मुद्रामा रहनु हो । 

नेताले बिहे गेरको कहिले हो, हनिमून मनाएको कहिले हो। एनिभर्सरी कहिले हो, सकभर याद गर्ने, याद गर्न नसके नेताले सामाजिक सञ्जालमा राख्नसाथ 'ह्याप्पी एनिभर्सरी हजुर, नाइस जोडी भनेर कमेन्ट गर्नुहोस् ।' 
सानो मान्छेको त फोटो लाइक गर्दै नगर्नुहोस्, कमेन्ट त झुक्किएर पनि नगर्नुहोस् । फेरि तपाईंलाई त्यही लेबलमा गन्छन् क्या, आफ्नो स्तरमा बस्नुपर्‍यो नि त ! त्यही भएर ठूला नेताहरूले फेसबूकमा के लेखेका छन्, तपाईको वालमा नआए पनि खोजीखोजी लाइक, कमेन्ट गर्नुहोस्। सकभर लभ रियाक्ट नै गर्नुहोस् ।

अब नेताहरू स्वाभाविक रूपमा व्यस्त हुन्छन्, तपाईको कमेन्ट नहेर्न सक्छन्। त्यही भएर नामसहित मेन्सन गर्नुहोस्। नेता कतै गाउँको भ्रमणमा जाँदा खोला तरेको, पैदल हिँडेको, थालमा हातले खाएको फोटा छन् भने सकेसम्म फोटोसँगै राखेर गरेको कमेन्ट झन् सुनमा सुगन्ध हुन्छ, त्यसै गर्नुहोस्। आहा! नेता भनेको यस्तो हुनुपर्छ भनेर भएभरिका गुणगान गाउनुहोस्। 

मलाई पनि प्रचण्डको चाकडी गरेको भन्छन् । तर मलाई प्रचण्डको जन्म दिन थाहा छैन। म केक बोकेर गएको पनि छैन। बीचमा फेरि बिहे गरेका थिए। शुभकामना पनि दिइनँ। मलाई यो सब बेकार लाग्छ। तर  फागुन १ गते भने राम्रोसँग थाहा छ । फागुन १ नै सबैथोक हो भन्ने लाग्छ। प्रचण्डसँगको मेरो सम्बन्ध फागुन १ मात्र हो। उनको विचारको चाकडी पक्कै गरेको हो।

अनि सबैभन्दा महत्त्वपूर्ण कुरा तपाईंले आफ्नो गुटको कित्ताकाट गर्नुपर्ने हुन्छ । तपाईंहरू देउवा लाइन कि रामचन्द्र लाइनको, केपी ओली लाइन कि प्रचण्ड लाइनको, माधव कुमार नेपाल लाइन कि झलनाथ खनालको। तपाईंले आफ्नो लाइन बाहेक अरू लाइनको नेताको जन्मदिन नसम्झिए पनि खासै फरक पर्दैन। तपाईंले आफ्नो लाइनबाहेक अरू नेताको एनिभर्सरीमा नाइस जोडी र शुभकामना नभने पनि फरक पर्दैन। जस्तो कि मेरै कुरा गरौं न मलाई केपी ओलीको जन्मदिन सम्झनुपर्ने कुनै कारण नै छैन। हुन त मलाई कसैको जन्म दिन याद छैन। पशुपतिनाथको कसम मलाई मेरै जन्म दिनको याद पनि छैन। मेरो जन्मदिन थाहा पाउन मैले नागरिकता हेर्नुपर्छ । 

यसरी आफ्नो लाइन अनुसार फोटोमा लाइक कमेन्ट, समाचार शेयर गर्नुपर्छ। समाचार, अन्तर्वार्ताहरू शेयर गर्नुपर्छ । कहिलेकाहीँ टाढैबाट भएपनि फेसबूक लाइभ दिनुपर्छ । ताकि लोकवासीले पनि असली बफादार त यही रहेछ भन्ने ठानुन् । तपाईंलाई शक्ति केन्द्रको सम्पर्क सूत्रको रूपमा मानुन्।  अरू गुटकाले के लेखेका छन्, के समाचार शेयर गरेका छन्, बरु झुटो नै कुरा गरेर पनि त्यो सत्य कुराको काउन्टर दिनुहोस्, प्रतिवाद गर्नुहोस्। र मैले यसो गरेको छु है भनेर प्रमाण स्वरूप स्क्रीनशट नेतालाई पठाउनुहोस् । नेताले हेरेन भने उसको छोरालाई भएपनि पठाउनुहोस् । किनकी छोरा प्राय: बाउसँग हुन्छ नि त, बेलुकी खाने बेलामा भएपनि बाउको कानमा त्यो कुरा पुग्न सक्छ ।

मलाई पनि प्रचण्डको चाकडी गरेको भन्छन् । तर मलाई प्रचण्डको जन्म दिन थाहा छैन। म केक बोकेर गएको पनि छैन। बीचमा फेरि बिहे गरेका थिए। शुभकामना पनि दिइनँ। मलाई यो सब बेकार लाग्छ। तर  फागुन १ गते भने राम्रोसँग थाहा छ । फागुन १ नै सबैथोक हो भन्ने लाग्छ। प्रचण्डसँगको मेरो सम्बन्ध फागुन १ मात्र हो। उनको विचारको चाकडी पक्कै गरेको हो। तर म उनी प्रधानमन्त्री भएको दिन खादा बोकेर गइनँ । पशुपतिनाथको कसम मैले चाकडी गरेको छैन। घटनाक्रम अनुसार समर्थन, विरोध भैहाल्छ। तर चाकडीको रूप भने अलिक फरक हुन्छ। त्यो मबाट किमार्थ सम्भव छैन । र यो कुरा जनतालाई पनि थाहा नै छ ।

अहो!  चाकडी गर्ने याम त बल्ल आएको छ। तर यसपालि कोरोनाका  कारण चाकडीबाजहरू अलिक मौन छन्।  हिजो राजा महाराजाहरूको चाकडी गर्नेहरूले  यसपालि दशैंको टीका लगाउन पाएनन्। कोरोना आयो नि यार! अब कोरोना भाइरस खारेज गर्न पनि सकिएन । 

केपी ओलीकोमा दशैंको टिका थाप्न जाने हजारौं छोराछेरीहरूको यसपालिको दशैं सामाजिक दुरीका कारण खल्लो हुनेछ। विगतका दशैंहरूमा जस्तै तिनीहरू यसपालि  बा, बा भन्दै बालुवाटार जाने छैनन्। सुनिन्थ्यो, प्रधानमन्त्री केपी  ओलीको जन्म दिनमा बालुवाटारमा हजारौं थान केक पुग्छन्। फूटबल संघले त केकमा फूटबल नै बनाएर लगेछन्। तर  गणतन्त्र नेपालका कम्युनिस्ट प्रधानमन्त्रीले त्यस प्रकारको  पूँजीपति तानाशाहीको जस्तो  तरिकालाई हैन यसो नगरौं, यो तरिका ठीक हैन भन्न सकेनन्। केक बोकेर लाइन लाग्नेहरूले पनि लाज मानेनन्। 

राजनीति पूरा परनिर्भर भएको छ। कसैको आशीर्वाद, संरक्षणविना राजनीतिक यात्रा सम्भव छैन भन्ने तिनलाई परेको छ किनकी यो तिनीहरूले आफ्नै आँखाले देखेका छन्, भोगेका छन्। चाकडीविनाको राजनीति तिनले कल्पना गर्न नसक्ने अवस्थामा पुगेका छन्। यसो हुँदा  आफ्ना नेताहरूको चाकडी गर्न नपाए आफू पछि परिन्छ कि भन्ने युवा राजनीतिकर्मीरूलाई लाग्छ। आफैसँग भरोसा नहुँदा यस्तो हुन्छ।  

किनकी हेर्नुहोस्,  किसानहरूले भनेको समयमा मल पाएका छैनन् । कृषि मन्त्री घनश्याम भुषालले मन ल्याउन भगवानले पनि सक्दैन भन्छन्। तर युवा राजनीतिकर्मीहरू केही बेल्दैनन्, किनकी यो किसानको पक्षमा बोल्दा कसैले कही पनि पाउँदैनन्, तर केही क्रसर उद्योगीलाई प्रशासनबाट केही  समस्या होस् त सांसददेखि विद्यार्थी नेतादेखि युवा नेता सबै लावालस्कर लागेर सबै किसिमका सहयोग गर्न खोज्छन्। किनकी त्यहाँ पैसा छ । घनश्याम भुषाल पूरै असफल भैसकेका छन् तर  पनि  घनश्याम भुसाल दाइ वैचारिक हुनुहुन्छ भन्दै धेरैले अझै चाकडी गर्छन्। किनकी फर्जी योजना बनाएर कृषिको पैसा अलिकति हसुर्न पाइन्छ कि भन्ने तिनको इरादा छ । तर विचारले खान दिँदैन, खान दिने मलले नै हो। 

आज गरीब जनता उपचार गर्न नसेकर छटपटाइरहेका छन् । अस्पतालमा अक्सिजन छैन । बेड छैन। सरकार अब हामी उपचार गर्दैनौं भन्छ । बेहोश भए मात्रै अस्पताल  आइज भन्छ । विद्यार्थीहरू मारमा छन् । पढाइ नभएपनि स्कूल शुल्क मागिएको  छ। नदिए जबरजस्ती विद्यार्थी निकालिएको छ। तर अहँ एकजना युवा राजनीतिकर्मी  पनि बेल्दैनन्, आवाज उठाउँदैनन्, किनकी तिनीहरूले स्कूलको साहुबाट पैसा लिएर खाइसकेका छन्। 

जय चाकडीबाज !

दिलनिशानी मगर
दिलनिशानी मगर

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्