भूकम्प पीडितलाई घर बनाउन लालपूर्जा

सांकेतिक तस्वीर

जग्गाधनी प्रमाणपूर्जा नभएका तनहुँका २७ भूकम्प पीडित घरधुरीलाई जग्गाधनी प्रमाणपूर्जा वितरण गरिने भएको छ ।

अव्यवस्थित जग्गामा बसोबास गर्दै आएका र विसं २०७२ को भूकम्पले घर क्षति भएका घरधुरीलाई स्थायी घर बनाउन उनीहरु बसोबास गरेकै ठाउँको जग्गाधनी प्रमाणपूर्जा उपलब्ध गराउने तयारी छ ।


Advertisement

सङ्घीय सरकारको मन्त्रिपरिषद्को निर्णयानुसार त्यस्ता भूकम्प पीडितलाई स्थायी आवास बनाउन जग्गाधनी प्रमाणपूर्जा उपलब्ध गराउन लागिएको हो ।

तनहुँमा जग्गाधनी प्रमाणपूर्जा नभएका भूकम्प पीडितको सङ्ख्या धेरै भए पनि पहिलो चरणमा २७ घरधुरीलाई लालपूर्जा उपलब्ध गराउन लागिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइका प्रमुख जयप्रकाश गुप्ताले जानकारी दिए ।


Advertisement

उक्त कार्यका लागि प्रतिनिधिसभाका सदस्यको संयोजकत्वमा समिति गठन गरिएको छ । जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदले ६/६ महिना संयन्त्रको संयोजकको भूमिका निर्वाह गर्नेछन् । सोहीबमोजिम असोजदेखि आगामी ६ महिनाका लागि तनहुँ क्षेत्र नं १ का सांसद कृष्णकुमार श्रेष्ठ उक्त समितिको संयोजक बनेका छन् ।

सांसद श्रेष्ठका संयोजकत्वमा केही दिनअघि बसेको २७ घरधुरी बैठकले भूकम्प पीडितलाई स्थायी आवास निर्माणका लागि प्रमाणपूर्जा उपलब्ध गराउने निर्णय गरेको थियो ।

बाँकी जग्गाधनी प्रमाणपूर्जा नभएका घरधुरीलाई पनि क्रमशः पूर्जा उपलब्ध गराइनेछ । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्