‘हाम्रो जैमिनी’ संस्थाका युवाले घरघरमै पुर्‍याउँछन् उपचार खर्च

बागलुङको जैमिनी नगरपालिका–२ दमेककी तुलसी सापकोटा अर्बुद रोग पीडित छिन् । लामो समयदेखि उपचार गराइरहेकी उनलाई आर्थिक अभाव भएको छ । 

उपचारमा लाग्ने खर्च जुटाउन मध्यम परिवारको सदस्य भएकाले उनलाई कठिन छ । विभिन्न माध्यमबाट सहयोगको याचना गरिरहेका सापकोटालाई ‘हाम्रो जैमिनी’ नामक संस्थाले आर्थिक सहयोग गरेको छ ।


Advertisement

संस्थाले विदेशमा रहेका आफ्ना सदस्यले संकलन गरेर पठाएको रकममध्ये २५ हजार रुपैयाँ सापकोटाको उपचारका लागि उपलब्ध गराएको हो ।

जैमिनी– ५ बिनामारेका श्रवण सुनुवार मिर्गौला रोग पीडित छन् । उनका दुवै मिर्गाैलाले काम गर्न छाडेपछि उपचार चलिरहेको छ । आर्थिक अवस्था कमजोर भएका उनलाई पनि समूहले २५ हजार रुपैयाँ सहयोग गरेको छ ।


Advertisement

जैमिनी –७ जैदीकी कोपिला शर्मा पनि दुवै मिर्गाैलाले काम गर्न छाडेपछि लामो समयदेखि उपचाररत छिन् । उनको समेत आर्थिक अवस्था कमजोर रहेकाले समूहले २५ हजार रुपैयाँ उपचार खर्च सहयोग गरेको समूहका अध्यक्ष छायादत्त चापागाईंले जानकारी दिए ।

समूहले विपत् व्यवस्थापन अभियान नै चलाएको छ । अप्ठ्यारोमा परेकालाई आर्थिक र भौतिक दुवै सहयोग गर्ने ध्येयले अभियान सञ्चालन गरिएको चापागाईंले बताए । जैमिनी–६ अर्जेवाका अशक्त लालबहादुर नेपाली र बिनामारेका टुहुरा बालकलाई खाद्यान्न तथा नगद समेत समूहले उपलब्ध गराएको छ ।

‘जैमिनीका देशविदेशमा रहेका युवाको समूह बनाएर सामाजिक सेवाको अभियान चलाइरहेका छौंं,’ चापागाईंंले भने, ‘विदेशमा साथीहरु खाजा खर्च कटाएर जम्मा गर्नुहुन्छ, यहाँ हामी स्वयंसेवी भावले सहयोग गर्छाैं ।’

समूहले विदेश विभाग समेत बनाएको छ । एउटै समूहका सदस्य गाउँ र विदेशमा रहँदा सहयोगका लागि संकलित रकमको सदुपयोग हुने र आफ्नै उपस्थितिमा सहयोग गरेको अनुभूति हुने गरेको बेलायतमा रहेका समूहका सदस्य रत्नबहादुर क्षत्रीले बताए । बाढीपहिरोजस्ता विपत्तिमा परेका, प्राणघातक रोगग्रस्त र अतिविपन्नलाई समूहले सहयोग गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्