फिलिपिन्सको उत्तरी समर प्रान्तमा अवैध रूपमा गराइएको भालेजुधाइ रोक्नका लागि छापा मार्न गएका एक प्रहरी अधिकारीलाई कुुखुरोले मारेको छ ।
भालेको खुट्टामा राखिने गाफ भनिने तीखो बिलेड लागेपछि लेफ्टिनेन्ट क्रिस्टिन बोलोकको मृत्यु भएको हो ।
बिलेडले उनको देब्रे तिघ्रा काटेको थियो र त्यसक्रममा फेमोरल आर्टरी पनि काटियो । उनलाई तत्कालै अस्पताल लगियो तर त्यहाँ पुग्नुअगावै उनको मृत्यु भयो ।
कोरोना महामारीका बेलामा भालेजुधाइमा प्रतिबन्ध लगाइएको छ ।
महामारीअघि भालेजुधाइ अनुमतिप्राप्त स्थानमा मात्र आइतवार र बिदाका दिनमा र बढीमा तीन दिनसम्म चल्ने स्थानीय पर्वहरूमा गराउन दिइन्थ्यो, सरकारी समाचार संस्था द फिलिपिन न्युज एजेन्सीले बतायो ।
प्रान्तीय प्रहरी प्रमुख कर्नेल आर्नेल अपुदले यो दुर्भाग्यपूर्ण दुर्घटना भएको बताए । व्याखया गर्न नसकिने दुर्भाग्य भएको उनको भनाइ छ ।
तीनजनालाई पक्राउ गरिएको छ र सातवटा भाले पनि बरामद गरिएको छ । अनि दुईवटा बिलेडको सेट र ५५० फिलिपिन पेसो पनि बरामद गरिएको पीएनएले लेख्यो ।
तीन अन्य आरोपित फरार छन् ।
एजेन्सी