‘झूटो खबर फैलाउने’ ट्रम्पको वेबसाइट ह्याक

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको वेबसाइट ह्याक गरिएपछि त्यसलाई अफलाइन गरिएको छ । अहिले उक्त वेबसाइट पुनः सामान्य अवस्थामा आइसकेको छ ।

उक्त वेबसाइटका विभिन्न पेजहरूमा कब्जा गरिएको अनि राष्ट्रपतिले झूटो खबर फैलाएको तथा कोभिड–१९ महामारीको उत्पत्तिमा संलग्न रहेको भनी दाबी गरिएको छ । 


Advertisement

त्यसमा एफबीआई र जस्टिस डिपार्टमेन्टका लोगोहरू पनि देखिन्छन् । ह्याकरहरूले टुटेफुटेको अंग्रेजी र कुनै क्यापिटल लेटर नभएको घोषणा वेबसाइटमा राखेका थिए । 

‘ट्रम्पलाई राष्ट्रपतिका रूपमा अविश्वसनीय बनाउने प्रमाण हामीसँग छ,’ घोषणामा भनिएको छ । ‘उनले निर्वाचनमा विदेशीहरूसँग आपराधिक रूपमा सहभागी बनेर अनि सहकार्य गरेर गडबड गरेको प्रमाणित हुन्छ ।’


Advertisement

‘ट्रम्प प्रशासन कोरोनाभाइरसको उत्पत्तिका लागि जिम्मेवार रहेको गोप्य सूचना’ आफूहरूसँग रहेको पनि दाबी गरिएको छ । 

गोप्य सूचना पाउनका लागि मोनेरो भन्ने क्रिप्टोकरेन्सीका अकाउन्टका दुई लिंकहरू पनि पोस्ट गरिएका छन् । पैसा तिरेर मात्र गोप्य सूचना पाइने अन्यथा नपाइने भनी घोषणा गरिएको छ । 

वेबसाइटलाई तत्कालै अफलाइन गरिएको थियो । पछि त्यसलाई सामान्य अवस्थामा फर्काइयो । 

वेबसाइट पुनः सञ्चालनमा आएपछि ट्रम्पको निर्वाचन अभियानका सञ्चार निर्देशक टिम मर्टाउले ह्याक भएको स्वीकार गरे । तर कुनै पनि संवेदनशील डेटा उजागर नभएको किनकि त्यहाँ त्यस्तो सूचना नै राख्ने नगरिएको उनले बताए । अधिकारीहरूसँग मिलेर आक्रमण कहाँबाट भएको हो भन्ने विषयमा अनुसन्धान गरिरहेको उनले बताए । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्