कात्तिक २१, २०८०
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
सोमवार बिहान घण्टीको टिङरिङ–टिङरिङ आवाज कानमा परेपछि निद्राबाट ब्यूझिएँ । आँखा मिच्दै बेडबाट उठ्ने कोसिस गरें । घडीले बिहानीको ६ बजाइसकेको थियो ।
कोठाको ढोका सुस्तरी खोलेर बैठक कोठामा चियाएँ । पत्नी पूजापाठमा व्यस्त रहिछिन् । किनकि सोमवार दशैं थियो । मन तरङ्गित बन्यो । छुट्टै उत्साह र उमङ्ग सञ्चार भयो । आफूलाई नै बिर्सने प्रयास गरें ।
कोठाको ४ दिवालभित्र खुम्चिएर बस्ने, सुत्ने, उठ्ने गर्न थालेको ठीक २२ दिन भइसकेको छ । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमबाट बच्दाबच्दै ९ महिना जसोतसो गुजारिसकेको थिएँ । फ्रन्टलाइनमै रहेर आफ्नो दैनन्दिन क्रियाकलाप गर्नुपर्ने पेशा भएकाले जोखिम भने थियो । कोरोना संक्रमण, यसको जोखिम र नियन्त्रणका उपाय, संक्रमितकै अनुभव, यसबाट बच्ने उपाय, कोरोनाले निम्ताएको कहरका अलावा विभिन्न अवयवको रिपोर्टिङ आफू आबद्ध सञ्चारमाध्यममा नियमित रूपमा गर्दै आएको थिएँ ।
यत्तिकैमा गत असोज १९ गते कोरोना कहरले पर्यटन क्षेत्रमा पारेको प्रभाव विषयक अन्तक्र्रियामा सरिक भएँ । त्यहाँ सञ्चारमाध्यमका साथीलाई पनि सीमित संख्यामा आमन्त्रण गरिएको थियो । त्यहाँ उपस्थित एक सहकर्मीमा अर्को हप्ता कोभिड–१९ संक्रमण देखियो । उनीसँग त्यो कार्यक्रमका अलावा बीचमा पनि २ पल्टसम्म नजिकबाटै भेट भएको थियो । एकपटक दुवैले मास्क लगाएका थिएनौं । त्यो हाम्रो गल्ती थियो ।
कोरोना लक्षण देखा परेपछि उनले असोज २३ गते स्वाब दिए । २ दिनपछि असोज २५ गते पोजेटिभ रिपोर्ट आएपछि म पनि स्वतः कन्ट्याक्ट ट्रेसिङमा परें । बुझ्दै जाँदा असोज १९ गते पेशागत समूहसँगका सहकर्मीबीच एउटा कोठामा मिटिङ रहेछ । त्यहाँ सहभागीमध्ये १ जना पहिले नै संक्रमित भइसकेका रहेछन् ।
मास्क नलगाउने वा लगाएर पनि नाकमुख नछोपेका उनीसहित केही साथीहरू पनि एकपछि अर्को संक्रमित बने । घरकोठामै आइसोलेसन बसे । मास्क लगाएर स्वास्थ्य सचेतना अपनाउनेहरू भने संक्रमणबाट जोगिए ।
सम्भवतः मलाई पनि कोरोना सरेको हुनसक्ने आशंकाले विचलित बनें । उनले स्वाब दिएको असोज २३ गतेदेखि नै म पनि डेराकोठामा क्वारेन्टीन रहें । मैले पनि क्वारेन्टीन बसेको १ हप्तापछि असोज २९ गते स्वाब दिएँ । रिपोर्ट पर्खाइमा मिनेट–मिनेट गन्दै बसें । १–२ दिनभित्र रिपोर्ट आउने स्वास्थ्यकर्मीले जानकारी दिएका थिए तर आएन । २ दिन कट्यो, रिपोर्ट आएन । तेस्रो र चौथो दिन पनि आएन । मैले क्वारेन्टीन बसेकै अवस्थामा स्वास्थ्यजस्तो संवेदनशील विषयमा पनि २ दिनमा आउने भनिएको रिपोर्ट ४–४ दिनसम्म नआएपछि समाचार लेखें । केही तरंग छायो । सरोकारवाला निकाय प्रतिनिधिको ध्यानाकर्षण भयो । त्यसको भोलिपल्टै पाँचौ दिन अर्थात् कात्तिक ३ गते मात्र रिपोर्ट आयो ।
रिपोर्ट त आयो तर सोचेजस्तो रैनछ । रिपोर्ट पोजेटिभ आएको खबर उनै मित्रले पहिलोपल्ट सुनाए । त्यो नमिठो खबरले ल्यापटपमा समाचार लेख्दै गरेको बेला की–बोर्डमा मेरा औंला लरबराए । शिथिल बने । शुरूआतमा केही सोच्नै सकिनँ । सामान्य रुघाखोकीबाहेक कोरोनाको अन्य खासै लक्षण नदेखिएकाले रिपोर्ट नेगेटिभ आउला भन्ने आशामै थिए । भयो ठीक उल्टो । शुरूआतमा सो खबर झूटा होस् भन्ने ठानें । पत्याइनँ पनि । भेरिफाइड नभइकन बरु समाचारै नलेख्ने बानी पहिलेदेखिकै हो । पछि पीसीआर परीक्षण केन्द्रका प्राविधिकसँग बुझें । टेलिफोनमा ल्याब प्रमुखले मेरो नाम, उमेर र ठेगाना हुबहु मिलेको बताउँदै उही ‘पोजेटिभ’ बोलिन् ।
उनले भनिन्, ‘तपाईंलाई गाह्रो भए अस्पतालको आइसोलेसनमा बस्नुपर्छ । नभए घरमै सुरक्षित ढंगले बस्नुहोला । श्वास फेर्न गाह्रोसाह्रो भए सम्बन्धित वडाका प्रतिनिधिलाई खबर गर्नू । परिवारका सदस्यसँग टाढा बस्नू ।’
मैले केही जवाफ दिन सकिनँ । ‘हवस्’ मात्र भनें र फोन राखें । त्यतिबेला साँझको पौने ६ बजिसकेको थियो ।
कोरोना नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनसँगै नियमित रूपमा कोरोना रिपोर्टिङ गर्दै आएको म आफैं समाचार बन्ने भएँ । स्वास्थ्य निर्देशनालयले कात्तिक ३ गते साँझ जारी गरेको विज्ञप्तिमा कोरोना संक्रमितको सूचीमा मेरो पनि उमेर र ठेगाना सही मिलेर आयो । संक्रमित सूचीमा थपिएँ । उता संक्रमित संख्या १ बढ्दा मेरो मुटुको धड्कन पनि बढ्यो ।
अब के गर्ने ? सोच्नै सकिनँ । नजिकै रहेका २ छोराको अबोध अनुहार हेरें । घरमा क्वारेन्टीन बस्दादेखि नै मास्क नियमित लगाएको थिएँ । प्रतिकूल रिपोर्टले झनै सचेत बन्ने प्रयास गरें । छोराहरूबाट टाढा रहें । भगवान् उनीहरूलाई मबाट कोरोना नसरेको होस् भनी कामना गरें । गाउँमा रहेका बूढा बाआमा सम्झें । श्रीमती ड्यूटीमै थिइन् । उनी बैंकर हुन् । हत्तपत्त बिदा नमिल्ने, बिहानीको खाना खुवाएर छोराहरू र मलाई दिउँसोमा भोक लाग्दा खानेकुरा (विशेषगरी फलफूल, फास्टफूड खाना) अलग्गै राखेर जान्थिन् । यसो गर्न थालेको १० दिन बितिसकेको थियो । उनलाई समेत फोन गर्न सकिनँ । भाइबुहारी पनि एउटै शहरमै थिइन् । नमिठो खबर तत्काल भन्ने मन भएन । बेचैन मन बोकेर बेडमा पल्टिएँ । पछिल्लो हप्ता आफ्नो प्रत्यक्ष सम्पर्क आएका केही व्यक्तिलाई कन्ट्याक्ट टे«सिङमा परेको जानकारीसम्म दिएँ ।
... ...
दशैंको बेलामा बुनिएका आगामी योजना सर्सर्ती आए । मिडियाको लागि दशैंलाई ‘रिजर्भ’ राख्नुपर्ने स्टोरी लेख्नुपर्ने थियो । बीचमा विषय केलाउँदै थिएँ तर सबै चकनाचूर भए । क्वारेन्टीन बसाइँ अब आइसोलेसनमा स्तरोन्नति भयो ।
वर्षदिनमा एकपल्ट आउने विजयादशमीको लागि कोठाको अँध्यारो एउटा कुनामा घटनास्थापनामा पूजापाठ गरेर श्रीमतीले जमरा छरेकी थिइन् । बल्ल ३ दिन भएको रैछ । अब ती जमरा यसै ओइलाउने भए भन्ने लाग्यो । जन्मेदेखि गाउँमा दशैं मनाउँदै आएकोमा ३ वर्षयता फर्किन पाएको थिइनँ । परिस्थिति अनुकूल नहुँदा यसअघिका २ दशैं शहरमै बितेका थिए । बाआमा गाउँबाट कोसेली बोकेर हामीलाई टीका लगाउन शहरमै आउनुभएको थियो ।
यसपालि कोरोना कहरबीच स्वास्थ्य सचेतना अपनाएर गाडी रिभर्ज गरेरै भए पनि गाउँ जाने योजना पहिले नै बनिसकेको थियो । बिहान हिँड्यो भने साँझमा घर पुगिन्थ्यो । सार्वजनिक यातायातमा भीडभाड हुने भएकोले कोरोना संक्रमणको जोखिम थियो ।
अब भने कोरोना कोठाभित्र छिरिसकेपछि गाउँ जाने र दशैंमा रमाइलो गर्ने योजना सिसा फुटेसरी फुट्यो । त्यति मात्र कहाँ हो र ? जीवन नै रहला वा नरहला भन्ने डर–त्रासले झनै बेचैन बनायो । आफ्नो जिम्मेवारी महसूस गर्दै कोरोना जित्नुपर्छ भन्ने जबरजस्त आत्मविश्वास बटुल्ने खोज्थें ।
राति ७ बजेपछि मात्र बैंकर श्रीमती कोठामा भित्रिइन् । उमेर ८ र ३ वर्षका अबोध छोराहरू अर्को कोठामा खेलिरहेका थिएँ ।
म क्वारेन्टीन बस्दै गरेको कोठाको ढोका सुस्तरी खोलेर सोधिन् – ‘रिपोर्ट आयो ?’
अफिसबाट फर्केपछि उनले पछिल्ला ३ दिन लगातार यही प्रश्न सोध्दै आएकी थिइन् ।
अहिले चाहिँ ‘आयो’ भनें ।
उनले मेरो उदास अनुहारबाटै खुट्याइन् र सोधिन् –
‘के पोजेटिभ आयो र ?’
मैले स्वीकारोक्तिको भावमा मुन्टो हल्लाएँ । केही बोलिनँ ।
मलाई सान्त्वना दिँदै सुस्तरी बोलिन् – ‘केही हुँदैन । नआत्तिनू ।’
सुनेर सान्त्वना महसूस गरें ।
‘छोराहरूलाई केही नभए हुन्थ्यो,’ उनले छोराहरूप्रति दया दर्शाइन् ।
अब भने कोरोना संक्रमितको ‘ट्याग’ लागिसकेपछि झनै सचेतना अपनाउनुपर्ने भयो । शहरको डेराकोठामा कसरी जोगिने ? कठिन थियो । उस्तै सकस पनि । आफूले काम गर्ने बैंकका कर्मचारीलाई म संक्रमित भएको सूचना दिँदै आफू क्वारेन्टीन बस्नुपर्ने जानकारी दिइन् ।
अब भने व्यवस्थापन गर्न कठिन थियो । छोराहरू मेरो नजिक–नजिक पर्थे । उनले ३ वर्षको सानो छोरालाई भने खानपिन वा सुताउन नछोइ नहुने थियो । भौतिक दूरी कायम गर्न असम्भव थियो । जे त होला भन्ने भावमा उनीहरू आमा र छोराहरू सँगै एउटा कोठामा बसें । म पहिलेदेखि नै अर्को कोठामा थिएँ । डेराको तल्लो फ्ल्याटमा हामीहरू बस्थ्यौं । छिमेकका एक विद्यार्थी दशैंलाई घर फर्किसकेका थिए । माथिल्लो फ्ल्याटमा घरधनी बस्थे । पानी धारा, शौचालय र फ्ल्याट नै फरक भएपछि उनीहरूबाट सहजै टाढा हुन सकिन्थ्यो । त्यसैले पनि उनीहरूलाई म संक्रमित भएको जानकारी नदिने निधो गर्यौं र अझै टाढा रह्यौं । डेरामा कोरोना संक्रमित हुँदा नराम्रो सोच्लान् भन्ने डर थियो पनि ।
म संक्रमित भएको जानकारीको २ दिनपछि कात्तिक ५ गतेमा परिवारका सदस्यको पीसीआर भयो । रिपोर्ट २ दिनपछि नै आयो । भाग्यवश रिपोर्ट नेगेटिभ थियो ।
यो खबरले मेरो आधा खुशी फर्कियो । भगवान्ले हाम्रो पुकार सुनेछन् क्यारे, सँगै एउटै कोठामा रहने बस्नेहरूको रिपोर्टमा कोरोना संक्रमण नभएको पाएपछि दशैं अलि–अलि आएजस्तो भो । म चाहिँ १४ दिन आइसोलेसन बस्नुपर्ने भयो ।
दशैंको पहलपहल भित्रिसकेको थियो । ठीक १ हप्तापछि कात्तिक १० गते दशैंको टीका थियो । मानिसहरू शहर छाडेर गाउँ फर्किंदै थिए । विगतमा जस्तो गाउँ फर्किनेको लर्को नरहे पनि यसपालि मास्क लगाएर कोरोनाबाट जोगिँदै मानिसहरू शहर छाडेको दृश्य विभिन्न अनलाइनबाट थाहा पाउँथें । किनकि एक मात्र साथी मोबाइल थियो ।
फेसबूक, म्यासेन्जरमा कमिलाका ताँतीझैं ‘गेट वेल सुन’को कामना आइरहेका थिए । सकेसम्म धन्यवादसहित जवाफ फर्काउने कोसिस गर्थें । आफू कोरोना संक्रमित भएको खबर सार्वजनिक रूपमा नगराए पनि एकबाट अर्कोले क्रमशः थाहा पाएछन् । मोबाइलको घन्टी तारन्तार बज्न थालेपछि कतिपल्ट स्वीच अफ नै गर्थें र घण्टौं सुत्थें ।
बिहान ६ बजेसम्म उठ्यो, गुर्जोपानी आयो, केही समय योगा र ध्यान बस्यो । मनतातो पानीमा कागती र मह मिलाएर खायो । हल्का खाना खायो । दिनको २ पटकसम्म वाफ लियो, एकछिन सूर्यको किरणमा ज्यान न्यानो बनायो । राति सुत्ने बेलामा बेसारपानी खायो । कोरोना संक्रमित बनेपछि हल्का रुघाखोकी र क्षणक्षणमा ज्वरो आउँथ्यो ।
... ...
नजिकका साथीभाइले थाहा पाएपनि गाउँमा बाआमा म संक्रमित भएकोबारे अनभिज्ञ हुनुहुन्थ्यो । उमेरले ७० वर्ष काटिसक्नुभएका बुवा गत वर्ष ‘हर्ट अट्याक’ शिकार हुनुभएको थियो । चिकित्सकको सल्लाहमा केही महिना फिजियोथेरापीपछि अहिले केही निको छ । आमालाई घुँडा दुख्ने समस्या पहिलेदेखि नै हो । यसपालि नाति–नातिना लिएर छोराहरू टीका थाप्न आउलान् कि भन्ने आश उहाँहरूमा थियो । तर अब हामीहरू गाउँ फर्किने अवस्था रहेन । मलाई एक्लै छाडेर श्रीमती र छोराहरू पनि जान पाएनन् । उनीहरूको दशैं कोठामै खुम्चियो । भाइबुहारी सप्तमीको दिन मोटरसाइकल चढेर गाउँ गए । मैले नै उनीहरूलाई पठाए । उनीहरू गएपछि बाआमालाई केही सान्त्वना मिल्यो होला भन्ने अनुभूत गरें ।
मेरो भने बाआमाको हातको टीका थाप्न नपाएको पहिलो दशैं दर्र्ज हुनेवाला थियो । उमेरले साढे ३ दशक नाघिसक्दा कहिल्यै ब्रेक नभएकोमा अहिले भने रेकर्ड ब्रेक हुने पिरले नराम्ररी मन निमोठ्यो ।
... ...
दशैंको दिन भने आकाश पूरै खुलेको थियो । बिहानी सूर्यका किरण पूर्वबाट लालित्य छर्दै चम्किलो बन्दै आए । भित्ताको टेलिभिजनले दशैं धून बजायो । छिनछिनमा दशैंका गीत बज्न थाले । नारायण रायमाझीको स्वरमा नयाँ भर्सनको गीत ‘नमुछे आमा दहीमा टीका, नछरे जमरा ...’ले सिधैं गाउँ पुर्यायो । समुद्रपार रहेकाहरू पनि फर्किने चाडवाडमा म स्वदेशमा रहेर पनि जान पाइनँ । अहँ यसपालि बाआमा तथा मान्यजनको हातको टीका र आशीर्वाद लिनु त कता हो कता घरकोठामै भएका श्रीमती र छोराहरूको निधारमा आशीर्वादसहित टीकाजमरा लगाउन सकिनँ ।
टीकाको साइत १०ः१९ बज्नुअभावै नुहाइधुवाइ गरी श्रीमतीले घटनास्थापनाका दिन स्थापना गरिएको घडाबाट जल अभिषेक गरिन् । छोराहरूलाई सुकिलो लुगामा सजाइन् । उनले टीकाजमरा लिएर छोराहरूलाई अघिल्तिर बसाइन् । मुखमा मास्क लगाएको मैले कोठाको ढोका हल्का खोलेर सो दृश्य टाढाबाट हेरिरहें । उनले टीका लगाइदिँदा मनले आशीर्वचन बोल्यो । उनीहरूले हल्काफुल्का भए पनि दशैं मान्न पाएकोमा केही सन्तोष बनें ।
अब श्रीमतीलाई टीका लगाउने मानिस पाइएन । मजस्तै उनको निधार पनि खाली हुने भयो । गाउँमा बाआमालाई म्यासेन्जरबाट कल गर्ने कुरा भयो । भाइको मोबाइलमा बाआमा हातमा टीकाजमरा लिएको थालीमा देखिनुभयो । भर्चुअल माध्यमबाटै आशीर्वाद दिनुभयो । दराजको ठूलो सिसा अगाडि उभिएर श्रीमती आफैंले निधारमा रातो टीका पोतिन् र एउटा पातमा मेरो नजिक टीकाजमरा फुत्त बढाइदिइन् ।
शुरूमा मैले आफैंले टीका लगाउन सकिनँ । दशैंमा यस्तो कहिल्यै गर्नुपरेको थिएन । बाआमाको विवाहको १८ वर्षपछि जन्मेको म उहाँहरूको आँखामा सधैं प्यारो थिएँ । निधार खाली देखेपछि बाआमाले दुःख मान्नुहुन्छ कि भनी जसोतसो टीका लगाउने प्रयास गरें र बाआमासँग भिडियो कलमा खुशीसाथ दशैं मनाएको र टीका लगाएको भन्दै आफू स्वस्थ रहेको अभिनय गरें । ताकि उहाँहरूलाई म कोरोना संक्रमित भएको थाहा नहोस् । दशैंको उमंगमा आँसु नखसोस् । थप चोटपिर नपरोस् ।
(वैयक्तिक गोपनीयताको सम्मान गर्दै कोरोना संक्रमित लेखकको परिचय गोप्य राखिएको छ ।)
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...