दशैँपछि खुलेको बजारमा सुनको मूल्य १ हजार रुपैयाँले घटेको छ ।
बिहीवार छापावाल सुन प्रति तोला ९४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
दशैं शुरू भएसँगै बन्द सुनचाँदी बजार आजबाट खुलेको हो ।
फूलपातीको अघिल्लो दिन ६ गते सुनको मूल्य प्रति तोला ९५ हजार ७ सय रुपैयाँ कायम रहेको थियो । अहिले भने १ हजार रुपैयाँले घट्दै सुनको मूल्य ९४ हजार ७ सय रुपैयाँ प्रति तोलामा झरेको हो ।
यस दिन तेजाबी सुनको मूल्य ९४ हजार २ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने यस्तो सुन प्रति तोला ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
बिहीवार चाँदी प्रति तोला १ हजार १ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिनको तुलनामा यस दिन चाँदीको मूल्य प्रति तोला ५० रुपैयाँले घटेको हो । अघिल्लो दिन चाँदी प्रति तोला १ हजार २ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।
लोकान्तर संवाददाता