२ नम्बर प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले शहीद कामेश्वर कुशेश्वरको नाममा जनकपुरमा निर्माण गराइरहेको स्मृति भवनको काममा अनियमितता भएको छ ।
२४ वटा पिलर र जगको काम मात्रै गर्दा उपभोक्ता समितिलाई २५ लाख रुपैयाँ भुक्तानी दिइएको छ ।
गत आर्थिक वर्ष २०७६/०७७ मा मन्त्रालयले जनकपुरधाम उपमहानगरपालिका–४ स्थित मण्डल (केवट) आश्रमको कम्पाउन्डमा भवन निर्माणका लागि २५ लाख ५३ हजार रुपैयाँ बजेट छुटयाएको थियो । मन्त्रालय मातहतको शहरी विकास तथा भवन कार्यालय जनकपुरधाममार्फत निर्माण कार्य गराइएको थियो ।
पवनकुमार मण्डलको अध्यक्षतामा उपभोक्ता समिति गठन भएर भवन निर्माणका लागि २०७७ जेठ ८ गते सम्झौता भएको थियो । जग खन्ने, प्लीन्थ लेभेलसम्म इँटाको गारो लगाउने काम, फाउन्डेसन बिमको काम, २४ वटा पिल्लर ढलानसहित २८६.१२ वर्गमिटर क्षेत्रफलको काम १ महिनाभित्र अर्थात् असार ८ गतेसम्म सम्पन्न गर्ने गरी सम्झौता गरिएको थियो ।
सम्झौता भएलगत्तै रनिङ बिल १८ लाख ५० हजार ६१६ रुपैयाँ शुरूमै कार्यालयले भुक्तानी गरेको थियो । त्यसपछि कार्यसम्पन्नताको मूल्यांकनसहित ४ लाख ८४ हजार ७३६ रुपैयाँ गरेर २३ लाख ३५ हजार ३५२ रुपैयाँ भुक्तानी गरिएको कार्यालयका प्रमुख विनोदकुमार यादवले बताए । उनका अनुसार जनसहभागिता समेतको रकम जोडेर कूल २५ लाख रुपैयाँ भुक्तानी गरिएको छ ।
तर काम गर्दा गुणस्तरहीन सामग्री प्रयोग भएको स्थानीयको गुनासो छ । ‘१० लाखको पनि काम भएको छैन तर २५ लाख भुक्तानी गरिएको छ । गुनासो लिएर पटक–पटक कार्यालय समक्ष जाँदा पनि कार्यालय प्रमुख विनोदकुमार यादवले हाम्रो कुरा सुनेनन्,’ स्थानीय प्रकाश मण्डलले लोकान्तरसँग भने, ‘हतार–हतारमा २ नम्बरी इँटा प्रयोग गरिएको भए पनि प्राविधिक टोलीले मूल्यांकन घटाएर भुक्तानी गर्नुको साटो प्राविधिक इन्जिनीयर अमितकुमार साहले कार्यसम्पन्नता सहितको प्राविधिक मूल्यांकन गरेर सबै रकम भुक्तानी गरिदिए ।’
योजनाको लागत अनुमान गर्दा नै आर्थिक चलखेलमा कार्यालय प्रमुख यादवले बढी नै रकम अनुमान गरेर भ्रष्टाचार गरेको उनले आरोप लगाए । पछि प्राविधिक मूल्यांकन गर्दा समेत वास्तविक कामभन्दा बढी मूल्यांकन गरेर भुक्तानी गरिदिएको उनी बताउँछन् ।
उपभोक्ता समिति गठन गरिएको भए पनि समितिले ठेक्का लगाएर काम गराएका थिए । मण्डल आश्रमका पुजारी दरबारी मण्डलले पनि समितिका अध्यक्ष मण्डलले ठेक्का लगाएको बताए । १४ वटा कोठा सहितको धर्मशाला निर्माण भइरहेको कामको बालाबाखर कुम्भकर्णका कुशेश्वर यादवलाई ठेक्का दिएर बर्खाको बेला काम गराएको पुजारी मण्डलले लोकान्तरलाई बताए ।
निर्माण कार्यमा भ्रष्टाचार भएपछि अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोग बर्दिबासले शहरी विकास तथा भवन कार्यालयलाई पत्र काटेर राय माग गरेको छ । २०७७ साउन २३ गते अख्तियारले कार्यालयलाई राय प्रतिक्रियासहित प्रमाणित कागजात उपलब्ध गराउन पत्र पठाएको छ । ‘भवन निर्माण योजनाको लागि प्रदेश स्तरीय बजेटबाट २५ लाख रुपैयाँ रकम विनियोजन भएकोमा उपभोक्ता समितिले सत्यतथ्य सार्वजनिक नै नगरी ९ लाख ६३ हजार १०८ रुपैयाँ मात्र खर्च भएको रकमलाई २५ लाख रकम खर्च देखाई १५ लाख ३६ हजार ८४२ रुपैयाँ हिनामीना गरेको उजुरी यस कार्यालयमा दर्ता हुन आएको छ,’ आयोगका शाखा अधिकृत नित्यराज भट्टराईले लेखेको पत्रमा उल्लेख छ । सो सम्बन्धमा सत्यतथ्य बुझी पछिसम्म फरक नपर्ने गरी स्थलगत निरीक्षण गरी छानबिन प्रतिवेदन रायसहित सम्बन्धित कागजातहरू पठाउन भनेको छ ।
भवन निर्माणको काममा सम्झौता अनुसार नै सबै कामहरू भएको तथा सोही अनुसार भुक्तानी गरिएको कार्यालयका कार्यालय प्रमुख यादवले दाबी गरे ।
अजय अनुरागी
अजय अनुरागी लोकान्तरका लागि खोज, राजनीति र समसामयिक विषयवस्तुमा कलम चलाउँछन् ।