किसानको जुक्ति : बाँदर तर्साउन बाघको तस्बिर !

तस्वीर सौजन्य : कान्तिपुर दैनिक

हरिया रूखमा लटरम्म सुन्तला र रुद्राक्ष फलिरहेको छ । फराकिलो बगैंचालाई बेरबार गरिएको छ ।

बगैंचाको चारछेउ चारवटा ठूला प्लेकार्ड र फ्लेक्समा आक्रामक बाघको फोटो राखिएको छ । मेलम्ची नगरपालिका–५ सिन्धुकोट पुराना गाउँस्थित चिरञ्जीवी सिग्देलको बगैंचामा पुग्ने जोकोही जिज्ञासा राख्छन्– बगैंचामा बाघको तस्बिर किन ? ‘बाँदर धपाउन यसरी चारैतिर बाघको तस्बिर राखें, त्यसपछि बादर तर्सिएर आउन छाड्यो,’ सिग्देल सोध्नेलाई यही वाक्य दोहोर्‍याइरहन्छन् ।


Advertisement

बाली होस् या फलफूल, तरकारी या अन्नपात, कहिल्यै घरमा पूरा भित्रिन पाउँदैनथ्यो । दर्जनौंको संख्यामा बाँदरको हूल पसेर बाली मासिदिन्थे, खाइदिन्थे, नउम्रिँदै उखेलेर फालिदिन्थे । हुँदाहुँदा बाँदरले स्थानीयलाई समेत सास्ती दिन थालेपछि सिन्धुकोटपारि भोटेचौरका कृषकले गत वर्ष भएका सबै रूख मासिदिए ।

बाघ आएको बेला बाँदर आउँदैन भन्ने सुनेका सिग्देललाई बाँदरलाई लखेट्न ढुंगामुढा गर्नुभन्दा मनोवैज्ञानिक त्रास उत्पन्न गर्ने जुक्ति फुर्‍यो । ‘बाघको फोटो प्रिन्ट गरेर बगैंचा वरिपरि टाँसी दिएँ । बाँदरको हूल दुई पटकसम्म बगैंचा छेउसम्म आए पनि बाघको तस्बिरलाई परैबाट हेरेर फर्कियो । त्यसपछि बाँदर यहाँ आउँदै आएनन् । दौडादौड गर्नुपरेन,’ सिग्देलले भने । सात रोपनी क्षेत्रफलमा फलफूल लगाएका उनले बाँदरले बाघको तस्बिरलाई साँच्चिकै सम्झिएर नआएको हुन सक्ने अनुमान गरे ।


Advertisement

मनग्गे कोदो उत्पादन हुने यस क्षेत्रमा यसअघि पनि बाँदर आतंक थियो । अहिले पनि गाउँमा बाँदरको सास्ती उस्तै छ । तर, सिग्देलको बगैंचामा भने बाघको तस्बिरका कारण बाँदरको बदमासी शून्य भएको छ । अहिले यही तरिकालाई अन्य स्थानीयले सिको गर्न थालेका छन् । सिग्देलले कोदो खेती छोडेर रुदाक्ष, नासपाती, एभोकाडो, कफी, पाउलिनओजस्ता फलफूलका बिरुवा लगाएका छन् ।

यसअघि मेलम्ची नगरपालिकाले बाँदरबाट बाली सखाप, मानिसलाई नै आक्रमण गरेको जस्ता व्यापक गुनासो आएपछि नियन्त्रण गर्न ५ लाख रुपैयाँ बजेट छुट्याउँदै ‘बाँदर अनुसन्धान तथा मानवसँग द्वन्द्व परियोजना’ थालेको थियो ।

नगरका भोटेचौर, हैबुङ, थकनी, दुवाचौर, सिन्धुकोटमा बाँदरले व्यापक वितण्डा मच्चाउने गरेको छ । बाँदर रोक्न निकालिएको नयाँ तरिका एकदमै प्रभावकारी देखिएपछि सबैलाई यसलाई अपनाउन आग्रह गरिएको मेलम्ची–५ का अध्यक्ष सुदर्शन लुइँटेलले बताए । ‘यसलाई कसरी अझै वैज्ञानिक बनाउने भन्नेबारे छलफल गर्दै छौं, यो एकदमै नयाँ र प्रभावकारी तरिका सावित भएको छ,’ उनले भने । कान्तिपुर दैनिकमा अनिश तिवारीले खबर लेखेका छन् । 

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्