असोज ६, २०८०
सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...
ललिताघाट तथा ललितादेवी मन्दिर खासै नौला होइनन्, थिएनन् मेरा निम्ति । सन् १९७६ देखि १९८३ सम्म वनारसतिर बरालिँदा दैनिकजसो देखेका, घुमेका स्थान हुन् यी ।
यी नेपालकी ललितत्रिपुरासुन्दरी नामक महारानीद्वारा निर्मित सम्पदा हुन् भन्ने पनि सुनेको हुँ त्यतिबेलै । तर उनी को थिइन् र किन त्यहाँ पुगेर यी कार्य गरिन् भन्नेबारे भने केही थाहा थिएन ।
जब स्वदेश फर्केर लोक सेवा परीक्षा दिने क्रममा नेपालको इतिहास पढ्न थालियो, तब उनी तत्कालीन राजा रणबहादुर शाहकी कान्छा महारानी रहिछन्, जसले लामो समय नाबालक राजाहरूको नायवी भएर राज्य सञ्चालन गरेकी थिइन् भन्नेसम्म जानकारी पाएँ । लोक सेवाका सामान्य ज्ञानका लागि यति नै काफी भएकाले यसबाहेक अन्य कुरामा न मैले चासो दिएको थिएँ, न कसैले बताएका नै थिए ।
हालै नइ प्रकाशनको सौजन्यमा नरेन्द्रराज प्रसाईंद्वारा लिखित उनको जीवनी पढ्ने अवसर पाएँ । त्यसपछि पो थाहा भयो उनी कुशल प्रशासक मात्र नभई प्रथम नारी स्रष्टा र आदि कवयित्री पनि रहिछन् भन्ने कुरा । यसबारे आभारी छु नइ प्रकाशनप्रति ।
इतिहासको गर्तमा झण्डै समाधिस्थ भइसकेको यति ठूलो ऐतिहासिक तथ्यलाई प्रकाशमा ल्याएर नेपाल र नेपालीलाई मात्र नभई नेपालको इतिहासलाई नै निकै ठूलो गुन लगाएको छ नइ प्रकाशनले । यसका लागि नइ दम्पतीको जति नै प्रशंसा गरे पनि कमै हुन्छ भन्ने लाग्छ मलाई । किनकि ललितत्रिपुरसुन्दरीबारे थप जानकारी प्राप्त गर्न निकै ठूलो मेहनत, खोज, अनुसन्धान र संघर्ष गरेका रहेछन् उनीहरूले । खोज अनुसन्धान गर्दै वनारससम्म पुग्दा उनीहरूले ठूलै जोखिम उठाउनुपरेको कुरा जीवनी पढ्ने पाठकले स्वतः अनुभव गर्न सक्छन् ।
राम भक्तिधाराका स्रष्टा भानुभक्त (संवत १८७१–१९२५) आदि कवि भए भने उनीभन्दा केही अघि (१८५०–१८८८) का नारी स्रष्टा ललितत्रिपुरसुन्दरी आदि कवयित्री हुन नसक्ने प्रश्नै रहन्न । तथापि आश्चर्य नै मान्नुपर्छ यसबारे किन कसैको ध्यान पुगेन अहिलेसम्म । सायद पितृसत्तात्मक सोचको मारमा पो परिन् कि उनी पनि । आशा गरौं, यो अध्याय चाडै नै पूरा हुनेछ अब । कारण बल नइ दम्पतीको हातमा पुगेको छ अहिले । सितिमिति विषय उठान नगर्ने र गरेपछि फत्ते नगरी नछाड्ने नइको विगत छ ।
राष्ट्रकवि स्व. माधव घिमिरेबारे यस्तै भएको छ । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीबारे यस्तै भएको छ, जुन कुरा उहाँहरू आफैंले प्रस्ट पारिसक्नुभएको छ पहिले नै ।
नेपाली साहित्यका अथक साधक नरेन्द्रराज प्रसाईकृत प्रथम नारी स्रष्टा ललितत्रिपुरसुन्दरीको जीवनीले उनको जीवनबारे धेरै अनुद्घाटित पक्ष प्रकाशमा ल्याएको छ । इतिहासमा कमै यस्ता बहुमुखी प्रतिभाहरू जन्मने गर्छन्, जसले देशभक्तिको बलिबेदीमा जीवन उत्सर्ग गरी दिगन्तकारी पहिचान छाड्ने गरेका हुन्छन् । ललितत्रिपुरसुन्दरी इतिहासका यस्तै प्रतिभामा पर्छिन् । लामो समयसम्म २ वटा नाबालक राजाहरूको नायवी चलाउने ललितत्रिपुरसुन्दरी कुशल प्रकाशक मात्र होइन, कवि, लेखक, सुचिन्तक र समाजसेवी आदि सबै किसिमका गुणले विभूषित देखिन्छिन् ।
यति सानो आलेखमा उनका सबै पक्ष केलाउन सकिन्न, सम्भव हुँदा पनि हुन्न । त्यसैले उनको जीवनको आध्यात्मिक पक्षलाई मात्र यथामति केलाउने प्रयास गरेको छु यहाँ ।
नेपाली साहित्यको श्रीगणेश भक्ति धाराबाट शुरू भएको छ । यसमा उनीभन्दा केही पछिका भानुभक्तले रामभक्तिको धारलाई लिएका छन् भने ललितत्रिपुरसुन्दरीले पनि भगवद् भक्तिकै धार समाएकी छन् । रामायण र महाभारत इतिहासका त्यस्ता बेजोड आध्यात्मिक महाकाव्य हुन्, जसले क्रमशः करुण रस र वीर रसलाई प्रधान मानेका छन् ।
प्रसङ्ग अनुसार शृंगार, हाँस्य, रौद्र, भयानक र शान्त आदि अन्य रसका पनि प्रयोग भएका छन् यहाँ । तथापि मूल धार क्रमशः करुण र वीर रस नै हुन् यी २ काव्यका । यीमध्ये भानुभक्तले करुण रस प्रधान रामायणलाई आधार मानी नेपाली रामायण लेखेका छन् भने ललितत्रिपुरसुन्दरीले वीर रस प्रधान महाभारतको शान्ति–अनुशासन पर्वलाई आधार मानी राजधर्म नामक विशद ग्रन्थ तयार पारेकी छन्, जहाँ भक्तिपरक कविताहरू प्रस्तुत गरी आफ्ना सुन्दर कवित्व शैलीको परिचय समेत दिएकी छन् उनले ।
आवश्यकता अनुसार जहाँ जसरी प्रस्तुत भएकी भए पनि वास्तविकरूपमा आध्यात्मिक व्यक्तित्व हुन् ललितत्रिपुरसुन्दरी । चाहे प्रशासनिक पक्षको कुरा गरौं, चाहे साहित्यिक पक्षको उनको जीवन आध्यात्मिक भावसागरमा चुर्लुम्म डुबेको देखिन्छ । वनारसमा हुँदा आफ्नै भाइ शेरबहादुरद्वारा हत्या गरिएका पतिदेव रणबहादुर शाहको मुक्तिका लागि भनेर ललिता घाट, ललिता देवी मन्दिर, विश्वनाथ मन्दिर नजिकको पशुपतिनाथको मन्दिर जस्ता केही मठमन्दिर निर्माण, मर्मतसम्भार तथा जीणोद्धार गरेकी थिइन् उनले ।
यिनको देखभालका लागि आवश्यक कर्मचारी र तिनको तलब भत्ताको समेत व्यवस्थापन गरी नेपाल फर्केकी थिइन् उनी । लामो समयसम्म उनकै व्यवस्थाले काम गर्दै आएको देखिन्छ त्यहाँ । तर मुलुकमा बहुदलीय शासन आएपछि भने लथालिङ्ग हुन पुगेको कुरा उनकै जीवनीले प्रस्ट पार्छ । देशमा लोकतन्त्र र गणतन्त्र ल्याएर केकेन गर्यौं भन्ने गर्छन् राजनीतिका पण्डितहरू । तर, यथार्थमा पुर्खाको धरोहरकै संरक्षण गर्न सकिरहेका छैनन् भने उनीहरूका पण्डित्याइलाई के भन्ने ? प्रश्न मननीय छ ।
जे होस् नेपाल फर्केपछि पनि आफ्नो ध्यान यस्तै पुण्य कार्यमै लगाएकी थिइन् ललितत्रिपुरसुन्दरीले । यस क्रममा थुप्रै मठमन्दिर निर्माण तथा जीर्णोद्धार भएका छन् उनीबाट । काठमाडौं र ललितपुरलाई जोड्ने बागमतीको पुल तथा काठमाडौंको मुटुमा रहेको धराहरादेखि सुन्धारा निर्माणमा समेत सक्रियता देखिन्छ उनको । यो छुट्टै कुरा हो कि विक्रम संवत् २०७२ सालको भूकम्ममा भत्केको धरहरा पुनर्निर्माणको चरणमा छ हाल । नजिकै कर्मचारी सञ्चय कोषले नयाँ भवन बनाएपछि बेकामे भएको छ सुन्धारा पनि । विभिन्न देवीदेवताका स्तोत्र रचना गरी भजनकीर्तनको परम्परा चलाएकी ललितत्रिपुरसुन्दरीले २५ वर्षसम्म छोरा गीर्वाणविक्रम र नाति राजेन्द्रविक्रमको नायवी भएर राज्य शासन चलाउँदा जे–जे देखिन्, भोगिन् त्यसलाई मूर्तरूप दिने प्रयास गर्दैै गइन् ।
साहित्यिक क्षेत्रको कुरा गर्दा सर्वप्रथम महाभारत जस्तो विशिष्ट आध्यात्मिक ग्रन्थ चुनेकी छन् उनले । चाहेको भए अरु पनि चुन्न सक्थिन् सायद । राजधर्मको सन्देश दिने ग्रन्थ संस्कृत साहित्यका भण्डारमा कति छन् कति तर उनले महाभारत नै किन रोजिन् ? किनकि गीता ज्ञान गर्भित महाभारत जस्तो बेजोड आध्यात्मिक ग्रन्थ अर्को देखिनन्, थिएन पनि वास्तवमै । वस्तुतः महाभारत यस्तो ग्रन्थ हो, जसको गर्भबाट भगवान् कृष्णका यावत कथा उदय भएका छन् । महाभारतबारे स्वयं व्यासजीले नै उद्घोष गरेका छन् ‘यदिहास्ति नतन्यत्र यन्नेहास्ति नतत्क्वचित्’ अर्थात् जुन कुरा यहाँ उल्लेख भएका छन्, यी कुरा अन्यत्र उल्लेख छैनन् र जुन कुरा यहाँ उल्लेख भएका छैनन्, त्यस्तो कुराको उल्लेख पनि अन्त कतै भएका छैनन् भनेर ।
यसबाहेक अर्को पनि महत्त्वपूर्ण पक्ष के हो भने महाभारतको पनि शान्ति–अनुशासन पर्वलाई नै लिएकी छन् उनले । के राजधर्मको उल्लेख अन्य पर्वमा भएको छैन र ? पक्कै भएको छ । तर त्यहाँ राजधर्मको साथमा राजनीति, कूटनीति, कूटीलनीति, छल, कपट, धुर्त्याइँ आदि अन्य प्रसङ्गले पनि स्थान पाएका छन् यथावसर ।
जहाँसम्म शान्ति–अनुशासन पर्वको कुरा छ, त्यसको भने समग्र विषयवस्तु शान्ति र अनुशासनसित सम्बन्धित छ विशुद्ध रूपमा । शान्त हुनु र अनुशासित हुनु भनेकै आध्यात्मिक हुनु हो । त्यसैले उनले नजानेर यस पर्वलाई लिएकी पनि होइनन् र संयोगवश चुनिन पुगेको पनि होइन । बरु बढी नै जानेर, बुझेर नै यस पर्वलाई चुनेकी हुन् भन्नु कदाचित बढी हुने छैन ।
तेस्रो कुरा उनले जीवनमा जेजति कविता लेखेकी छन् प्रायः सबै अध्यात्मपरक नै छन् । उनी त्यस्तो प्रशासक हुन्, जसले रजस्वला हुनु पूर्व नै वैधव्यजीवनको पीडा भोग्न बाध्य हुनुपरेको छ । उनले बालक राजाहरूको नायवी भएर जीवन व्यतीत गर्दा जीवन र जगतलाई जसरी बुझिन्, त्यसैलाई लिपिबद्ध गर्दैै गइन् । यसैले नै उनलाई आध्यात्मिक बाटोमा डोर्यायो र आजीवन आबद्ध हुन पुगिन् यसैमा ।
आज ललितत्रिपुरासुन्दरीको भौतिक शरीर छैन तर उनको नाम भने कहिल्यै नअस्ताउने तारा बनेर चम्किरहेको छ नेपाली साहित्यको आकाशमा । मानिसको जन्म त धेरै नै हुन्छ । ठूलाठूला पदमा पुगेका हुन्छन् पनि । तर पछिसम्म त्यही व्यक्ति जीवित रहन्छ, जसले अध्यात्म र साहित्यको बाटो रोजेको हुन्छ । एउटा ऐतिहासिक पात्र हुन् ललितत्रिपुरसुन्दरी । अस्तु अहिलेलाई यति नै ।
(सरस्वती सदन । टोखा–६ धापासी, काठमाडौं ।)
[email protected]
सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...
विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...