प्रचण्डको बुई चढेर शक्ति आर्जन गरेकाहरू उनलाई अप्ठ्यारो पर्दा किन चुपचाप ?

दिलनिशानी मगर
दिलनिशानी मगर

समसामयिक विषयमा कलम चलाउने दिलनिशानी मगर लोकान्तरका नियमित स्तम्भकार हुन् । 

पछिल्लो एक दशकयता प्रचण्डको आसपासमा रहेर पूर्व माओवादीका केही अवसरवादी नेताहरूले सत्ता र शक्तिमा निरन्तर पहुँच सुनिश्चित गरे ।

प्रचण्डसँग बार्गेनिङ गरेर, प्रचण्डलाई बाहिर-बाहिर  ठिक्क पारेर, यस्तो नगरे उस्तो गर्छु भनी घुर्क्याएर राज्यका अनेकौं सेवा सुविधाहरू लिए । पटक - पटक लाभको पद प्राप्त गरे । आम कार्यकर्ताहरूले त्यस प्रकारको नवसामन्तको झलक दिने दृश्य टाढैबाट हेरेर चित्त बुझाउने बाहेक अरू कुनै उपाय नै थिएन । 


Advertisement

सत्तामा रहँदा आर्जन गरेको धनले  तिनका छोराछोरी अहिले कुन देशमा पढिरहेका छन्, घर कता किनेको छन्, तिनका नातेदारहरू कति महंगो बुलेट मोटर साइकल चढेर हिँड्छन् , तिनका भाइभतिजाहरूले कहाँ–कहाँ नियुक्ति पाएका छन्, त्यो कुराको एकदिन पर्दाफास हुने नै छ ।  धेरै उम्लियो भने पोखिन्छ भन्छन्,  ढिलोचाँडो तिनको पनि पलायन निश्चित छ।

तिनको तरित्र कस्तो देखियो भने प्रचण्ड शक्ति  र सत्तामा हुँदा मसक्कै पारेर प्रचण्डलाई उकास्ने, तर प्रचण्ड तल पर्ने देखियो भने अचानक गुप्तवास जस्तो एकदम ध्यानमग्न हुने । हिजोआज प्रचण्डलाई चारैतिर प्रहार गरिएको छ । तर रक्षाकवच बन्नुपर्नेमा ती अवसरवादीहरू ओशोको नक्कल गरेर कतै ध्यानमग्न छन् । बरू प्रचण्डको तर्फबाट एक गेडा चामल पनि नपाएकाहरू 'नेतृत्वको रक्षा' गर्नुपर्छ भन्दै सकीनसकी सामाजिक सञ्जालमा भिडिरहेका छन् ।


Advertisement

मन्त्रीको सपनाबाहेक अरू केही नदेख्ने, सरुवा, बढुवा, नियुक्ति, सिफारिश, ठेक्कापट्टा मिलाएर धन आर्जन गर्ने, शपथ खान मात्रै हतारो हुने, नातागोताको खुशीका लागि राज्य शक्तिको दुरूपयोग गर्ने ती अवसरवादी तत्वहरू आफूले मात्रै जनयुद्ध लडेको भ्रम पाल्छन् । र त्यसको सावाँ, ब्याज र ब्याजको स्याज पनि उठाइसकेका छन् । अब ती सम्भ्रान्त भैसके । यसरी सम्भ्रान्त भैसकेपछि आफूले केही पनि नगर्ने तर प्रचण्डले खेतको धान टिपेर ल्याएर भात पकाएर मलाई खुवाउनुपर्छ भन्ने मानसिकता बोकेका केही पूर्व माओवादी नेताहरू देख्दा उदेक लाग्छ ।

आफूलाई फाइदा हुनेजस्तो  देखियो भने प्रचण्डको मान्छेका रूपमा आश्चर्यजनक ढंगले प्रकट हुने तर कतैबाट दुई पैसा झर्ने सम्भावना नेदेखेपछि कुना च्यापेर जोखना हेर्ने ती नेताहरू अनि  'ए ग्रेडक' कार्यकर्ताहरूको जोखना अब यो नै अन्तिम पटक हो । जसरी हुन्छ धन आर्जन गर्नुपर्छ, आफ्नो भविष्य सुनिश्चित गर्नुपर्छ भन्ने देखिन्छ । अरूको घरमा पाहुना भएर गएपछि  मासु भएपनि ठीक, साग भएपनि ठीक मसलाको झोल भएपनि ठीक भन्ने तिनलाई लागेको होला, तर पाहुना गएको हैन, पाहुना बोलाएको हो । 

ती भ्रष्टाचार गर्छन्, ती कमिसन खान्छन्, ती अनियमितता गर्छन्, तर यसको सम्पूर्ण दोष फेरि प्रचण्डले नै बोकेर हिँड्नु परेको छ । विचरा प्रचण्डले त कसलाई मात्र कति गरुन् ? उनी पनि हाड र छाला भएका मान्छे हुन् । कुनै जादुगरले जस्तो एकैछिनमा चरालाई बिरालो अनि मुसालाई कुकुर बनाउन त सक्दैनन् । यहाँ सबैलाई मन्त्री चाहिएको छ । सबैलाई छिटोभन्दा छिटो शपथ खानु परेको छ । कसैलाई खाइपाइ आएको गुम्ने डर छ, कसैलाई एकबारको जुनीमा केही पनि नपाउने हो कि भन्ने डर छ ।

झर्ला र खाउँला भनेर पर्खिएजस्तै ती बालुवाटारबाट झर्ने हो कि खुमलटारबाट झर्ने हो बडो अन्योलमा परेका छन् । जसले चाल पाइसकेका छन्, ती चुपचाप बसेका छन् । प्रचण्डलाई दैनिकजसो  गरिएको बालुवाटारे उपहास मीठो मान्दै रमिता हेरेर बसेका छन्। यसो पत्रिका, अनलाइनहरूमा लेख लेखेर, विश्लेषण गरेर, सामाजिक सञ्जालमै उपस्थिति जनाएर विचारको रक्षाका लागि खबरदारी गर्न सकिन्थ्यो तर तिनले त्यो पनि हात बाँधेर बसेका छन् । 

अहिले जतिपनि पूर्व माओवादी पक्षका नेताहरूले जुन  हैसियत, पद र धन आर्जन गरेका छन्, ती सबै प्रचण्डकै कारण पाएका हुन् । प्रचण्डले राजनीतिलाई सहज बनाउँदै नआएको भए यो सम्भव नै थिएन । तिनीहरूको चालढाल नवसामन्तभन्दा कम छैन ।  गाडी, बंगाला, बैंकमा ब्यालेन्स धेरै हुनेमा प्रचण्डकै आसपास घुमिरहने पूर्व माओवादी नेताहरू नै धेरै छन् ।  यस्ता सारा गतिविधि आफू  गर्ने अनि सबै दोष प्रचण्डको टाउकोमा थुपारिदिएपछि हुने, यो राम्रो भइराखेको छैन। यस्ता कुरा प्रचण्डले पनि बुझ्न आवश्यक छ ।

पार्टीमा पूर्व माओवादीको रक्षा र समग्र एकता जोगाउनका निम्ति पनि पूर्वमाओवादीहरू एक ढिक्का हुनुपर्ने बेलामा अनि पार्टी अन्तरसंघर्षमा पूर्व माओवादी नेताहरूले नै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई असहयोग गरेर कमजोर पार्न खोजिरहेका छन्। भित्र–भित्र ती एमालेकरण भैसकेका छन् । खुमलटारको ढोकामा सधैँ देखिने पात्रहरू आज बालुवाटारको ढोकाको चौकीदार भएका देखिन्छन् ।

प्रचण्डको शक्ति दुरूपयोग गरेर धन आर्जन गर्नेहरू अप्ठ्यारो पर्दा यसरी चुपचाप बसेको, छदमभेषी गतिविधि गरेको कुरा कतै छिपेको छैन। 

पूर्वमाओवादी खेमाकै केही मन्त्रीसहित स्थायी समिति सदस्यहरूले प्रचण्डको एजेण्डालाई गलत भएको भन्दै खुलेरै ओलीको सामुन्ने कुरा लगाउनु मन्त्री पदको अपेक्षाबाहेक अरू केही हैन। नेकपाभित्रका पूर्व माओवादीहरू किन एकढिक्का हुन सकेनन् भन्नेबारे समीक्षा हुनु आवश्यक छ । पूर्व एमालेहरूले जबजको बहस गरिरहँदा पूर्व माओवादीहरू प्रचण्डलाई गाली गरेर, प्रचण्डको कुरा काटेर बसेका छन् । तिनीहरूले बुझ्नुपर्छ कि आज प्रचण्ड जोगिएनन् भने भोलि केही पनि जोगिनेवाला छैन ।

नेकपाभित्रका पूर्व माओवादीहरू किन एकढिक्का हुन सकेनन् भन्नेबारे समीक्षा हुनु आवश्यक छ । पूर्व एमालेहरूले जबजको बहस गरिरहँदा पूर्व माओवादीहरू प्रचण्डलाई गाली गरेर, प्रचण्डको कुरा काटेर बसेका छन् । तिनीहरूले बुझ्नुपर्छ कि आज प्रचण्ड जोगिएनन् भने भोलि केही पनि जोगिनेवाला छैन ।

गृहमन्त्री समेत रहेका रामबहादुर थापा बादलले त प्रचण्डलाई चिन्न पनि छाडिसकेका छन् । तर जब प्रचण्ड कुनै लाभदायक शक्तिको केन्द्रमा हुनेछन् सबैभन्दा पहिला खादा र माला लिएर दौडिने यिनीहरू नै हुनेछन्।  

हालसालै नेकपा बहुमत सचिवालय सदस्यको बैठक धुम्बाराहीमा बस्यो । प्रचण्डले बैठक बोलाएका थिए । तर ओली पक्षधर नेताहरू भने बैठकमा उपस्थित त भएनन् नै, पूर्व माओवादी कोटाबाट गृहमन्त्री बनेका बादल समेत सहभागी भएनन् । बादलको भूमिका पूरै असहयोगी देखियो । बादललाई विचार, पार्टीभन्दा पनि मन्त्री पद धेरै ठूलो भयो । प्रचण्डलाई पाखा लगाउन, प्रचण्डको  निरन्तर अपमान गर्न प्रधानमन्त्री केपी ओलीले बादल कार्डको राम्रै प्रयोग गरेका छन्, र बादलजस्ता स्वार्थीहरू यहाँ दर्जनौं छन्, जसको पहिचान गर्न नाम किट्नै पर्दैन ।

क्रान्ति गर्छु भनेर फेरि जंगल पस्न थालेका रामबहादुर थापा बादलको राजनीति लगभग सकिएको थियो । त्यो कुरा उनलाई पनि थाहा थियो, तर प्रचण्डले उनलाई फकाएर फेरि मूलधारमा ल्याए । मूलधारमा मात्र ल्याएनन्, विगतमा जस्तै पार्टीको महत्त्वपूर्ण जिम्मेवारी दिए । गृहमन्त्री बनाए । तर आज बादल बदनाम भइसकेका छन् । उनका अभिव्यक्ति कुनै तानाशाहीको जस्तो छ । बलात्कारलाई सामान्य घटना हो भन्छन् । उनी मातहतको प्रहरीले जाहेरी लिन मान्दैन । के प्रचण्ड बार्गेनिङ गर्ने साधन हो ? के प्रचण्ड पदहरूको कारखाना हो ? पक्कै पनि हैन ।

तर यो कुरा पक्का हो प्रचण्डको नाम भजाएर कालो धन्दा गरेका कैयौं पूर्व माओवादी नेताहरूको असलियत एक दिन आउने नै छ, किनकी नेतृत्वलाई गुमराहमा राखेर पछिल्लो एक दशकमा कसले कति फाइदा लुट्यो, कसले कति कमायो, जीवनशैलीमा कस्तो परिवर्तन भयो सबैले महसूस गरेका छन् , देखेका छन् । र तिनीहरूले यो सबै सहेर बसेका छन् । यिनीहरू एकदिन जनताको नजरमा नाङ्गिनै पर्छ ।  पञ्चायतको समयका भन्दा पनि गुज्रिएका नव सामन्तीहरूले अब धेरै समय प्रचण्डलाई विगतमा जस्तै गुमराह राख्नु हुँदैन ।

प्रचण्डसँग कोही पद नपाएर रिसाएका छन्, कोही  आफन्तको नियुक्ति नपाएर रिसाएका छन्, कोही सिफारिशमा नपरेका कारण रिसाएका छन् । सबैलाई आ- आफ्नो डम्फुको पिर छ । प्रचण्डको दु:खसँग कसैलाई सरोकार छैन, किनकी  सबैलाई पद चाहिएको छ । सबैलाई नेता हुन परेको छ । सबैलाई छिटो–छिटो प्रगति गर्नुपरेको छ । सबैलाई राष्ट्रिय स्तरको मान्छे हुनु परेको छ । सबैले आफ्ना परिवार व्यवस्थापन गर्नुछ, र यसको सम्पूर्ण बोझ प्रचण्डले लिनु छ ।

प्रचण्डले लिएको  बोझ र जोखिमका बीच केही हात लाग्ने जस्तो देखियो भने प्रचण्ड सबैका लागि प्रिय भएका छन्, हैन केही नपाउने अर्थात् शून्य हात लाग्ने जस्तो देखियो भने प्रचण्ड सबैका लागि खत्तम भएका छन् । बाघ नै आक्रमणमा परेपछि डमरुहरू जोगिन मुस्किल छ । रानीमौरी नै घेराबन्दीमा परेपछि फगत मौरीहरूको कुनै अस्तित्व छैन । प्रचण्ड नै माइनसमा परेपछि आफू प्लसमा परिन्छ भनेर पूर्व माओवादीका कसैले पनि नसोच्दा हुन्छ । 

गणतन्त्र र बयलगाढाबीच निरन्तर संघर्ष चलेको छ । यो संघर्षमा कसैले सहयोग गर्दैमा प्रचण्ड सप्रिने र असहयोग गर्दैमा प्रचण्ड बिग्रिने भन्ने त हुँदैन, तर  संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि अझै एकाध वर्ष प्रचण्ड बलियो खम्बा भएर उभिनुपर्नेछ । प्रचण्ड ढल्यो भने, प्रचण्डलाई असहयोग गर्ने पूर्व माओवादीहरू क्रमश: जेल जानका लागि तयार भएर बसे हुन्छ, किनकी प्रतिगमन हावि हुनै लागेको छ, र प्रतिगमन बाजा बजाएर आउँदैन । 

 

दिलनिशानी मगर
दिलनिशानी मगर

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्