
स्थानीय तहमा जनप्रतिनिधि आएपछि कम विद्यार्थी भएका सामुदायिक विद्यालयलाई गाभ्ने (मर्ज गर्ने) अभ्यास थालियो ।
मर्जका नाममा धेरै स्थानीय तहले विद्यार्थीलाई घरपायक परेका विद्यालय खाली गराएर पाँच किलोमिटरसम्म टाढा पुग्नुपर्ने बाध्यता बनाए ।
तर, अहिले आएर घर नजिकैका अनि विद्यार्थी हिँडेरै जान सक्ने नजिकका विद्यालयहरू प्रयोगविहीन भएका छन् ।
मर्ज भएर खाली भएका विद्यालयलाई केही स्थानीयले घरको रूपमा प्रयोग गरेर बसोवास गर्दै आएका छन् ।
कतै स्थानीयले गोठको रूपमा प्रयोग गरेका भेटिन्छन्, कतै परालको कुन्युँ बनाएको पाइएको छ ।
रूपन्देहीको सैनामैना नगरपालिकाले मर्ज गरेको शुद्धोधन आधारभूत विद्यालय सैनामैना वडा नम्बर ५ दोगहराको विद्यालय स्थानीयले कब्जा गरी बसेका छन् ।

विद्यालयका पक्की भवनमा स्थानीय पञ्चमी थारूको परिवार बस्दै आएको छ ।
थारूले भनिन्, ‘हाम्रो फुसको घर हो । यहाँ विद्यालय भवन खाली भएको छ । त्यही भएर विद्यालयमा आएर बसेका हौं ।’
विद्यालयमा पञ्चमीको ५ जनाको परिवार बस्दै आएको छ ।
यता नगरपालिकाका शिक्षा शाखा प्रमुख हेमराज अर्याल सरकारी सम्पत्ति कसैले व्यक्तिगत रूपमा प्रयोग गर्न नपाउने बताउँछन् ।
उनले भने, ‘खाली भएका विद्यालयमा कसैलाई पनि बस्न अनुमति दिइएको छैन, त्यो राज्यको सम्पत्ति हो । कसैले आफ्नो घरायसी प्रयोजनका लागि प्रयोग गर्न पाउँदैनन् ।’
विद्यालय भवन सरकारी कार्यालयबाहेक अन्यलाई भाडामा दिन नपाइने निर्देशिकाका कारण पनि भवनहहरू प्रयोगविहीन हुँदै आएको अर्याल बताउँछन् ।
शैक्षिक गुणस्तर सुधारका नाममा स्थानीय तहले सामुदायिक विद्यालय मर्ज अभियान चलाएका छन् ।
विद्यार्थी कम र शिक्षक धेरै भएका विद्यालय मर्जरमा गएका छन् । मर्जरपछि उपयोगविहीन बनाइएका विद्यालयको सार्वजनिक सम्पत्ति अतिक्रमणको चपेटामा पर्ने देखिएको छ ।
सैनामैना नगरपालिकामा कञ्चन प्रावि, सतदोधारा, शुद्धोधन, कालिका प्रावि लगायत ७ वटा विद्यालय मर्ज भएका छन् ।
तीमध्ये सबैजसोका भवन प्रयोगविहीन छन् । मर्ज गरेका विद्यालयका दुईवटै भवनमा विद्यार्थीलाई एउटै व्यवस्थापनमा पढाउन सके दुवै भवन राम्रो हुने स्थानीय अभिभावकहरूको सुझाव छ ।
रुपन्देहीकै तिलोत्तमा नगरपालिकाले पनि तिलोत्तमा ८ मा रहेको ज्योति आधारभूत विद्यालयमा, प्रगति सोमै प्रावि मधवलिया प्राविमा र प्रगति प्रावि तिलोत्तमा १ को दुर्गादत्त माविमा समाहित भयो ।
मर्ज भएका विद्यालय खाली छन् । तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले मर्ज भएर खाली भएका विद्यालयहरू व्यक्तिगत प्रयोजनका लागि नदिने बताउँछन् ।
‘एउटा खाली विद्यालयलाई वडा कार्यालयको रूपमा प्रयोगमा ल्याइएको छ । दुईवटा प्रयोगविहीन छन् । भवनलाई कसरी उपयोग गर्ने भनेर नगरपालिकाले स्थानीयसँग छलफल गरिरहेको छ । स्थानीयले ठूलो दुःख गरेर ल्याएका पनि हुन् । उहाँहरूसँगकै छलफल र निचोडमा सार्वजनिक सम्पत्ति दुरुपयोग हुनबाट रोक्न नगरपालिका सचेत छ ।’
मर्जका नाममा सामुदायिक विद्यालय घटाइँदै छ । बुटवलको कालिका माविसँग मर्ज भएको मानवज्ञान माविको भने दुईवटै भवनमा पठनपाठन हुन्छ । कालिका धेरै विद्यार्थी भएको र नेपालकै नमूना विद्यालय हो ।
कालिकासँग मर्ज भएको मानवज्ञान माविमा अहिले पनि पढाइ हुन्छ । मर्ज भएपछि कालिका मानवज्ञान मावि भएको विद्यालयमा सेक्टर वान र सेक्टर टूमा विभाजन गरी दुईवटै भवनमा पढाइँदै आइएको छ ।
कालिका मानवज्ञान माविका तत्कालीन प्राचार्य घनश्याम पाठक मर्जका नाममा सामुदायिक विद्यालय घटाइनु गलत भएको बताउँछन् ।

उनले भने, ‘मर्जका नाममा राज्यले सामुदायिक विद्यालय घटाउने कुरा गलत छ । सामुदायिक विद्यालयमा विद्यार्थी घट्नु कमजोर व्यवस्थापनका कारण हो । व्यवस्थापन चुस्त बनाए मर्ज भएपछि पनि दुईवटै विद्यालयमा पठनपाठन गराउन सकिन्छ, यसतर्फ राज्यको ध्यान जान सकेको छैन ।’
मर्ज भएको विद्यालय नजिकैका विद्यार्थीहरू निजी विद्यालयमा समेत जाने गरेका छन् ।
लुम्बिनी प्रदेशका रुपन्देही, कपिलवस्तु, दाङका प्रावि तहका सामुदायिक विद्यालय मर्ज गरिएका छन् ।
लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयका शिक्षा महाशाखा प्रमुख थानेश्वर ज्ञवालीले विद्यालय मर्ज भएपनि बाल विकासका कक्षाहरू हटाउन नहुने बताउँछन् ।
‘पढाउन छाडेपछि त विद्यालय भवन केका लागि उपयोग गर्ने भन्ने छैन । विद्यार्थी कम भएपछि र राज्यले खर्च धान्न गाह्रो भएपछि विद्यालय मर्ज अभियान ल्याएको हो,’ ज्ञवालीले भने ।
बुटवल उपमहानगरपालिकाले सामुदायिक विद्यालय थप गर्ने योजना बनाएको छ ।
उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख मित्रमणि खनालले अब विद्यालय मर्ज गरेर घटाउने नभई थप्ने योजनामा रहेको बताए ।