तनहुँको बन्दीपुर गाउँपालिका–६ डाँडाछापमा चितुवाको आतंकले स्थानीय त्रसित भएका छन् ।
चितुवाले घरछेउमै आएर गोठमा बाँधिराखेको खसीबोकालाई आक्रमण गर्न थालेपछि स्थानीय त्रसित भएका हुन् ।
शनिवार राति स्थानीय गणेशबहादुर गुरुङको खोरमा चितुवाले ५ वटा खसीबोकालाई आक्रमण गरेको छ । स्थानीय सुरेन्द्र गुरुङका अनुसार चितुवाको आक्रमणबाट ५ वटा खसीबोका मरेका छन् ।
‘घरमै आएर चितुवाले आक्रमण गर्न थालेपछि स्थानीय त्रसित भएका छन्,’ उनले भने । वडाध्यक्ष सन्तबहादुर गुरुङले बन्दीपुरमा चितुवाको आतंक रहेकाले स्थानीय त्रसित रहेका जानकारी दिए । उनका अनुसार केही समय अगाडि भने स्थानीयले पालेका खसीबोकालाई चितुवाले आक्रमण गरी मारेको थियो ।
जिल्लाका विभिन्न ठाउँमा चितुवाको आतंक छ । भानु नगरपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका, शुक्लागण्डकी नगरपालिकामा चितुवाको आक्रमणबाट बालबालिका समेत ज्यान गुमाएका छन् ।
रासस