२६ जेठ २०८३, मंगलबार

उपप्राध्यापक छनोटको लिखितमा मागभन्दा थोरै उत्तीर्ण

कात्तिक २७, २०७७
उपप्राध्यापक छनोटको लिखितमा मागभन्दा थोरै उत्तीर्ण

त्रिभुवन विश्वविद्यालय सेवा आयोगले सञ्चालन गरेको उपप्राध्यापक छनोटको लिखित परीक्षामा अधिकांश विषयमा मागभन्दा थोरै परीक्षार्थी उत्तीर्ण भएका छन् । सेवा आयोगको बुधबार प्रकाशित नतिजापछि विश्वविद्यालयमा क्षमतावान् व्यक्तिको आकर्षण नभएको हो कि शिक्षाको स्तर खस्केको हो भन्ने बहस सुरु भएको छ ।

आयोगले १ सय ६० विषयमा उपप्राध्यापक छनोटका लागि गत वर्ष परीक्षा सञ्चालन गरेको थियो । अधिकांश विषयमा प्रतिस्पर्धी परीक्षार्थीको संख्या पनि न्यून थियो । उत्तीर्ण हुनेको संख्या अत्यन्तै थोरै रहेकाले उनीहरू मौखिक परीक्षाबिनै स्वतः उपप्राध्यापकमा छनोट हुँदै छन् । व्यवस्थापन संकायमा ४६ जना उपप्राध्यापकका लागि दरखास्त आह्वान गरिएको थियो ।  ४ सय ९६ जनाले लिखित परीक्षा दिएकामा ८ जना मात्रै सफल भएका छन् ।

विद्यालयका शिक्षक तयार पार्ने शिक्षा संकायतर्फको उपप्राध्यापक छनोटको नतिजा पनि निराशाजनक छ । अंग्रेजी विषयमा १४ जना उपप्राध्यापकको माग भएको थियो । १ सय ५४ जनाले लिखित परीक्षा दिएकामा ५ जना मात्रै उत्तीर्ण भएका छन् । अर्थशास्त्र, सामाजिक अध्ययन इतिहास र शैक्षिक योजना तथा व्यवस्थापन विषयमा एक जना पनि उत्तीर्ण हुन सकेका छैनन् । अर्थशास्त्र विषयमा ३ जना उपप्राध्यापक माग गरिएको थियो । १६ जना परीक्षामा प्रतिस्पर्धी थिए । सामाजिक अध्ययन विषयका लागि माग संख्या १ थियो । ३ जनाले परीक्षा दिएकामा तीनै जना अनुत्तीर्ण भए । गणित र विज्ञान विषयमा ८/८ जना उपप्राध्यापक माग गरिएको थियो । क्रमशः ५० र २८ जनाले परीक्षा दिएकामा २ र ६ जना मात्रै उत्तीर्ण भए ।

चिकित्सा शिक्षा, इन्जिनियरिङ, विज्ञान तथा प्रविधि, मानविकी, कृषि तथा पशुविज्ञानको अवस्था पनि शिक्षाशास्त्र संकायको जस्तै छ । रसायनशास्त्र विषयमा १३ जनाको माग थियो । २ सय ६ जनाले परीक्षा दिएकामा ५ जना मात्रै सफल भए । वनस्पतिशास्त्रमा माग संख्या १७ थियो । २१ जना लिखित परीक्षा उत्तीर्ण भएका छन् । एक सय २० जनाले परीक्षा दिएका थिए । बायोकेमेस्ट्री विषयमा १२ जना परीक्षार्थीमध्ये एक जना पनि सफल भएनन् । माग संख्या ३ थियो । भौतिकशास्त्रमा १ सय ७ जनाले परीक्षा दिएकामा ८ जना उत्तीर्ण भएका छन् । १७ जना उपप्राध्यापकका लागि आवेदन खुलेको थियो । शिक्षाबाहेकको गणितका लागि ४ जनाको माग संख्या रहँदा १ सय १२ जनाले परीक्षा दिएका थिए तर एक जना पनि पास भएका छैनन् । प्राणीशास्त्रमा १७ जनाको माग सख्यां थियो । ७ जना मात्रै सफल भए । १ सय ६२ जना परीक्षामा सहभागी थिए ।

भूगर्भशास्त्रमा ४१ जनाले परीक्षा दिँदा ५ जना मात्रै सफल भएका छन् । माग संख्या ८ थियो । खाद्य प्रविधि विषयमा २ जनाको माग थियो । ९ जनाले परीक्षा दिएकामा १ जना मात्रै उत्तीर्ण भए । कम्प्युटर विज्ञानमा १६ जना माग गरिएको थियो । १२ जनाको मात्रै आवेदन पर्‍यो । उनीहरू सबै असफल भए । कानुन संकायमा २१ जनाका लागि ४४ परीक्षार्थीले परीक्षा दिएका थिए । ९ जना मात्रै उत्तीर्ण भए । जनप्रशासनतर्फ पनि उत्तीर्ण दर शून्य छ । ४ पदका लागि १८ जना परीक्षार्थी प्रतिस्पर्धामा थिए ।

समाजशास्त्रमा माग संख्या १० रहेकामा १३ जना सफल भएका छन् । १ सय ३६ जनाले परीक्षा दिएका थिए । मेडिकल बायोकेमेस्ट्रीमा १ जना उपप्राध्यापकका लागि १३ जनाले प्रतिस्पर्धा गरेका थिए तर कुनै पनि उम्मेदवार सफल भएनन् । सिभिल इन्जिनियरिङमा ७ पदका लागि ६ जना उत्तीर्ण भएका छन् । ३६ जना परीक्षामा सहभागी थिए । इलेक्ट्रिकल इन्जिनियरिङमा १४ जनाले परीक्षा दिएका थिए । माग संख्या ७ रहे पनि ३ जना मात्रै सफल भएका छन् । कम्प्युटर इन्जिनियरिङतर्फ ५ पदमा २८ जनाबीच प्रतिस्पर्धा भएको थियो । ३ जना मात्रै उत्तीर्ण भएको आयोगले जनाएको छ । मेकानिकल इन्जिनियरिङमा ५ पदका लागि ९ जना पास भएका छन् । १४ जनाले परीक्षा दिएका थिए । चिकित्साशिक्षाको न्युरो सर्जरीमा १ पदका लागि १ जना सफल भएका छन् । २ जनाले मात्रै परीक्षा दिएका थिए । यसतर्फका अधिकांश विषयमा माग संख्या र परीक्षार्थीको संख्या समान जस्तै छ ।

प्राध्यापन पेसामा आकर्षण नहुनु वा पढाइ गुणस्तरीय नहुनुले माग संख्याभन्दा कम परीक्षार्थी उत्तीर्ण भएको सरस्वती बहुमुखी क्याम्पसमा एमबीए कार्यक्रमका निर्देशक केपी पाण्डेले बताए । शिक्षाविद् बालचन्द्र लुईंटेल त्रिवि सेवा आयोगको नतिजाले विश्वविद्यालयको अवस्था गतिलो नभएको प्रस्ट्याउने बताए । ‘त्रिवि सेवा आयोगको परीक्षा पहिलेभन्दा पारदर्शी हुन थाल्यो कि भनेर थोरै आशा गर्ने ठाउँ पनि छ,’ उनले भने, ‘तर माग संख्या, परीक्षार्थीको संख्या र उत्तीर्ण दर तुलना गरेर हेर्दा पढाइको गुणस्तर सुधार गर्नु नै पर्छ ।’

२४० परीक्षार्थीको परीक्षा रद्द

त्रिवि सेवा आयोगले २ सय ४० परीक्षार्थीको परीक्षा रद्द गरिएको जनाएको छ । परीक्षकलाई आफ्नो पहिचान खुल्ने गरी उत्तरपुस्तिकामा संकेत गनेको परीक्षा रद्द गरिएको हो । उत्तरपुस्तिकामा कतिपय परीक्षार्थीले फोन नम्बरसमेत लेखेको पाइएको आयोगका प्रमुख केदारनाथ ढकालले जानकारी दिए ।

चिकित्सा शिक्षा अध्ययन संस्थानतर्फका १६ परीक्षार्थीको उत्तरपुस्तिका रद्द गरिएको छ । इन्जिनियरिङ अध्ययन संस्थानका १० परीक्षार्थीको पनि परीक्षा रद्द गरिएको छ । कृषि तथा पशु विज्ञान अध्ययन संस्थानका ६ वटा उत्तरपुस्तिका रद्द गरिएको छ । विज्ञान तथा प्रविधि अध्ययन संस्थानका ७७ र मानविकी संकायका ५८ उत्तरपुस्तिकामा पनि पहिचान खुल्ने संकेत भेटिएपछि रद्द गरिएको छ । शिक्षा संकायका ३०, व्यवस्थापनका ३८ र अन्य केही विषयका परीक्षा रद्द भएका छन् । कान्तिपुर दैनिकमा सुदीप कैनीले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्