बाल्यकालको त्यो तिहार : टीका, भैलो र कौडाको बहार

डा. रवीन्द्र समीर
डा. रवीन्द्र समीर

जनस्वस्थ्य विज्ञ समेत रहेका साहित्यकार डा. रवीन्द्र समीरका मृत्युको आयु लगायत १२ वटा साहित्यिक कृति प्रकाशित छन् ।

बाल्यकालमा त्यार अर्थात् तिहार आउनु निकै खुशीको विषय हुन्थ्यो । दशैंको उल्लासमय वातावरणपछि तिहारको प्रतिक्षा लामो अनुभव हुन्थ्यो । घरवरिपरि सयपत्री, मखमली लागायतका दर्जनौं फूलले घरलाई बगैँचा बनाएका हुन्थे । सुन्तला, कागती, मौसम, अमिलो, भोगटे लटरम्म फलेका हुन्थे । सुन्तलाको रुख चढेर वा लठ्ठीले हानेर रोजी सुन्तला झार्दै खाँदै गर्थ्यौं । बिहानदेखि बेलुकासम्म दर्जनौं सुन्तला खाइन्थ्यो त्यसैले कागती, भोगटे तथा मौसमलाई भाउ दिनुपर्ने अवस्था थिएन । दिउँसो अमिलो साँधेर ट्वाक्क पिरो मिसाएर खान्थ्यौं अनि रगत बढ्छ भनेर टन्न पानी खान्थ्यौं ।

गाई पुज्ने औंशीको दिन लामो बाबियोको डोरीमा फूल, पिपलको पात, आँपको पात, रोटी आदि जोडेर लामो तोरन बाँध्ने चलन थियो । तोरनले बाटो वा खोलो कटाउने चलन थियो । एकपटक तोरनको डोरी समाएर रुखमा पुग्ने दुस्साहस गर्दा भाइ किशोर झन्डै भीरमा लडेको थियो । सानोमा एकदम सुरो थियो किशोर । कागतिहार तथा कुकुर तिहारमा त्यति ठूलो रौनक हुन्थेन । माला लगाएका, चामलको पिठोको सेतो रंग लगाएका कुकुर यत्रतत्र देखिन्थे ।


Advertisement

तिहारको बेला जुवा खेलेको हेर्न खुब रमाइलो लाग्थ्यो । किशोर भाइ र म खोजीखोजी जुवा खेल्ने ठाउँमा जान्थ्यौं । त्यसो त किशोरले बाटोमा गाई कि त्रिशुल लुकीलुकी खेल्थ्यो । प्रायः जित्थ्यो पनि । हामीलाई तास खेलेको पटक्कै मन पर्दैनथ्यो किनकी हामीले तास खेल्न जानेका थिएनौं । कौडा खेल्नु तिहारको ठूलो आकर्षण हुन्थ्यो । तिहारको शुरूशुरूमा लुकेर खेल्ने गर्थे भने यमपञ्चक शुरू भएपछि ७ दिन ७ रात अर्थात् एकादशीबाट तिहारको टीकाको रातिसम्म खुलमखुला जुवा खेल्न पाइन्थ्यो ।

आंगनमा गुन्द्री, मान्द्रो, दरी, काम्लो आदि बिछ्याएर कौडा खेल्ने चलन थियो । नाम त भन्न मिलेन, गाउँका नामुद जुवाडेमा दाइ, भिनाजु, काका, सर लगायत हुन्थे । दुर्लभ रूपमा बुवा पनि खेल्नुहुन्थ्यो । कौडामा तिर्की, चौका, पञ्जा र छक्का दाउ हुन्थे । ४ जना खेल्थे, १०-१५ जना च्याँखे थाप्न बसेका हुन्थे भने १५-२० जना जुवा हेर्न बसेका हुन्थे । जुवा खेलाउने घरमा सेलरोटी पकाएको मगमग बासना आउँथ्यो । खेल्ने व्यक्तिलाई ल यति हान् भन्दै ५०, १०० रूपैयाँको दाउ राख्थे भने च्याँखे थाप्नेले ‘ल मेरो यति हान्नु’ भन्दै आफूले छानेको दाउमा पैसा राख्थे । आफ्नो दाउका कौडा ठाडा भए भने मार्‍यो ... भन्दै बाँकी ३ तिरका पैसा सोहोर्थे र च्याँखे थपेका व्यक्तिलाई अनुपातअनुसार फाइदा दिन्थे । लगातार ३ पटक मार्‍यो भने थर्कीको पैसा भनेर जुवा खेलाउनेलाई पैसा दिनुपर्थ्यो । कहिलेकाहीँ ७-८ पटक दाउ पर्थ्यो र त्यहाँ बसेका टाट पल्टिने अवस्था आउँथ्यो । यसरी जितेका मान्छेले थर्की, मैन्टोल, चिया आदिको पैसा जुवा खेलाउनेलाई दिन्थे भने जुवा हेर्न बसेकाले जितौरीको आशा गर्थे । अलिअलि जितौरी बाँडेर जुवाडे अर्को जुवाको खालमा जान्थे ।


Advertisement

बुवाआमाले म र किशोरलाई राति जुवा हेर्न जान निषेध गर्नुभएको थियो । कहिलेकाहीँ ठूला मान्छेसँग जान्थ्यौं अनि मैन्टोलको उज्यालोमा जुवा हेर्थ्यौं । खाल खाली भएका बेला हामी पनि खेल्थ्यौं । म चौका र पञ्जा दाउ पाए मात्र खेल्थें । त्यो बेला पैसा हुँदैनथ्यो । बढीमा ५ – १० रुपैयाँ राखेर खेलिन्थ्यो । कहिलेकाहीँ ५० – १०० रूपैयाँ जित्दा पनि संसार जितेजस्तो लाग्थ्यो । बहिनीहरूलाई जितौरी दिइन्थ्यो ।

कुनै–कुनै व्यक्तिले ३-४ पटक लगातार जितेपछि पछि हारिन्छ भनेर जुवाको खालबाट बाहिर निस्कन्थे । यस्तो गर्न पाइन्न भन्दै हारेका व्यक्तिहरू उसँग झगडा गर्थे अनि खेल्न बाध्य गराउँथे । अधिकांश जुवाडेहरू ‘मार्‍यो... अनि इस् मारिस !’ भनिरहँदा स्वर सुकेर सासले बोल्नुपर्ने अवस्थामा पुग्थे । त्यतिबेला देउराली, गैंडा तथा याक चुरोट थिए । फिल्टर चुरोट याक मात्र थियो । कौडा खेल्दै, याक चुरोट तान्दै गरेको देख्दा लोभ लाग्दथ्यो । सामान्य व्यक्तिले देउराली र मध्यम व्यक्तिले गैंडा चुरोट तान्थे । जुवा खेल्ने रातभर खेल्थे । बुवाआमाले म र किशोरलाई राति जुवा हेर्न जान निषेध गर्नुभएको थियो । कहिलेकाहीँ ठूला मान्छेसँग जान्थ्यौं अनि मैन्टोलको उज्यालोमा जुवा हेर्थ्यौं । खाल खाली भएका बेला हामी पनि खेल्थ्यौं । म चौका र पञ्जा दाउ पाए मात्र खेल्थें । त्यो बेला पैसा हुँदैनथ्यो । बढीमा ५ – १० रुपैयाँ राखेर खेलिन्थ्यो । कहिलेकाहीँ ५० – १०० रूपैयाँ जित्दा पनि संसार जितेजस्तो लाग्थ्यो । बहिनीहरूलाई जितौरी दिइन्थ्यो । आज जितेको पैसा भोलि हारिन्थ्यो । जुवामा खेल्नेको होइन खेलाउनेको मात्र जीत हुन्छ ।

जुवा ठूलो नशा हुँदोरहेछ । अझ त्यसमा रक्सी मिसिएपछि निमको रुखमा चढेको करेलाजस्तै हुँदोरहेछ । आफूसँग भएको सम्पूर्ण पैसा हारेपछि एकदम महंगो ब्याजमा सापटी मागेर खेल्नु सामान्य थियो । त्यो पनि हारेपछि हातमा लगाएको ‘घडी तथा औंठी हान्' भन्दै दाउमा राख्थे । रातको घनत्वसंगै केही जुवाडेले खेत हारेको, घर हारेको, घोडा हारेको, खेत बन्धकीमा राखेको, आफ्नो श्रीमती तथा छोरीका गहना हारेको तथा आफ्नो पसलसमेत हारेको नमीठो खबर बिहान सुनिन्थ्यो । खतरनाक रूपमा जुवा खेल्ने जुवाडेको परिवार रातदिन तनावमा रहन्थे । उनीहरूका लागि तिहार हार मात्र हुन्थ्यो । टीका लगाउने दिनमा समेत जुवा खेल्नेहरू भूमिगत खालमा हुँदा उनीहरूका दिदीबहिनी रोएर तिहार बिताउँथे ।

*****

लक्ष्मीपूजाको दिन कौसी, क्याम्पा, पालिको माथि, घरको ढोका, घरबाहिरको पर्खाल आदि ठाउँमा दर्जनौं दियो बाल्नुहुन्थ्यो बुवाआमाले । हामीले पनि दियो राख्ने रहर गर्थ्यौं । हाम्रो घरबाट पारि झलमल्ल देखिने माइला साहुको घर, धनार्जी, खयरठाँटी, बुल्म, इश्मा, अम्मरपुर, अर्जे आदिबाट पनि हाम्रो घरका दियो देखेका होलान् भनेर कल्पना गर्थ्यौं । त्यो बेला मैनबत्ती, विद्युत् थिएन । गोबर्धन पूजाको दिन गाईको गोबरमा फूल, पात, चामलको पीठोको बसुधारा तथा टीका लगाएर सिंगार्ने चलन थियो । त्यो दिन बुवाआमाले तिहारका रोटी पकाउनुहुन्थ्यो । ठकने रोटी, सेल, फिनी, अर्सा, अनारसा, बटुक, फुलौरा, पपरा, झिलंगा लगायतका विविध रोटी पकाइन्थ्यो । मलाई ठकने रोटी, फिनी तथा खुदो मिसाएर बनाएको अनारसा विशेष लाग्थ्यो । बुवाआमाले झालमै पाकेर पटपटी फुटेका मादल जत्रा काँक्रा काटेर अचार बनाउनुहुन्थ्यो । हामीले भने भित्रको अमिलो गुदी खान्थ्यौं अनि कांक्राका बियाँ जम्मा गर्थ्यौं । कांक्राका बियाँ खायो भने पेटमा काँक्रो उम्रिन्छ अनि फल्छ भन्ने शंका लाग्थ्यो ।

*****

लक्ष्मीपूजादेखि साँझमा भैलो तथा देउसी खेल्ने चलन थियो । हाम्रो गाउँ धुर्कोटमा पुरुषले भैलो खेल्थे भने महिलाले  देउसी खेल्थे । धेरैजसो केटाकेटीको टीममा मादल हुँदैनथ्यो । भट्याउने, पैसा माग्ने, भनेजति पैसा पाए प्रशंसा गर्ने तथा थोरै पैसा पाए गाली गर्दै जाने गर्दथे । भैलो कथानकरूपमा भट्याउने चलन थियो । कथा यस्तो हुन्थ्यो – सूर्य भगवानका छोराछोरीमध्ये यमराज यमलोकमा थिए भने यमुना पृथ्वीलोकमा थिइन् । बहिनीको निम्तोलाई स्वीकार गरेर यमराज पृथ्वीमा ५ दिनसम्म बसेको हुँदा त्यो समयलाई यमपञ्चक भनिन्छ ।  बहिनी यमुनाकहाँ टीका लगाउन यमराज जाँदा कालीनागले बाटो छेके । यमराजले कालीनागलाई म बहिनीको हातको टीका लगाएर आउँछु अनि मलाई खालास् भनेर वाचा गरेर अघि बढे । त्यसपछि पाटेबाघले यमराजको बाटो छेक्यो । यमराजले पाटेबाघलाई पनि त्यही वाचा गरे । यमुनाले टीका लगाएर दाइका शत्रु नाश हुन् भनेर ओखर फोडिन् ।

बहिनीहरू साना थिए, त्यसैले आमाले चामलको पिठो बहिनीहरूको बुढी औंलामा राखेर हाम्रो निधारमा सेतो धर्को बनाउनुहुन्थ्यो अनि बहिनीका अन्य औंला वा अगरबत्तीमा सप्तरंगी टीका बसाल्न सहयोग गर्नुहुन्थ्यो । त्यसपछि बहिनीहरूले सयपत्री, मखमली तथा हजारी फूलका माला लगाइदिन्थे । मखमली फूलको पगरी तथा ढाकाको टोपी लगाइदिन्थे ।  किशोर र म हेराहेर गरेर हाँस्थ्यौं, मख्ख पर्थ्यौं ।

त्यसपछि यमराजलाई यमुनाले नडराई जानुहोस् दाइ, मैले तपाईंका शत्रु फोंडे भनेपछि यमराज घोडा लिएर फर्किए । बाटोमा पाटेबाघ मरेको देखे अनि कालीनाग पनि मरेको देखे । यसरी यमराज सकुशल घर पुगे । पाताल लोकमा रहेका बली महाराजले दश दिक्पाललाई ५ दिनका लागि पृथ्वीमा पठाएका हुन्छन् । त्यसैले हामी त्यसै आएनौँ बली राजाले पठाए भन्ने प्रसंग समेत जोडेर देउसी भैलो कथानक बनाउने गर्थ्यौं । भैलो / देउसी बाल्यकालमा म र किशोर भाइ पनि खेल्न जान्थ्यौं । हाम्रो टीममा मित्रहरू लालबहादुर कुँवर, दीपक भण्डारी, अनन्त भण्डारी, तुलसी भण्डारी, महेन्द्र भण्डारी, किशोर, कृष्ण, खिमा भाइ, भुवन दाइ, केशव, टीका, धनिश्वर, शिव, मुरारी, शैलेन्द्रलगायतका हुन्थ्यौं । हामीले पालैसँग भट्याउने गर्थ्यौं । धेरैजसोले एक/दुई रूपैयाँ दिन्थे । कुनै व्यक्तिले पाँचको नयाँ नोट दियो भने झुपडीलाई पनि हामीले भन्थ्यौं – यो घर कत्रो ?  सिंहदरबार जत्रो । तर हामीले सिंहदरबार देखेका थिएनौं । दाइहरूसँग भैलो खेल्दा उहाँहरूले पैसा जम्मा गर्नुहुन्थ्यो । रातभर खेल्दा पनि हाम्रो भागमा १-२ रूपैयाँ मात्र आउँथ्यो । बाठा दाइहरू ! 
त्यो पैसा मैले आमालाई दिन्थेँ भने भाइले गाई कि त्रिशुल खेलेर हार्थ्यो वा पिपलगेडी तथा राता मीठाइ किनेर खान्थ्यो ।

तिहारको टीकाको दिन सबैभन्दा विशेष लाग्थ्यो । बिहानै काफलपानी गएर नुहाएर आएपछि किशोर र म गलैंचामा बस्थ्यौं । बिमिरो, पात, दियो, रोटीलगायत ग्रह फाल्ने भनेर आमाले बाटोको छेउमा राख्नुहुन्थ्यो अनि हाम्रो अगाडि कलश, दियो, फूल, दुबो, आँपका पात, पिपलका पात, प्रसाद, अगरबत्ती लगायतका पूजा सामग्री राख्नुहुन्थ्यो । यसरी दियो पूजन, गणेश प्रार्थना, कलश पूजन, अष्टचिरञ्जीवीको पूजा, बिमिरो ( ब्योरों ) को पूजा तथा यमराजको पूजन गरेर दैलोमा ओखर राखेर ढुंगाले ओखर फोड्ने अनि त्यता फर्केर नहेर्ने गर्नुहुन्थ्यो । हाम्रा शत्रु त कोही पनि थिएनन् तै पनि आमाले बहिनीहरू सरिता र अमृतालाई घरको मूल ढोकामा ओखर फोड्न लगाउनुहुन्थ्यो । त्यसपछि बहिनीहरूले तेलको घेराले हामीलाई छेक्थे । मैले सोंच्थे– यति सानो तेलको घेरा नाघ्न नसक्ने कस्तो जेमराज होला ? पछि यही विषयमा सोंच्थे – यमराज अनुशासित रहेछन् । घेरा नाघ्न सकेपनि उनले नियम पालना गर्दोरहेछन् । त्यसपछि बहिनीहरूले कपालमा तथा कानमा तेल लगाउने, काइँयोले कपाल कोरिदिने तथा दही खुवाउने गर्थे ।

बहिनीहरू साना थिए, त्यसैले आमाले चामलको पिठो बहिनीहरूको बुढी औंलामा राखेर हाम्रो निधारमा सेतो धर्को बनाउनुहुन्थ्यो अनि बहिनीका अन्य औंला वा अगरबत्तीमा सप्तरंगी टीका बसाल्न सहयोग गर्नुहुन्थ्यो । त्यसपछि बहिनीहरूले सयपत्री, मखमली तथा हजारी फूलका माला लगाइदिन्थे । मखमली फूलको पगरी तथा ढाकाको टोपी लगाइदिन्थे ।  किशोर र म हेराहेर गरेर हाँस्थ्यौं, मख्ख पर्थ्यौं । बुवाले बहिनीहरूलाई दीर्घायु, आरोग्य तथा यशको आशीर्वाद देऊ भन्नुहुन्थ्यो । टीका तथा माला लगाएपछि ठूला चिउरीका पातका टपरीमा अघिल्लो दिन पकाएका सेलरोटीका परिकार, अचार, फलफूल, नरिवल, मिश्री, दही आदि हाम्रो अगाडि राखिदिन्थे । हामीले बुवाले दिनुभएका पैसा दक्षिणाको रूपमा बहिनीलाई दिन्थ्यौं अनि ढोग गर्थ्यौं । त्यसपछि आफ्नो भागका मीठा कुरा खाएर बाँकी पछिका लागि राख्थ्यौं । 

कुनै वर्ष बुवाको दिदीको घरमा गएर टीका लगाउँथ्यौं । फुपुले हामीलाई असाध्यै माया गर्नुहुन्थ्यो । जबर्जस्ती थपेर खाना खुवाउनुहुन्थ्यो । गत वर्ष उहाँको निधनले हाम्रो एउटा स्तम्भ भाँचिएको महशुस गरेका छौं ।
तिहार सकिएपछि शुरूशुरूमा त खासै फरक पर्दैनथ्यो, तर पढ्न आएदेखि भने अब काठमाडौं जानुपर्छ भनेर मन निकै खल्लो हुन्थ्यो ।

तिहारको टीकापछि पूर्णिमासम्म ठूला मान्छेहरूको भैलो शुरू हुन्थ्यो । आफ्रको टोली तथा बुल्मको टोली मुख्य थिए । मादल, झ्याली र मुरली बजाउँदै उनीहरू कहिलेकाहीँ आधा रातमा खेल्न आउँथे । आँखा मिच्दै उठेर क्याम्पाबाट भैलो हेथ्यौं ।  पुरुष तथा महिलाको भेषमा पनि पुरुष नै हुन्थे । पुरुषको भेषमा आउनेले सेतो फेटा, रातिमा पनि कालो चस्मा, माला तथा खुकुरी भएको टोपी लगाएका हुन्थे । उनीहरूले मादल, झ्याली तथा बाँसुरी बोकेका हुन्थे । महिलाको भेष धारण गरेका पुरुषले रातो फेटा बाँधेका तथा हातमा रुमाल समाएका हुन्थे ।  मादल एवं अन्य बाजासहित १२-१५ जनाको टोली आउँथ्यो । उनीहरू पहिले भैलो खेल्थे अनि मारुनी नाच नाच्ने गर्दथे ।  कतिपय टोलीले बाँसुरीले भट्याउने तथा अरू सबैले भैलो भन्थे । कुनै समूहले कथानक भैलो भट्याउँथे ।

भट्याउने काम सकिएपछि पहिले बिस्तारै-बिस्तारै नाचगान हुन्थ्यो भने नाचगानको गति तीव्र हुँदै गर्दा बस्दै /उठ्दै /मादल ठोक्दै धुलो उडाउँथे । बाजाको उत्कर्षमा हेर्दै रिंगटा लाग्ने शैलीमा फनफनी नाच्दथे । उनीहरूका गीत यस्ता हुन्थे -

आयौं महाराजै हजुरको नामै सुनी 
ए हजुरको नामै सुनी, हजुरको नामै सुनी 
आयौं माहाराजै।

....

पूर्वको मादले पश्चिमैको मारुले समयमै होइ जाउँला भेट ।
सम्झिरहे मारुले समयमै होइजाला भेट .... ।
ढुकुरले ल्यायो समिचार, तिम्रा मनको गुनासो
 ए नानी नबोलेको भयो दिन चार ।

(मादलेहरू र मारुलेहरू नाच्ने र अरूले उभिएर गीत झिक्ने, त्यही गीत नाच्नेले गाउँदै नाच्दै गर्ने ।)

आ..., शिरै लाउनै शिर्फुला परेवालाई सुहायो, भूल पर्‍यो परेवा 
भूल पर्‍यो परेवा, भूल पर्‍यो परेवा हो फर्की हेर परेवा 
गाजलु आँखै भूल पर्‍यो परेवा ।

.....

नाकै लाउने नथिया, कानै लाउने कुण्डलु 

(गर्रा नाच्ने – मुरलीको धुनमा एउटा मादले र एउटा मारुले बिस्तारैबाट छिटोछिटो पहिले उभिएर त्यसपछि बसेर अनि सुतेर नाच्ने )

...

शिरै लाउने शिरफूल एसै राजैले बेची खायो 
यसैमा राजाको आशा मलाई छैन 
चलिजाउँ माइतीको देश 
नाकै लाउने नथिया, कानै लाउने कुण्डलु 
गलै लाउनी हैकलु, यसै राजैले बेची खायो 
( राजै = आफ्नो श्रीमान )

भैलो सकिएपछि जति धेरै पैसा दिएपनि निकै बार्गेनिङ गरेर अधिकतम पैसा लिने प्रयास गर्दथे । पैसा दिँदा चामल, सेलरोटी, फलफूल, दियो आदि राखेर दिने चलन थियो । आधारातमा भैलो खेल्न आउँदा तथा बार्गेनिङ गर्दा अलिअलि नरमाइलो लाग्थ्यो । तर उनीहरूको भैलो र नाच बेजोड हुन्थ्यो ।  दक्षिणा पाएपछि उनीहरूले नाच्दै यसरी आशिक दिन्थे - काँसझैँ फूली गए, बाँसझैँ नुही गए, यो घरमा लक्ष्मीले बास गरुन्, पञ्च भाइले दिएको आशिक भरिपूर्ण भई जाओस् ।

पहिले भैलो तथा तिहार गीत धार्मिक एवं सांस्कृतिक विशेषताको हुन्थ्यो भने पछि सामाजिक तथा राजनैतिक मुद्दा पनि भैलोको विषय बन्न थाले । त्यस्तै पहिले महिलाको भेषमा पुरुष खेल्थे भने पछि महिला नै खेल्न थाले । पहिले साना केटीहरूमात्र देउसी खेल्थे भने पछि वयस्क पनि देउसी खेल्न थाले । त्यस्तै पहिले भैलो / देउसी खेलेपछि उठेको पैसाले पिकनिक जाने चलन थियो भने पछि सामाजिक कार्यको लागि पैसा उठाउने अभियानको रूपमा देउसीभैलो खेल्न थालियो । 

जसले दिन्छ मुठी, उसको सुनको गुठी  । 
जसले दिन्छ मानो, उसको सुनको छानो ।
जसले दिन्छ पाथी, उसको सुनको छाती ।
जसले दिन्छ मुरी, उसको सुनको धुरी ।

भैलिनी आइन् आँगन, गुन्यूचोली मागन, हे औंशी बार, गाईतिहार भैलो । हामी त्यसै आएनौँ, बली राजाले पठाको ..।

भैलोमा यो भट्याउँदा म एकदम कन्फ्युज हुन्थेँ । मुरी दिए, सुनको धुरी मात्रै तर मानो दिए सुनको छानो भनेपछि मानो दिँदा फाइदा हुँदोरहेछ भन्ने लाग्थ्यो ।  अझ मुठी दियो भने सुनको गुठी पाउँदा धेरै फाइदा हुँदोरहेछ भन्ने लाग्थ्यो । यो अंकगणित नबुझेर म अलमल हुन्थें ।

डा. रवीन्द्र समीर
डा. रवीन्द्र समीर

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्