×

NMB BANK
NIC ASIA

कथा

कोरोनाकालीन पुनर्जन्म

कात्तिक २९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel
  • कुमुद अधिकारी

पुण्य आफ्नो जीवन सफल भएको मान्थ्यो। यसका थुप्रै कारणहरू थिए। पहिलो त ऊ व्यापारी थियो र व्यापारबाट २२ वर्षको अवधिमा पर्याप्त पैसा कमाएको थियो। सहरभरि उसका थुप्रै घडेरीहरू थिए। घडेरी मात्र होइन घरहरू पनि थिए। ऊ अरबपति नै न नभनौँ, माथिल्लो करोडपति भने थियो। अर्थात् ५० करोडभन्दा माथि चलखेल गर्न ऊ गाह्रो मान्दैनथ्यो। पुण्य स्वभावैले असाध्य मेहनती थियो र त्यही मेहनत, केही भाग्य, केही देशको राजनीतिक अस्थिरताले २०५० सालबाट २०७७ सालसम्म आइपुग्दा उसको सम्पत्ति दिन दुगुना रात चौगुना बढेको थियो र ऊ आफ्नो समाजमा स्थापित भएको थियो।

Muktinath Bank

दोस्रो उसकी पत्नी प्रभा सुन्दर थिइन्, परिपक्व तथा व्यावहारिक थिइन्। आफ्नो काम अत्यन्त लगन र इमानदारीका साथ गर्थिन्। सरकारी स्कूलमा मा.वि. दरबन्दीमा उनको नियुक्ति थियो। दिउसो उनी स्कूल जान्थिन् र बिहान बेलुका घर र दोकान धाउँथिन्। दुई जना छोरा हुर्किसकेका थिए र आआफ्नो बाटो लागि सकेका थिए। जेठो छोराले बैङ्ककबाट कम्प्युटर साइन्समा स्नातक गरेको थियो र हाल उसले घरेलु इलेक्ट्रोनिक्सको डिलरसिप लिएको थियो र त्यसैमा व्यस्त रहन्थ्यो। कान्छो प्लस टु गरेपछि पाँचेक वर्ष अघि अस्ट्रेलिया हानिएको थियो। एउटी नेपाली कन्यासँग लिभिङ टुगेदरमा बस्दाबस्दै थुप्रै कुरा टुगेदर भए पछि उसले तिनै कन्यासँग बिहे गऱ्यो वा भनौँ नेपालमा उसका आमाबाबुले बिहे गरिदिए।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सर्सर्ती हेर्दा पुण्यको वैवाहिक जीवन सफल थियो। पत्नी प्रभा वा छोराहरूबाट कुनै असन्तुष्टि थिएन।


Advertisment
Nabil box
Kumari

तेस्रो ऊ सफल छोरो पनि थियो। सफल यस अर्थमा कि उसले आफ्ना आमाबाबुलाई सुखले राखेको थियो। आमाबाबुका करिब सबै इच्छाहरू पूरा गरेको थियो। आमाबाबुले जहाँको भन्यो त्यहीँको तीर्थ गराएको थियो। कैयन् पटक त दोहोऱ्याएर वा तेहेऱ्याएर एउटै तीर्थ गराएको थियो। आफू पनि आस्तिक हुनाले र धार्मिक स्थलहरूको भ्रमण आफूलाई मन पर्ने हुनाले यस अर्थमा उसले पुण्य पनि पर्याप्त आर्जन गरेको थियो।

Vianet communication
Laxmi Bank

चौथो, ऊ सामाजिक रूपमा पनि प्रतिष्ठित थियो। अरूका कुरा काट्ने, खुट्टा तान्ने, वा ईर्ष्या गर्ने जस्ता गुणहरूले उसलाई छोएका पनि थिएनन्। सबैका प्रिय भएकाले उसको सामाजिक प्रतिष्ठा पनि राम्रै थियो। उसले दुई पटक स्थानीय वाणिज्य सङ्घको नेतृत्व पनि गरिसकेको थियो। व्यापारका बाहेक अन्य संघसंस्थाहरूमा पनि ऊ संलग्न थियो।

अन्य मानिसहरूले उसको जीवन आदर्श देख्थे। उसलाई पनि त्यस्तै लाग्थ्यो।

.......

पुण्यको परिवार करिब छ महिनाअघि मालपोत कार्यालयछेउको साँघुरो पाँच तले घरबाट नयाँ घरमा सरेको थियो। यो नयाँ घर चार तले थियो र पर्याप्त ठूलो थियो। भुइँ तला विशुद्ध रूपमा व्यापार गर्नका लागि बनाइएको थियो। पहिलो तला देखि तेस्रो तला फ्ल्याटका रूपमा विकसित गरिएका थिए। कोठाका आकारमा कुनै कन्जुसी नगरी पर्याप्त ठाउँ लिएर बनाइएका थिए। उसको घरको सबैभन्दा सानो कोठा नै सोह्र बाई अठाह्रको थियो। प्रत्येक बेडरूममा अत्याधुनिक अट्याच बाथरूम लगाइएका थिए। घरका सम्पूर्ण ढोकाहरू अटोमेटिक थिए। अर्थात् मानिस अगाडि गएर उभिएपछि ढोका आफैँ खुल्थे र छिरेपछि आफैँ बन्द हुन्थे। यस्तै वास बेसिन, कमोड आदि समेत अटोमेटिक थिए। इन्फ्रारेड सेन्सरले मान्छे डिटेक्ट गरेपछि सक्रिय हुने। प्रत्येक फ्ल्याटको मूल ढोकामा फेस डिटेक्सन सिस्टम जडान गरिएको थियो। कोरिडोर र भऱ्याङमा सिसिटिभी जडान गरिएका थिए जसको केन्द्रीय सर्भर ऊ सुत्ने कोठाको एउटा कुनामा थियो। प्रत्येक फ्ल्याटमा अत्याधुनिक फल्स सिलिङ जडान गरिएका थिए। देखिने किसिमका पिलरहरूमा गजब कलाहरू कुँदिएका थिए।

यस्तो भव्य घर देखेर छरछिमेकीहरू आश्चर्यले मुख बाउँथे। कतिपय ईर्ष्या गर्नेहरू उसको नाम जोडेर नाना थरिका कुराहरू पनि गर्थे। उसको आर्जनलाई लुटेर कमाएको धन पनि भन्थे। तर यी सबै कुरा आफू कमाउन नसक्नेहरूको ईर्ष्या मात्र थियो। सायद उनीहरूले पनि बेलैमा उसले झैँ व्यापार र जग्गामा लगानी गरेको भए, उनीहरूको पनि भाग्य चम्किन्थ्यो। अकर्मण्यहरूका लागि कसले धन तयार पारेर राख्छ र ?

......

उसकी पत्नी प्रभाको एउटा अनौठो बानी थियो। अलिकति बिरामी भयो कि डराइहाल्ने। उनलाई आफ्नो डर व्यर्थको हो भन्ने पनि लाग्थ्यो तर विश्वासलाई जहिले पनि डरले जित्ने। अनि अलिकति केही भयो कि जँचाउन बैङ्कक जाइहाल्नु पर्ने। यो बानी करिब १० वर्ष अघि बैङ्कक गएर होल बडी चेक अप गराएपछि लागेको थियो। त्यहाँका अस्पतालहरूको अत्यन्त व्यवस्थित प्रणाली, राम्रो सेवा र डाक्टरहरूको अत्यन्तै राम्रो व्यवहारले उनलाई चकित पारेको थियो। पुण्यले पनि पत्नी वर्षमा एकाध पटक बैङ्कक गएको नराम्रो मान्दैनथ्यो। उसलाई कहिलेकाहीँ आफ्नी पत्नी अनावश्यक रूपमा डराइरहेकी छ भन्ने पनि लाग्थ्यो तर उसले केही भनेको थिएन। उसको आमदानीको तुलनामा यो खर्च खासै ठूलो थिएन।

यस पटक उसकी पत्नीलाई ढाड दुख्ने समस्याले सताएको थियो। उनले ठूलो छोरासँग बैङ्कक जाने सल्लाह गरिन् र टिकटका लागि एयरलाइन्समा सम्पर्क गरिन्। कोभिड-१९ को जगजगी भएका बेलामा टिकट किन्दा पीसीआर नेगेटिभ चाहिन्छ भनी एयरलाइन्सले सूचना दिएको थियो। उनले नजिकको ल्याबमा स्वाब परीक्षण गराइन्। अर्को दिन ल्याबले कोरोना पोजिटिभ भएको रिपोर्ट पठायो।

उनी डराउन त डराइनन् तर तीनछक्क परिन्। केही दिनदेखि उनलाई ढाड दुख्ने साथसाथै सुक्खा खोकी पनि लागिरहेको थियो। अब बैङ्कक गएर जचाउन पनि सम्भव थिएन। धेरै लक्षणहरू नदेखिएकाले उनलाई घरमै आइसोलेसनमा बस्ने सल्लाह जनस्वास्थ्यका कर्मचारीले दिएका थिए। सोही अनुरूप उसको र उनको बेडरूम केही दिनका लागि छुट्टियो।

यसरी भिन्नै बेडरूममा सुतेको सात दिनपछि पुण्यलाई अचानक ज्वरो आयो। आठौँ दिन ज्वरो १०३ डिग्री पुगेको थियो। उसलाई आफूलाई ज्वरो आएको कोरोनाको कारणले होइन जस्तो लाग्यो। पाँचछ दिन अघिदेखि काम धेरै भएकाले धपेडीमा थियो ऊ। यही धपेडीले ज्वरो आएको होला, ठीक भैहाल्छ भन्ने उसलाई लाग्यो। सुत्ने कोठामा अट्याच बाथरूम छँदै थिए, ज्वरो अलिक बढी भएपछि ऊ नुहाउन थाल्यो। नुहाएपछि केही बेर ज्वरो ओर्लन्थ्यो, अनि फेरि उस्तै। अब भने उसलाई आफूलाई कोभिड भएको पक्का विश्वास भयो। यस्तो अवस्था देखेपछि उसकी पत्नीले पटकपटक अस्पताल जाऔँ, पीसीआर गराऔँ भनेकी थिइन् तर उसले मानेको थिएन। उसको आत्मबल अति उच्च थियो। आफ्नो इम्युनिटीले नै कोरोना भगाउँछु भन्नेमा ऊ विश्वस्त देखिन्थ्यो।

दिनका दिन उसको असजिलो बड्दै गएको थियो। उसलाई चिसो पानीमा लगातार नुहाएका कारण खोकी पनि लाग्न सुरु गरेको थियो। ज्वरो पटक्कै नओर्लिएपछि, पत्नीले प्यारासिटामोलको एक फाइल चारचार घण्टामा खान भनेर दिइन्। उसले औषधि कर्के नजरले हेऱ्यो। उसलाई यो औषधि नखाई निको हुन्छु भन्ने विश्वास थियो। अचाक्ली ज्वरो आएपछि उसले खाइ हेरौन त भनेर सिटामोल त खायो तर आधा ट्याब्लेट मात्र। त्यही मात्राले ज्वरो जाति हुन्छ भन्नेमा ऊ विश्वस्त थियो। तर ज्वरोले टेरेन र ओर्लिन मानेन। चार घण्टापछि उसले बाँकी आधा सिटामोल पनि खायो। तर अलिकति पनि सुधार भएन। खोकी भने बड्दै गैरहेको थियो। उसले छिटै निको हुने आस भने छोडेको थिएन।

उसले आधा सिटामोल खाएको पनि दुई दिन भैसकेको थियो। तर उसको विश्वास भने डगमगाएको थिएन। मधुमेह, उच्च रक्तचाप, मुटु-कलेजो आदिको दीर्घ रोग नभएको कारण कोरोनालाई सजिलै जित्छु भन्ने उसलाई लागेको थियो। उसको आत्मविश्वासलाई सायद उसको फोक्सोमा पुगेर करोडौँ गुनामा आफ्नो वंश विस्तार गर्ने नोभेल कोरोनाभाइरसले थाहा पाएको थिएन। ऊ कोरोनालाई परास्त गर्न लागि परेको थियो भने कोरोना भाइरस उसलाई पछार्न।

तेस्रो दिन उसलाई आफ्नो एक मात्र सालो मदनको फोन आयो, "भिनाजु, अब एक पटक जचाउनु पर्छ। तपाईँलाई कोभिड नभए पनि निमोनिया हुन सक्छ। निमोनियाले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। आजै अस्पताल गएर इमरजेन्सीमा जचाऊँ।" प्रभाले अस्पताल जाने र औषधि खाने जतिसुकै अनुरोध गरे पनि उसले नमानेकाले आफ्नो भाइसँग सहयोग मागेकी थिइन्। अर्थात् सालाको फोन आउनु दिदीभाइको संयुक्त उपक्रम थियो। तर उसलाई अस्पताल जान पटक्क मन थिएन। तर एक मनले भने निमोनियाको औषधि दियो भने त घरमा आएर खाँदा भैहाल्छ नि भन्ने विचार गर्दै उसले सालोलाई भन्यो, "ल, जँचाएर तु घर फिर्ता ल्याउने भए जौँ।" भन्यो।

उसलाई सरकारी अस्पतालको इमरजेन्सीमा लगियो। डाक्टरले उसका बिरामीको विवरण सुनेपछि इमरजेन्सीको फिभर क्लिनिकमा लैजान भने र तुरुन्त छातीको एक्सरे गराउन लगाए। साथसाथै कोभिड परीक्षणका लागि स्वाब सङ्कलन गर्न पनि अह्राए। एक्सरेको रिपोर्ट आउन करिब दस मिनट लाग्यो। एक्सरे हेर्ने बित्तिकै डाक्टरले भने, "आउन किन यति ढिलो गरेको, उहाँलाई कोभिड निमोनिया भैसकेको छ। तुरुन्त अस्पताल भर्ना गर्नु पर्छ। अक्सिजन लेभल ८० मा झरेको छ। छिटो उपचार थालेन भने भेन्टिलेटरमा राख्नु पर्ने स्थिति हुन सक्छ। उच्च ज्वरोले अरू कुन कुन अङ्गमा हान्यो त्यो त पछि नै थाहा होला। पीसीआर रिपोर्ट भरे बेलुका मात्र आउँछ। कोभिड रिपोर्ट पोजिटिभ नभै कोभिड अस्पतालले लिँदैन। स्थिति गम्भीर छ, ल्याउन ढिलो गर्नुभयो।"

डाक्टरले यसो भनेपछि चिन्तित उसकी पत्नी र सालाले उसलाई गाडीमा राखेर घरै फिर्ता गरे।

गाडीमा हालिसकेपछि उसले पत्नीलाई सोध्यो, "के भने डाक्टरले?" उसलाई अझै पनि आफू नै ठीक छु अर्थात् आफूलाई कोभिड लागेको छैन भन्ने नै लागिरहेको थियो। उसकी पत्नीले गम्भीर र अँध्यारो अनुहार बनाउँदै नढाँटी भनिन्, "लक्षण सबै कोभिड निमोनियाको छ रे। अस्पताल भर्ना नभए गाह्रो हुन्छ रे.....।" किनकि ढाँट्ता उनका पति अस्पताल जान्न भनेर जिद्दी कस्न सक्थे र ज्यान गुम्ने सम्भावना हुन्थ्यो।

पुण्य पत्नीका कुरा सुनेर झन तर्सियो। उसलाई लाग्यो, 'ला है, गलती पो गरिएछ कि क्या हो। भन्न त धेरैले निकै दिनदेखि अस्पताल जानु पर्छ भन्दै त थिए। प्रभाले त झन् कति पटक भनेकी थिई। मैले नै वास्ता गरिनँ। यस्तो पाजी कोरोनालाई म जस्तो हट्टाकट्टा मान्छेले नजिते कसले जित्छ भनी घरमै बस्दो भएँ। झन् ज्वरो कम गर्न नुहाएको नुहायै गर्न थालेँ। प्यारासिटामोल पनि आधा मात्र खाएँ। लान्छ कि क्या हो ?'

घर पुग्ने बित्तिकै उसले पत्नीसँग भन्यो, "खै त्यो प्यारासिटामोल दुई चक्की र ग्लुकोज पानी देऊ न त।" यस अघि ग्लुकोज कहिले नखाने मान्छे, ग्लुकोज माग्दा उसकी पत्नी छक्क परिन्। तर छक्क पर्ने समय थिएन। बेलुकी पिरिआर रिपोर्ट आउनासाथ एम्बुलेन्समा राखेर कोभिड अस्पताल कुदाउने योजना उसकी पत्नी र सालाले गरेका थिए। उनीहरू पनि विचलित थिए तर धैर्य छोडेका थिएनन्।पीसीआर रिपोर्ट आउने बित्तिकै अस्पताल कुदाउन उनीहरूले एउटा एम्बुलेन्सलाई तयार पारेर राखेका थिए।

बेलुकी चार बजे उसको पीसीआर रिपोर्ट सालाको इमेलमा आयो। निश्चय नै रिपोर्ट पोजिटिभ आएको थियो।

सालाले भने, "भिनाजु, तपाईँलाई कोभिड निमोनिया भएको पुष्टि भैसक्यो। अब कोभिड अस्पताल नगै हुँदैहुन्न। अक्सिजन दिँदा नभए भेन्टिलेटरमा राख्नु भनेका छन् डाक्टरले। मान्नु हुन्न भने हामी जबरजस्ती लैजान्छौँ। अस्ति नै गएको भए यो हालत त हुने थिएन।"

उसले मधुरो स्वरले भन्यो, "ल जाऔँ।"

पीसीआर रिपोर्ट आएको दस मिनेट भित्रमा उनीहरू अस्पतालतिर हुइँकीसकेका थिए।

एम्बुलेन्सभित्र पसे सँगै, अब ऊभित्र डर प्रवेश गरेको थियो। पछुतोले पनि उसको हृदयमा पर्याप्त स्थान लिएको थियो। आफ्नै कुबुद्धिले अकालमै मरिने भैयो भन्ने लागेको थियो। उसले व्यापार, घर, साथीसङ्गी, परिवार, समाजका सबैजनालाई सम्झियो। आमा-बालाई सम्झियो। उसका बाले निकै उमेर खाएका थिए। दुई वर्ष अघि दसदान वैतरणी पनि गरिसकिएको थियो। त्यस्ता बूढा बाले छोरो बितेको खबर सुने के होला भन्ने डर ऊभित्र पस्यो। आफू मर्दा त्यसले पर्ने असरका दृश्यहरू उसका आँखासामु झलझली आए। उसले बाआमालाई लिएर गएका सबै तीर्थहरू सम्झियो। भगवान्‌सँग प्रार्थना गर्न थाल्यो। अत्यन्त भयभीत र कातर देखिएको थियो पुण्य।

उसको सम्झिने क्रम जारीरहँदा उसका सालाले कम्तीमा चारवटा कोभिड अस्पताल चाहारीसकेका थिए। जहाँ पनि एउटै जबाफ हुन्थ्यो, "बेड खाली छैन।" उनीहरूले खोजेको पाँचौँ अस्पताल पुगेर पनि यही जबाफ पाउँदा उसकी पत्नी र सालाको होस् ठाउँमा थिएन। ऊ भने खोक्दै एम्बुलेन्समा सुतिरहेको थियो। उसको आफ्नै पनि होस् गुम्न लागेको थियो। केही नलागेपछि अन्त्यमा उसले नै पत्नीलाई एउटा फोन नम्बर दिएर फोन गर्न लगायो। सो नम्बर उसका काकाका छोरा भाइको थियो। भाइ गृह मन्त्रालयमा उपसचिव थिए। उनका भाइले अस्पतालमा फोन गर्दा पहिले त बेड नभएकै रेडिमेड जबाफ दिइयो। तर उपसचिवले फोन गरेको थाहा पाएपछि अस्पताल प्रशासनमा केही हलचल भयो। यो पाँच तारे अस्पताल सर्वसाधारणका लागि अत्यन्त महँगो थियो र भर्ना हुन पनि सोर्स लगाउनु पर्ने। अस्पताल प्रशासनले यता र उति फोन गर्नै मात्रै एक घण्टाको समय लगायो। त्यसपछि उसलाई भेन्टिलेटर सहितको आइसियुमा भर्ना गरिएयो। सुरुमै पाँच लाख जम्मा गरेर अस्पतालको आइसियु बेडको दैनिक शुल्क पैँतालिस हजार थियो। तर उसलाई पैसाको चिन्ता थिएन। उसको उपचार सुरु भैसकेको थियो।

बेडमा पुऱ्याएर उसलाई तुरुन्त सलाइन चढाइयो। नाकबाट अक्सिजन दिन थालियो। यति भैरहँदा उसले आफूले गरेको हेलचेक्र्याइँले कस्तो आपद् निम्त्यायो भन्ने कुरा सोचीरहेको थियो। तर अब पछुताएर काम थिएन। समयलाई रिवाइन्ड गर्न सकिन्नथ्यो। त्यसैले उसको सम्पूर्ण ध्यान अब कसरी बाँच्ने भन्ने कुरामा केन्द्रीत थियो।

बेलुकी सम्पूर्ण शरीर पीपीईले छोपेर आएका डाक्टरले उसको पीसीआर रिपोर्ट हेरे, सरकारी अस्पतालको इमरजेन्सीमा गरिएको एक्सरे हेरे र भने, "हेर्दा त पढ्यालेख्या जस्तै देखिनुहुन्छ। कि छिटै मर्न मन लागेको छ कि क्या हो? कोभिड निमोनियाले फोक्सो लान आँटीसक्यो त? अक्सिजन लेभल ७५ छ। यो बढेन भने त स्थिति क्रिटिकल हुन्छ है। निमोनिया नियन्त्रणका लागि अहिलेबाटै एन्टिबायोटिक सुरु गर्दैछु। भोलिसम्म तपाईँको अक्सिजन लेभल ९० पुग्यो भने एन्टिभाइरल ड्रग रेमडेसिभिर चलाउनु पर्छ। यदि त्यस्तो भएन र अक्सिजन लेभल घट्यो भने, भेन्टिलेटरमा जानु पर्छ, आर्टिफिसियल ब्रिदिङका लागि। र यो कुरा सम्झिनुहोस्, भेन्टिलेटरबाट कमै मात्र मान्छे फर्किन्छन्।"

उसलाई यति मात्र भन्न आयो, "डाक्टर, कृपया यो मेरी पत्नीलाई नसुनाइदिनुहोला। सालोलाई भन्दा हुन्छ।" डाक्टर रिसाएको अनुहार लगाएर बाहिर कोभिड वार्डबाट निस्किएर चेन्जिङ रूमतर्फ गए। पीपीई फुकालेर लुगा फेरे पछि, एक जना नर्सलाई उसको सालोलाई बोलाउन पठाए। मदन डराउँदै भित्र पस्यो। डाक्टरले सालोलाई उसलाई भनेकै कुरा भने र उसको इच्छा पनि सुनाए। सालोले बुझिसकेको थियो- 'अब भगवान् भरोसा। भिनाजुले अटेर गरेरै बिगारेका थिए।'

बाहिर निस्केर दिदीलाई सुनायो, "निमोनियाको दबाई चालू भयो रे। भोलि रेमडेसिभिर दिने कुरा छ। बिरामी जाति हुन समय लाग्न सक्छ, अलिक छिटो आएको भए छिटै निको हुन्थ्यो भन्दै थिए डाक्टरले।"

दिदीले सोधिन्, "खतरा कत्तिको छ भने कि भनेनन्?"

सालोले घुमाएर उत्तर दियो, "राम्रो हुने सम्भावना धेरै छ रे।"

....

डाक्टर हिँडेपछि पुण्यलाई खपिनसक्नुको छटपटि भयो। शरीर पूरै पसिनाले भिज्यो। त्यसै त ज्वरो घटाउने औषधि सिटामोल खाएको, त्यसले पनि पसिना निकाल्थ्यो। तर डाक्टरको कुराले त्यसको चौगुना काम गरेको थियो। उसको दायाँपट्टिको कपबोर्डमा राखेको अक्सिमिटर तानेर मुस्किलले चोर औँला अक्सिमिटरमा घुसायो। उसका दायाँ हातमा क्यानुला फिट गरिएको थियो र त्यसैबाट इन्ट्राभेनस इन्जेक्सन र सलाइन चढाइएको थियो। करिब एक मिनेटपछि उसले अक्सिमिटरका अङ्कहरू पढ्यो। अक्सिजन लेभल ९१ र पल्स १२०। पल्स बढेको ज्वरो आएकाले होला भन्ने उसलाई लाग्यो तर अरू पनि कारण हुन सक्छन् भनेर झन् चिन्तित थियो। डाक्टरले अक्सिजन नदिईकन अक्सिजन लेभल ९० पुग्नु पर्छ भनेको थियो। उसलाई यस्तो गहिरो पीडा कहिल्यै भएको थिएन। अब शङ्काले हो वा वास्तविक हो, मांसपेसीहरू असाध्यै दुख्न थालेका थिए। वाकवाकी लागिरहन्थ्यो। केही खाएको पनि थिएन। शरीर त कोभिडले बिरामी भएकै थियो, उसको आफ्नै बेहोराले मन पनि नितान्त बिरामी बनाएको थियो। आजको एक रातले उसको जीवन वा मृत्यु तय गर्ने थियो। उसलाई तत्कालको सबैभन्दा ठूलो चिन्ता भनेको रात कसरी काट्ने भन्ने थियो। मनमा आफ्ना इष्टदेवलाई पुकार्नु बाहेक ऊसँग कुनै उपाय थिएन। समय कति खतरनाक हुँदो रहेछ, उसलाई राम्ररी बोध भएको थियो। यो सबै समयकै खेला त थियो। यदि उसले समयमा सिटामोल खाएको भए? अरूले भनेको मानेर तीनचार दिन अगावै जँचाउन आएको भए? दिए अनुसारको खाना खाएको भए?

सायद उसको पुकार इष्टदेवले सुने। मेडिसिन ट्रली गुडाउँदै, पीपीईले पुरिएकी नर्स उसकै बेड छेउ आइन्। डिस्पोजेबल सिरिन्ज निकालेर एउटा एम्पुलको औषधि भरिन्। सलाइन बन्द गरिन् र क्यानुलाको बिर्को खोलेर सो औषधि पुण्यको नसामा छिराइदिइन्। अनि फेरि क्यानुलाको बिर्को लगाएर सलाइन चालु गरिदिइन्। पुण्यले इसारामै सोध्यो – केको औषधि? नर्सले पनि इसारामै जबाफ दिइन् – सुत्ने औषधि। उसले इष्टदेवलाई मनमनै धन्यवाद दियो। आजको रात निदाइयो भने भोलि अक्सिमिटरको निर्णय मान्नु पर्ने थियो। अर्थात् जीवन वा मृत्यु त्यो चोर औँलामा लगाउने एउटा पिलिक पिलिक गर्ने यन्त्रले बताइदिने थियो। डाक्टरले भनेझैँ भेन्टिलेटरमा गएपछि फेरि फर्केर बाँचिएला भन्ने लागेको थिएन। हुन त उसले पहिले भेन्टिलेटरमा हप्तौँ बसेर स्वस्थ भएका मानिसहरू पनि चिनेको थियो। तर यो सम्भावना धेरै कम हुन्थ्यो। अझ अहिलेको महामारीमा त यो सम्भावना झनै थिएन। सेडेटिभले काम गर्न थालेको हुनाले उसका आँखा बन्द हुँदै गए। ऊ निदायो।

.......

मदन र प्रभा घरतिर लागेका थिए। उनीहरू अस्पतालमा बसेर पनि कुनै काम थिएन। बिरामीको छेउमा गएर कुरा गर्ने, वा खानेकुरा खुवाउने वा अन्य सेवा गर्ने कुरै थिएन। कोभिड वार्डमा छिर्न पनि मुस्किल थियो। एक जना मात्र छिर्न पाइन्थ्यो त्यो पनि एकदमै छोटो समयका लागि। घरतिर लाग्दै गर्दा मदन भने भित्रभित्रै विचलित थियो तर अनुहारमा हारेको भाव आउन दिएको थिएन। दिदीलाई उसले जोगाउनु थियो। उसले दिदीको अनुहारतिर हेऱ्यो। वेदनाका अनन्त लहरहरू अनुहारभरि छाएका थिए। उसले आजसम्म दिदीलाई यस्तो पीडामा देखेको थिएन। सानातिना विपदा, समस्या सबैका जीवनमा हुन्छन् नै। ती सबै प्रभाले पनि भोगेकी थिइन्। पुण्यसँग बिहे गरेपछि उनीहरूलाई सबैकुराले साथ दिएको थियो। एउटा "सफल" जीवनको परिभाषाभित्र पुण्यप्रभा पर्दथे। मदन विचलित हुनबाट बच्न धेरै कोसिस गरिरहेको थियो तर उसलाई आफू त्यसमा सफल भएको लाग्दैनथ्यो।

घर पुग्दा साँझ गहिरिएर रात बन्ने क्रममा थियो। प्रभा अँध्यारोदेखि डराउँदिनथिन्, तर आज उनलाई असाध्यै डर लागिरहेको थियो।अङ्ग्रेजी हरर फिल्महरूमा देखेका डरलाग्दा पिसाचहरू आँखा अघि आउन खोजीरहेका थिए। घरभित्र आफ्नो कोठामा पसेर बत्ती बालेपछि मात्र उनी अलिक सम्हालिइन्। आफ्नो जीवनसाथीको त्यस्तो हालतले उनमा अनेक थरिका शङ्का उपशङ्काहरू उब्जाइरहेका थिए। प्रेमको धागोले बुनेको जीवनको माला कतै चुँडिने त हैन? उनी भयले काँपीरहेकी थिइन्।

सेविकाले खाना पकाएर पर्खिरहेकी थिइन्। मदनले थिएटर आर्टिस्ट झैँ, निकै भोक लागेको अभिनय गऱ्यो र मुस्किलले खाना खाइसक्यो। उसलाई पनि आजको रात कसरी काट्ने भन्ने सकस थियो। निदाइन्छ होला जस्तो लागेको थिएन उसलाई। ऊ निकै बेर पछि निदायो।

उता प्रभा अलिकति खाना खाएजस्तो गरेर कोठामा पल्टिइन्। झन्डै पन्ध्र दिनदेखि उनी सुतेको बेडरूम त्यही थियो। आइसोलेसनमा गएपछि उनी र पुण्य अलग कोठामा बसेका थिए। प्रभाको शरीर थकित थियो र मन पनि क्लान्त थियो। आफ्नै शरीर आफैँलाई बोझ भएजस्तो। आफ्नो मनको भारी बोक्न नसकेजस्तो। सबै कुरा गह्रौँ, समय गह्रौँ, प्रेम गह्रौँ र थुप्रै कुरा गह्रौँ।

…..

अर्को दिन मदन र प्रभा सबेरै अस्पताल पुगे। प्रभाले अस्पतालको बिहानीको शीतल वातावरणमा आशा र निराशाका भावहरू, ईश्वर आराधानहरू, केही पछुतो, केही आँट, केही हार, केही कुण्ठा, केही वितृष्णा, गुजुल्टिएको पाइन्। कतिपय त उनका आफ्नै भावना दुर्भावना पनि थिए।

मदन कोभिड वार्ड सम्पर्क डेस्कमा गए र नर्सलाई सोधे, “पुण्य भिनाजुको अवस्था कस्तो छ सिस्टर?”

नर्सले भनिन्, “आज बिहान ४ बजे अक्सिजन बन्द गरेका छौँ। अक्सिजन लेभल ९० छ। सुधारको स्थिति देखिएको छ। तर निश्चित भन्न सक्ने स्थिति भने छैन। अक्सिजन लेभल ड्रप हुन सक्छ। आजदेखि रेमडेसिभिर चलाउनु भनेकाले आधा घण्टा अघि पहिलो मात्रा दिइसकेका छौँ। तर उहाँ हिजो बेलुकी दिएको सेडेटिभका कारणले ब्यूँझिनु भएको छैन।”

नर्सलाई धन्यवाद दिएर मदन दिदी भए ठाउँमा गयो। प्रभा मदनलाई देख्ने बित्तिकै बसेको बेन्चबाट उठिन्। उनको अनुहारमा अनगिन्ती चिन्ताहरूमाझ एउटा प्रमुख प्रश्न झुन्डिएको थियो। मदनले भन्यो, “हिजोभन्दा सुधार छ रे। आजदेखि अर्को औषधि पनि चालू गरेको रे।”

मदनको जबाफ सुन्दै उसका अनुहारका भावहरू पनि पढ्न थालिन् प्रभा। उनलाई कहीँ न कहीँ मलाई सबै कुरा भनेको छैनन् कि भन्ने लागिरहेको थियो। मदनको अनुहारमा प्रशन्नता देखेर प्रभाको मनमा पनि आशाको दियो बल्यो। त्यो दियोको प्रकाश उनका ओठमा पनि देखिएको थियो।

….

बिहानको नौबजेतिर पुण्य ब्यूँझियो। उसले देब्रेहातले अनुहार छाम्दा अक्सिजनको पाइप भेटेन। उसले लगाएको अक्सिजनको पाइप सिलिन्डरमाथि गुजुल्ट्याएर राखिएको थियो। पुण्यले आफ्नो ज्यान हिजोभन्दा केही हलुका भएको अनुभव गरिरहेका थियो। अक्सिजन हटाइएको थियो- जसको अर्थ हुन्थ्यो उसको अक्सिजन लेभल नर्मलतिर आएको छ। हिजो बेलुकीको डाक्टरको चेतावनी सम्झिँदा, र अहिले आफ्नो हालत देख्दा पुण्यलाई ठूलो आस पलायो। उसलाई लाग्यो- अब बाँचियो भने, कहिल्यै पनि हेलचेक्र्याईँ गर्नेछैन। उसले हृदयबाटै ईश्वरलाई सहस्र धन्यवाद टक्र्यायो।

यत्तिकैमा पीपीईले सजिएर दुई जना डाक्टरहरू उनको बेडछेउ आए। हिजो कुरा गर्ने डाक्टरले भने, “ल खुसीको कुरा, तपाईँको अक्सिजन लेभल इम्प्रुभ भएछ। बिहानदेखि रेमडेसिभर चलाएका छौँ। तपाईँको निको हुने सम्भावना ९०% पुग्यो। तर होस् गर्नुहोला। कहिलेकाहीँ रेमडेसिभिर दिँदादिँदै स्थिति बिग्रिन्छ। त्यसैले ढुक्क हुने बेला अझै भएको छैन”।

यति भनी राखेर डाक्टरहरू हिँडे। पुण्यले यसलाई निको हुने सम्भावनाका रूपमा नलिएर बाँच्ने सम्भावनाका रूपमा लियो। उसको जीवन त गैसकेको थियो। सास फेर्ने फोक्सोले सास नतानेपछि सबैथोक सिद्धिने नै थियो। पुण्यले पहिलेदेखि नै पढेको सुनेको थियो - स्वास्थ्य नै धन हो। (हेल्थ इज वेल्थ)। आज उनलाई त्यस भनाइको गाम्भीर्य अनुभव भयो। यस भनाइले वास्तवमा भन्न खोजेको रहेछ – स्वास्थ्य नै सर्वश्व हो। पुण्यलाई आज आफ्नो चेतनाको ढोका खुलेजस्तो लागिरहेको थियो। आफू एक नयाँ मानिसका रूपमा जन्मिएको भान भैरहेको थियो। उसले यो नयाँ जीवनलाई असाध्यै सम्हालेर राख्नु पर्ने भएको थियो। उसलाई आफ्नो ज्ञानको सीमितता प्रति पनि ढिट लागेर आयो। उसले फेरि अङ्ग्रेजीमा पढेको उखान सम्झियो - लिटल नलेज इज डेन्जरस थिङ। पैसाका गड्डीहरू, आलीशान घर, सामाजिक प्रतिष्ठा आदिले मानिसको जीवन बचाउन सक्ने रहेनछन् भन्ने उनलाई लाग्यो।

पुण्यभित्र मनको कुनामा कहीँ कतै धनी भएको अहम् सायद लुकेर बसेको हुँदो हो। तर उनको पुनर्जन्मले त्यो अहम् गर्ल्याम-गुर्लुम ढालिदिएको थियो। ऊ नितान्त नयाँ जन्मिएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १३, २०८०

वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...

मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x