पतिले साथ छाड्दा पनि आत्मनिर्भर उद्यमी बनेकी यी महिला

जीवन विष्ट
जीवन विष्ट

विष्ट लोकान्तरका लागि सुदूरपश्चिम प्रदेश प्रतिनिधि हुन् । 

‘नेपालीको बानी आत्तिने, छिटो प्रगति भएन, पैसा भएन, उपलब्धि भएन भन्ने हुन्छ । तर मैले कहिल्यै यस्तो सोचिनँ । संघर्ष गर्दै गए, अहिले सन्तुष्ट छु,’ उनले भनिन् । 

उनी अर्थात् धर्मा सिंह । उमेरले ४० वर्ष पुगेकी धनगढी उपमहानगरपालिका–३ विशालनगरकी धर्मा को परिचय त्यति मात्रै छैन, उनी उद्यमी महिलाका रूपले परिचित छिन् । 


Advertisement

१६ वर्षकै उमेरमा बिहे गरेकी धर्माको १७ वर्षमा छोरी भइन् । पतिको कमाइ केही नहुँदा बिहे गरेको केही समयमै घरपरिवार धान्ने सबै जिम्मेवारी उनले नै सम्हालिन् ।

‘त्यसपछि आफैं कमाउन थालें,’ उनले भनिन्, ‘अहिले छोराछोरीहरू ब्याचलर लेबल पुगेका छन् । छोराले अहिले जापानका लागि अप्लाइ गरिरहेको छ । छोरी ब्याचलर पढिरहेकी छन्, परीक्षा थियो लकडाउनले रोकियो ।’ 


Advertisement

बिहेपछि ...

२०५२ माघमा बिहे हुँदा १६ वर्षकी धर्मा ७ कक्षामा पढ्थिन् । पतिको मुख नै नहेरी बुवाआमाकै रोजाइका मान्छेसँग बिहे गरिन् उनले । माइतीमा निकै सुखसयलमा हुर्केकी उनी बिहेपछि भने घरको आर्थिक स्थिति न्यून भए पनि निकै समस्यामा परिन् ।

‘गरीब घरमा परियो । मेरो दाजु सरकारी जागिरे हुनुहुन्थ्यो । बुवाआमाले घरमा काम गर्ने मान्छे पनि राख्नुभएको थियो,’ उनले भनिन्, ‘तर आफू भने निकै न्यून स्थितिको परिवारमा परियो । श्रीमानले गाडी चलाउनुहुन्थ्यो । तर घरमा उहाँले कहिल्यै पैसा दिनुभएन ।’

तराईमा हुर्केकी उनी बिहे गरेपछि पहाडी जिल्ला बझाङ पुगिन् । त्यहाँ उकाली–ओराली गर्न नसकेपछि उनी फेरि तराई झरिन् ।

किराना पसलबाट धनगढीमा घरजग्गा

उनले २०५३ सालमा धनगढी चौराहामा किराना पसल थालिन् । त्यसको ४ वर्षपछि १ लाख १० हजारमा धनगढीको विशालनगरमा ३ कट्ठाको घडेरी किनिन् । 

त्यसको दोस्रो वर्षमा उनले आफ्नै कमाइले घर निर्माण गरिन् अनि उनले आफ्नै घरमा किराना पसल राखिन् । झण्डै १२ वर्ष आफ्नै घरमा किराना पसल सञ्चालन गरिन् उनले ।

‘छोरा–छोरी सानै थिए । यही किराना पसलबाट मैले धनगढीमा घडेरी किनेर घर लगाएँ । किराना पसलबाटै छोराछोरीलाई स्कूल पढाएँ,’ उनले भनिन् ।

पतिले घर–व्यवहार धान्न कहिल्यै सहयोग गरेनन् । त्यसपछि पतिले बसको जागिर पनि छोडे, राजनीति कता–कता अल्झिए । उनले भनिन्, ‘म आफैंले धनगढीमा घर–जग्गा जोडेर छोरा हुर्काएँ, ब्याचलरसम्म पढाएँ ।’

किरानापछि घरेलु उद्योग

उनका पतिले भएको जमिन पनि बचेर गाडी किने । किराना पसल छोडेर उनी छोराछोरीलाई उच्च शिक्षा पढाउन पतिसँगै काठमाडौं गइन् । ‘छोरी कलेज जान्थिन् । म त्यहाँ पनि त्यत्तिकै बसिनँ । एउटा बुटिकमा काम गर्थें,’ उनले भनिन्, ‘त्यहाँ पनि मैले महिनाको ९–१० हजार कमाउँथे । छोरीले त्यतिखेर १२ पास गरिन् ।’

काठमाडौंमा भूकम्प गएपछि पतिको कमाइ नहुँदा महंगीले काठमाडौं टिक्न नसक्दा फेरि धनगढी फर्किनुपरेको उनले बताइन् । काठमाडौं हुँदा उनले बुटिक सम्बन्धी सीप सिक्न पाइन् । छोरीले पनि डिजाइनरको तालिम लिइन् । ‘सानैदेखि सीपकलातिर मेरो ध्यान धेरै थियो । केही देखेपछि सिकिहाल्ने, कसैले सिकाउनै नपर्ने । मलाई रुमाल बुन्नेदेखि बुटिक बनाउनेसम्म सबै आउँछ,’ उनले भनिन् ।

छोरीले पनि केही महिना तालिम लिएपछि आमालाई नै सहयोग गरिन् । त्यसपछि उनले घरेलु उद्योग दर्ता गरिन् । छोरीकै नामबाट उद्योगको नाम राखेर चलाउन थालिन् उनी ।

‘आफ्नै घरमा उनले अहिले ‘गायत्री डल कुसन गिफ्ट उद्योग’ सञ्चालन गरिरहेकी छन् । आफूसँग भएको गरगहना बैंकमा राखेर उनले ५० हजार रुपैयाँबाट उद्योग सञ्चालन गरिन् । गुडिया, डल बनाउन सिपालु उनले त्यसबाट मासिक ४० हजार रुपैयाँ आम्दानी गर्न थालिन् ।

केही समयमै बैंकमा राखेका गरगहना पनि उनले फिर्ता लिइन् । कारोबार राम्रो हुँदै गएपछि २ लाखको स्कूटर किनिन्, आफ्ना लागि सिक्री किनिन् । छोरालाई काठमाडौं पढाइरहेकी छिन् । छोरीको कलेजको खर्च पनि तिरिरहेकै छिन् । 

मासिक ४० हजार आम्दानी, गृहिणी महिलालाई रोजगारी 

छोरीको नामबाट सञ्चालन गरिरहेको उद्योगबाट उनले मासिक ४० हजार रुपैयाँ आम्दानी मात्रै गरिरहेकी छैनन्, इच्छुक महिलालाई आफूले सिकेको सीप सिकाइरहेकी छन् । ‘दैनिकजसो किन्न आउने ग्राहकहरू सिक्न खोज्छन् अनि मैले कोर्सको ३ हजार रुपैयाँका दरले लिने पनि गरेकी छु,’ उनले भनिन्, ‘अहिले महिलालाई मासिक १८ हजार रुपैयाँ पारिश्रमिकका दरले रोजगारी पनि दिइरहेकी छु ।’

उनी आफैंले विभिन्न खाले डल, गुडिया, कोठामा डेकोरेसन गर्ने कुसनहरू, सिरानी लगायत आफैं बनाउने गरेकी छन् । ‘मेहनत त धेरै हुन्छ नि ! कैचीले काट्नुपर्छ, भुवाहरू मुखमा उड्छ । आँखा, नाकभित्र गए त निकै गाह्रो हुन्छ । एउटा डल बनाउन पनि ३–४ घण्टा लाग्छ,’ उनले भनिन् ।
 
‘श्रीमानले साथ छोडे, त्यसपछि ठूलो सपना देखें’

धर्माका पतिले उनको साथ छोडे । तर उनले आफ्नै दिनचर्या छाडिनन् । ‘श्रीमानले साथ छोड्नुभयो, उहाँ अहिले मसँग हुनुहुन्न । उहाँले अर्को बिहे गर्नुभयो । सम्बन्धविच्छेद भइसक्यो हाम्रो । मैले अंश पनि लिइसकें, छोरीछोरी मेरै भागमा परे,’ उनले भनिन् । 

त्यसपछि उनले ठूलो सपना देखिन् । हाल कम लगानी रहेको घरेलु उद्योगलाई बृहत् बनाउने उद्देश्य रहेको उनले बताइन् ।

आफ्नो व्यवसाय प्रवद्र्धन गर्न उनले कम मेहनत भने गरेकी छैनन् । कैलालीमा हुने मेला–महोत्सवमा उनी उद्योगको स्टल राख्ने गर्छिन् । उनी कहाँ सबैभन्दा ठूला डल ३ हजारसम्मका छन् । २० रुपैयाँदेखि ३ हजारसम्मका डलहरू छन्,’ उनले भनिन्, ‘तर मैले ३ हजारमा बेच्ने डललार्ई धनगढी बजारमै ५ हजारमा बेच्ने गरेका छन् ।’

मासिक रूपमा ४० हजारसम्म कारोबार गरिरहेकी उनी अहिले भने निकै समस्या खेपिरहेकी छन् । एकातिर कोरोना कहरका कारण उद्योगका लागि आवश्यक सामाग्री ल्याउन सकिरहेकी छैनन् भने अर्कातिर उत्पादित चिजवस्तुले बजार पाइरहेका छैनन् ।

कोरोना महामारीका कारण व्यवसाय निकै सुस्त भएको उनको दुखेसो छ । कोरोना कहर समाधान हुँदै गए लगानी बढाएर व्यवसायलाई अझ ठूलो पार्ने योजना उनको छ । ‘अबको केही वर्षपछि छोराछोरी पढाइ सकेर आफ्नै व्यवसाय गरिहाल्छन्,’ उनले भनिन्, ‘मैले भने व्यवसाय छाड्दिनँ,’ उनले भनिन्, ‘अहिले ४० वर्षकी भएँ, अझै १० वर्ष त मज्जाले आफैं मेहनत गर्न सकिहाल्छु नि !’

जीवन विष्ट
जीवन विष्ट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्