बलिउड अभिनेताले बिहारका एक यूट्युबरविरुद्ध गालीबेइज्जतीको कानूनी सूचना पठाएका छन् ।
सुशान्त सिंह राजपूतको मृत्यु प्रकरणमा गलत र आधारहीन आरोप लगाएकोमा यूट्युबरविरुद्ध उनले ५०० करोड भारुको जरिवाना भराइपाउन समेत मागदाबी गर्ने बताएका छन् ।
अक्षयले मंगलवार आईसी लिगल नामक ल फर्ममार्फत राशिद सिद्दीकीलाई कानूनी सूचना पठाएका हुन् । सिद्दीकीको यूट्युब च्यानल एफएफ न्युजमा अक्षयविरुद्ध अनेकौं गालीबेइज्जतीपूर्ण भिडियोहरू अप्लोड गरिएको छ ।
आफूसँग निःशर्त माफी माग्नुपर्ने र च्यानलबाट आपत्तिजनक भिडियो हटाउनुपर्ने अक्षयको माग छ ।
मुम्बई प्रहरीले सिद्दीकीविरुद्ध बेग्लै जाहेरी दर्ता गरेको छ ।
‘भिडियोमा रिया चक्रवर्तीलाई क्यानडातिर भगाउन अक्षयले सहयोग गरेको, महाराष्ट्र सरकारका मन्त्री आदित्य ठाकरेसँग गोप्य बैठक गरेर सुशान्तको मृत्युको विषयमा कुराकानी गरेको गलत र आधारहीन आरोप लगाइएकाले कानूनी सूचना पठाइएको हो, ल फर्मको बयानमा उल्लेख गरिएको छ ।
यस्ता किसिमका भिडियोहरू भविष्यमा अप्लोड नगर्न चेतावनी दिइएको छ ।
सिद्दीकीले कानूनी सूचनालाई तीन दिनभित्र जवाफ नदिएमा अक्षयले कानूनी प्रक्रिया थाल्ने ल फर्मले जानकारी दिएको छ ।
एजेन्सी