केशव सरको मौरीमोह : सरकारी तलब सँगसँगै वार्षिक १० लाख थप कमाइ

विजय उत्सव
विजय उत्सव

पत्रकार विजय उत्सव लोकान्तरका गण्डकी प्रदेश प्रतिनिधि हुन् ।

कक्षा कोठामा विद्यार्थी पढाउने उनी त्यस बाहेकको समय मौरी पढ्न व्यस्त हुन्छन् । मौरीको क्रियाकलाप, खानपिन, मह उत्पादन लगायत कसरी हुन्छ भन्नेबारे जान्न उनमा रुचि यति बढ्यो कि पछिल्लो समय मौरीको पयार्यवाची नै भइसके ।

त्यसैले त पाल्पा जिल्लाको पश्चिमी रिब्दीकोट गाउँपालिका–७ (साविक पालुङमैनादी) स्थित उनको ३ तले घर वरपर लहरै ३ दर्जन बढी मौरीघार सजिन पुगे ।


Advertisement

२०५५ सालतिरको कुरा हो, केशव कुँवर (४४) मह खोज्न हिँडे । भर्खरै नेपाल आर्मीमा भर्ती भएका भाइ दीपकको लागि मह चाहिने भयो तर गाउँघरमा कहीँकतै मह पाइँदैन्थ्यो । पाए पनि परम्परागत एउटै मुढेघारबाट माथि उक्लिन नसकेपछि उत्पादित मह घर खर्चमै कतिपयले सक्थे ।

उनी छिमेकी गाउँ काटेर पल्लो ठिमुरे धुस्टुङ देउराली पुगे । त्यहाँ उनले मात्र २ किलो मह किन्न सफल भए । 


Advertisement

सानैमा मामाघर जाँदा उनले मुढेघारमा मौरी पालेको देखेका थिए । त्यहाँबाट उनले एउटा घार ल्याए र मौरी अध्ययन थाले । दिउँसोको समयमा प्रभात माविमा पढाउनुपर्ने भए पनि साँझबिहान घरको कामकाजसँगै मौरीपालन थालेपछि उनले क्रमशः मौरी घार बढाए । मौरीपालन सम्बन्धी पुस्तक पढे । जानेबुझेकासँग सरसल्लाह लिए । 

‘शुरूशुरूमा त कति नोक्सान भयो, मह निकै खेर गयो,’ उनी भन्छन्, ‘पछि बिस्तारै जानें । अहिले सहज भएको छ ।’ 

मौरीले कुन फूल रुचाउँछ ? कसरी मह उत्पादन गर्छ ? जाडो गर्मीमा मौरी कसरी बचाउने ? कसरी मौरी सार्ने ? लगायतमा उनी विज्ञ नै भइसकेका छन् ।

मौरीपालनको व्यावसायिक उत्पादनमा उनको अभिरुचि र लगाव देखेर ‘इन्नोभेसन एक्सन नेपाल’अन्तर्गत नयाँका युवा (नयाँ घर) कार्यक्रममा पाल्पाका २५ युवा कृषक छनोटमा उनी दोस्रो नम्बरमा पर्न सफल भएका थिए । 

सरकारले बेलाबखत दिने गुणस्तरीय मह उत्पादन र बजारीकरण तालिममा सहभागी भई थप जानकारी लिने मौका पनि उनले पाएका छन् । 

‘जाडो र गर्मी महिनामा विशेषगरी मौरीको व्यवस्थापनमा कठिनाइ हुने उनको भनाइ छ । यसबेला ख्याल गरिएन भने मौरी मर्ने तथा भाग्ने डर हुन्छ,’ उनी भन्छन्, ‘बचावटका लागि घारलाई छहारी दिने गर्नुपर्छ ।’ घारलाई पूर्वदक्षिण मोहोडामा राख्नुपर्ने उनको सुझाव छ । घारमा कीरा लाग्ने डर पनि उत्तिकै हुँदा हेरविचार आवश्यक रहेको उनले बताए ।

मौरीपालनबाट उनलाई सन्तुष्टि त मिलेकै छ, त्यसका अलावा मनग्ये आम्दानी पनि छ । उनले मौरीपालनबाटै वार्षिक झण्डै १० लाख आम्दानी हुने बताए । उनले स्कूलबाट मासिक तलब त पाउँछन् नै, सँगसँगै मौरीपालनको कमाइ पनि गर्छन् ।  पालेका विकासे र मुढेघारबाट मह बिक्रीका लागि सदरमुकाम तानसेन धाउनुपर्दैन । कतिपय घरमै आउँछन् त कतिले अर्डर दिन्छन् ।

यसरी मौरीपालनमा तल्लिन हुने केशव सर जिल्लाकै सबैभन्दा बढी मौरीको घार भएका व्यक्ति हुन् । उनीकहाँ ठाउँठाउँबाट मानिस मौरीपालनबारे बुझ्न आउने गरेका छन् । विगतको समयमा मौरीपालन व्यवसायमा लाग्नेको संख्या कम र बजारमा पनि खासै माग नहुँदा समस्यामा पनि परेको उनले सम्झिए । तर पनि हरेश नखाई आफू यहीँ व्यवसायमा लाग्ने निर्णय गरे । संघर्षको फल मीठो हुन्छ भनेजस्तै उनले अहिले पनि यहीँ व्यवसायबाट मनग्य कमाएर तराईमा घडेरी पनि जोडेको बताउँछन् । उनले धेरै हण्डर र ठक्कर पनि खाए । अनेकन समस्या पनि झेले । तर हिम्मत नहारी र चुनौतीको सामना गर्दै आफूलाई एक सफल व्यवसायीको रूपमा स्थापित गरेरै छाडे ।

मौरीपालनको झण्डै २ दशकमा उनले जानेको कुरा हो – घामले सुकाउने र हावाले उडाउने फूलको रस संकलन गर्ने मौरीको जस्तो एकता हामी मानवजातिमा पनि जरुरी छ । 

नेपालमा केही सम्भावना छैन भनी विदेशिने युवालाई स्वदेशमै परिश्रम र पसिना बगाउन सके यही सुन फल्ने कुँवरको सुझाव छ ।

विजय उत्सव
विजय उत्सव

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्