
काठमाडौं, ३१ वैशाख — टर्कीको मार्मारिसमा एक भीरबाट महिला र बालबालिकासहितको बस खस्दा कम्तीमा २३ जनाको मृत्यु भएको छ ।

‘बसमा रहेका २० जनाको मृत्यु अनि अरू ११ जना गम्भीर घाइते भएका छन्,’ अमिर सिसेकले भने । उनी मुग्ला प्रान्तका गभर्नर हुन् । यो डरलाग्दो दुर्घटना भएको उनले बताए ।
उनका सहायक कमिल कोटेनका अनुसार बस एउटा ब्यारियर तोडेर १५ मिटरमुनिको सडकमा खसेर तीनजना चढेको एक कारमाथि बज्रेको थियो ।
‘कारमा बसेका मानिससमेत गन्दा मृतकको संख्या २३ पुग्छ,’ सरकारी सञ्चारमाध्यम अनादोलु समाचार संस्थाले अमिरलाई उद्धृत गर्दै बतायो ।
उक्त दुर्घटना शनिवार साकार पासनिर भएको थियो । त्यो भिरालो बाटोमा थुप्रै साँघुरा मोडहरू छन् ।
सिसेकले दुर्घटनाको अनुसन्धान भइरहेको जानकारी दिए । ‘बसको ब्रेक फेल भएको हुन सक्छ,’ उनले बताए ।
द गार्डियनबाट