महाराजाहरूले समेत हल्लाउन नसकेका प्रचण्डलाई ओलीले सक्लान् ?

दिलनिशानी मगर
दिलनिशानी मगर

समसामयिक विषयमा कलम चलाउने दिलनिशानी मगर लोकान्तरका नियमित स्तम्भकार हुन् । 

शिरकभित्र सुतेर, कौशीमा बसी काजु खाँदै र कफी पिउँदै प्रचण्डको राजनीतिक भविष्यको आंकलन गर्नेहरू यो धर्तीमा धेरै जन्मिए। अब यहाँ एउटा यस्तो मनुष्य बाँकी रहेन जसले प्रचण्डको राजनीतिक भविष्यको आंकलन गरेको नहोस् । अरू त अरू हिजोआज प्रचण्डको राजनीतिक भविष्यलाई लिएर राजावादीहरू सेमत राजनीतिक विश्लेषक बन्न थालेका छन्। रातारात उनीहरूलाई पारस शाहको भन्दा प्रचण्डको भविष्यको माया लाग्न थालेको छ। 

ढिकुरपोखरीमा जन्मेको एउटा मान्छेलाई कतिपयले जादुगर सोचेका छन्। लौ यसले त के टुनामुना गर्‍यो सकिन लाग्यो भनेको त झन् सबैभन्दा ठूलो कम्युनिस्ट पार्टी बनायो, चुनाव पनि देशैभरि जितायो, आफ्नो विचार देशभरि लागू गरेर देखायो हैन यो त साँच्चै जादुगर नै रहेछ भन्ने परेको छ। फेरि यो नयाँ प्रस्ताव ल्याएर के गर्न खोजेको आफ्नै पार्टीको नेता प्रधानमन्त्री छ, उसैको आलोचना गरेको छ, यो फेरि नयाँ जादु त हैन भन्ने परेको छ, किनकी स्वर्गीय गिरिजाबाबुले पनि प्रचण्डको जादु देखेरै 'ल प्रचण्डजी मैले तपाईंलाई मानें, देश सुम्पिएँ' भनेर गएका थिए।


Advertisement

यसकारण प्रचण्ड मान्छे कम जादुगर धेरै हुन्। तर मेरो नजरमा प्रचण्ड त्यस्ता जादुगर हैनन् कि, भित्र भित्रै गुपचुप के–के देखाउने, रुमाल हल्लाउने, आँखामा पट्टी बाँध्ने यस्ता जादुगर हैनन्। उनी हाकाहाकी जादुगर हुन्। केही दिन अगाडि आएको राजनीतिक प्रस्ताव त्यही जादुको एउटा कडी हो, जो हाकाहाकी भएको छ। यस्तो जादु मैले जीवनमा कहिल्यै नदेखेको र देख्न पनि नपरोस् भनेर प्रधानमन्त्री ओली अचम्ममा परेका छन्। त्यो अचम्मको जादु देखेर ओलीतिरका मानिसहरू भने साँच्चिकै डराएका छन्। मिलेर जाऊँ यस्तो खतरनाक जादु नदेखाउनुहोस् प्लिज भन्न थालेका छन्।

प्रचण्ड जादुगर मात्र हैन, जादुगरको आधिकारिक संस्था नै जस्तो लाग्छ । यो संस्थाले पछिल्लो एक दशकमा आफ्ना जादुहरू प्रदर्शन गर्दै आएको छ।  यसकारण 'कसैले राजा आऊ, देश बचाऊ “ भन्यो भने मलाई त प्रचण्डलाई गाली गरेजस्तो लाग्छ। गणतन्त्र चाहिन्न बोझ भयो, संघीयता धन्न सकिन्न भन्ने पटमूर्खका कुरा सुन्दा पनि प्रचण्डलाई नै गाली गरेको लाग्छ। यो पहिचान र समावेशिताले देश टुक्रिने भयो, सामाजिक सद्भाव खलल भयो भन्ने कुरा सुन्दा पनि प्रचण्डलाई नै श्राप दिएको जस्तो लाग्छ। यसकारण सर्वप्रथम प्रस्ट रूपमा के हो भने यो लेख प्रचण्ड एउटा व्यक्तिका लागि चाकडीपूर्ण भाष्यमा लेखिएको लेख हैन। म आफू संघीय लोकतान्त्रिक गणतन्त्रको कडा समर्थक भएको हुँदा फलाम तातेको बेला यसो घन हानेको मात्रै हो । 


Advertisement

पार्टी एकता नभएको भए वा प्रचण्डले पहलकदमी नलिएको भए केपी ओली प्रधानमन्त्री बन्ने थिएनन् । भन्न त केही मानिसहरू भन्छन्, प्रचण्डले विप्लवलाई पनि छाड्यो, मोहन वैद्य किरणलाई पनि छाड्यो । अब नेकपा पनि बिगार्न खोज्यो । यो राजनीतिक चेत नभएका लठुवाहरूको तर्क हो । यदि प्रचण्डले विप्लव र किरणलाई नछाडेर सँगै गएको भए, अहिले उनी कुनै कोठामा रक्सी पिएर वा दिल्लीतिर बरालिएर बसिरहेका हुने थिए ।

प्रचण्ड एक गम्भीर प्रकृतिको संस्था भएको कुरा मरिसकेका प्रेतात्माहरूलाई समेत थाहा भएको कारण यो प्रचण्डलाई सिध्याउनुपर्छ,यसको चीरहरण गर्नुपर्छ, यसको राजनीतिक विचारधारालाई कोल्याप्स गराउनुपर्छ भनेर विगत धेरै वर्ष अगाडिदेखि यो भूमिमा देशी–विदेशी शक्ति केन्द्रहरू लागे। प्रचण्डलाई भौतिकरूपमा सिध्याउनका लागि तत्कालीन शाही शासक र राजनीतिक दलको मुकुण्डो ओढेका तिनका केही  मतियारहरूले शाही सेना परिचालन गरे। प्रचण्डको टाउकोको नै खोजी गर्दा तिनले आँखै नहेरी गोली चलाए। मान्छे मात्र हैन तिनले कुकुर बिरालोलाई पनि मान्छे नै भनेर मारे।  प्रचण्डको टाउको खोज्न आउनेहरूको प्रतिकार गर्दा, प्रचण्डपथका लागि ढाल बनेर रक्षाकवच बन्दा शासकको गोलीबाट हजारौं निर्दोषहरू, गोठालाहरू, भरियाहरू मारिए । 

आखिर किन तिनीहरू प्रचण्डको  रक्षाकवज बने त ? किनकी प्रचण्ड मान्छे थिएनन्, प्रचण्ड त उत्पीडनमा परेका करोडौं जनताका एउटा सामूहिक विचार थिए।

२१औं शताब्दीको जनवादी क्रान्ति र समाजवादको लक्ष्य थियो । यदि प्रचण्डका राजनीतिक माग संविधान सभाको निर्वाचन, गणतान्त्रिक व्यवस्था तत्कालीन दरबारले मानिदिएको भए शायद आज नारायणहिटी राजदरबार एउटा संग्रहालयको रूपमा परिणत हुने थिएन । तर तत्कालीन दरबारको सम्पूर्ण शाही शक्ति प्रचण्डलाई धुलो चटाएरै छाड्ने दुस्साहस गरिरह्यो। अन्तत: शाह वंशका अन्तिम राजा ज्ञानेन्द्र मध्यराति ठूलो ट्रक झिकाएर आफ्नो लुगा फाटो बोकेर सदाका लागि दरबार त्यागे। 

कहिले काहिँ प्रचण्ड जोखिमको नजिक पुग्दा, राजनीतिक अवस्था तरल बन्ने हो कि भन्ने सन्नटा पैदा हुँदा कतिपय मण्डले चरित्रका झुण्डहरूले सजिलै भन्ने गर्छन्- 'पूर्वराजा ज्ञानेन्द्रले चाहेको भए सेना परिचालन गर्थे, जे पनि गर्न सक्थे, प्रचण्डलाई  जेल हाल्न सक्थे तर जनताको मायाले त्यसो गरेनन्।' तिनका यस्ता हास्यास्पद कुरा मुन्द्रेको कमेडी क्लबमा पनि देख्न पाइन्न । उनीहरूलाई ज्ञानेन्द्रको दरबार त्याग सत्य युगमा गौतम बुद्धले त्यागेको दरबारजस्तो बडो दार्शनिक लागेको छ। हिम्मत भए तिनले प्रचण्डलाई जेल हाल्ने कुरा त परै जाओस् छोएर मात्र देखाए त्यो धेरै साहसपूर्ण कदम हुनेछ। अनेकौं तिकडम कसैले रच्छ भने प्रचण्डको रक्षाकवजका लागि सिंगो देश खडा हुनेछ । हजारौं कार्यकर्ताहरू, युवाहरू बलिदानीका लागि तयार हुनेछन्। 

प्रचण्डलाई सिध्याउन दरबारले अन्तिमसम्म सेनाको प्रयोग गर्न चाहेकै थियो। तर सेनाले मानेन । सेनाको दरबारिया लिगेसीका रूपमा अन्तिमसम्म प्रकट भएका रुक्माङ्गत कटुवालले पनि प्रचण्डलाई सखाप पार्ने अनेकौं तानाबाना हुने । तर ती दु:खिया राष्ट्रवादीले अन्तिममा छड्के सलामी हान्न बाध्य भए । यसरी तत्कालीन दरबारले आफूलाई असुरक्षित महसूस गरेर नै तत्कालीन माओवादी र त्यसको नेतृत्व मूलत: प्रचण्डपथ माथि निरन्तर सैनिक बल प्रयोग गरिरह्यो । एकपटक त झण्डै–झण्डै मार्‍यो। तर पनि अनेकौं रणनीतिहरू, कूटनीतिहरू,  पवित्र अपवित्र संवाद र सहकार्य गरेर देश गणतन्त्र नेपालसम्म आइपुगेको हो। जनताको हातमा शासन सत्ता आएको हो। 

प्रचण्डसँग मिलेर दुईपटक प्रधानमन्त्री भैसकेका केपी ओलीले आफूलाई कटुवाल कै हाराहारीमा राख्न खोजेको प्रतीत हुन्छ । उनका जंगे शैली र अहंकारी स्वभावहरू कारण यतिबेला राजावादीहरूले पनि केपी ओली जिन्दावाद भन्न थालेका छन् । कुन दिन तिनले केपी ओली र ज्ञानेन्द्र शाहको फोटो भएको टिसर्ट लगाएर मोटरसाइकल र्‍याली निकाल्छन् भन्ने खतरा भैसकेको छ, किनकी आफ्नो फोटो बिजुलीको पोलमा झुन्ड्याउन ओली पछि परेका थिएनन् । उनले बीचमा अध्यादेश ल्याउन खोज्नु, संसद्को कामकारवाही स्थगित गराउनु, आफ्ना विरोधीहरू, आलोचकहरूलाई पूर्णरूपमा अस्वीकार गरेर बन्देज लगाउनु उनको सामन्ती शैलीबाहेक अरू केही हैन ।

तर जतिसुकै चलखेल भए पनि, जतिसुकै अपमानको भारी बोक्नु परेपनि जब–जब प्रचण्ड झण्डै–झण्डै मर्न खोज्छन्, झण्डै–झण्डै पतनको बाटोमा पुगे कि भन्ने लाग्छ, तब–तब नै नेपालमा परिवर्तनको आभासहरू संस्थागत हुँदै आएका छन् । प्रचण्डको यस्तै जोखिमपूर्ण बलिदानीका बावजुद अहिले नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत गर्ने प्रकियामा छ । अझ योभन्दा एक कदम अगाडि बढेको कुरा गर्ने हो भने धर्म निरपेक्ष, समावेशी प्रतिनिधित्वजस्ता महत्त्वपूर्ण सामाजिक समानताका आधारभूत मान्यताहरू संविधानमार्फत नै संस्थागत भैसकेका छन्। यो प्रचण्डको सानो दु:ख, संघर्ष र बलिदानले आर्जिएको उपलब्धि हैन। 

तर दु:खको कुरा, हिजो देशमा गणतन्त्र आउनु भनेको बयलगाढा चढेर अमेरिका जानु जस्तै हो भनेर अराजनीतिक तुच्छ भाषण गर्नेहरू अहिले राज्यको नेतृत्वमा छन्। र तिनीहरूसँग सहकार्य गर्नु प्रचण्डको बाध्यता बनेको छ। हिजो काँग्रेससँग पनि सहकार्य गरेकै हो । गिरिजाबाबुसँग पनि सहकार्य भएकै हो । ओलीसँग सहकार्य गर्नु पनि बाध्यता र आवश्यकता दुवै छ ।

यसकारण मूलत: विगतकै आ-आफ्ना लिगेसी अनुरूप टकराव शुरू भएको छ । हिजो दरबारिया र महाराजाले राख्ने अपेक्षा आज गणतन्त्रवादी हौ भन्ने केही नेताहरूले राख्न थालेका छन् । तिनीहरू भन्छन्- 'प्रचण्डलाई जनयुद्धको मुद्दामा फसाउन पर्छ, लडाकुहरूको मुद्दा निकाल्नु पर्छ, प्रचण्डलाई हेग लैजानुपर्छ यस्तै–यस्तै।

यस्तो सोच अब राजावादी मण्डलेहरूले पनि राख्न सक्दैनन् । ती डर मान्छन्, प्रचण्ड भन्ने त मान्छे हैन यसलाई सकिन्न भन्ने परेको छ। तर खै किन हो प्रधानमन्त्री केपी ओली र यिनीनिकट मानिसहरूले प्रचण्डलाई कुनै काठको खेलौना जस्तो, कपडाको गुडियाजस्तो सोचेका छन्। 

बैठक, छलफल, विधि, विधान र सामूहिकताको कुरामा विश्वास गर्न छाडेर 'कि प्रचण्ड छैन कि म छैन भन्ने' प्रधानमन्त्री ओलीको शंखघोष आफूले खाएको थालमा आफैंले पिसाब फेरेजस्तै भएको छ । अनि म एकदम ठूलो कदम चाल्छु भनेर दिएको धम्की बिरालोलाई बाघको छाला लगाइदिए जस्तो भएको छ । बिरालोलाई बाघको छाला लगाइदिँदा एकछिन त्यो बाघजस्तै देखिएला तर केहीबेरमा त्यो म्याउँ गरिहाल्छ। केपी ओली जति गर्जिए पनि उनी अन्तत; गर्ने म्याउँ नै हो, किनकी महाराजाहरूले आफ्ना शाही सेना प्रयोग गरेर हल्लाउन नसकेको प्रचण्डलाई ट्वीटर पनि चलाउन नजान्ने, एउटा बोल्ने ढंग नभएका अनि पाखण्डी कुरा गर्दै हिँड्ने चार भाइले कसरी हल्लाउन सक्लान् र ? 
तपाईंहरू गहिरो गरी हेर्नुभयो भने यतिखेर सडकमा राजावादीहरू सल्बलाइरहेका छन्।

केही राजावादीहरूले केपी ओलीलाई इतिहासमा नाम लेखाउन अनुरोध पनि गरेका छन्। के ओली त्यसप्रकारको वा कुनै असंवैधानिक कदम चाल्न तयार छन् त, यही त्यसो गरे भने उनीभन्दा पनि उनले नियमित सेवन गर्दै आएको औषधिको दोष हुनेछ । युगाण्डाका शासक इदी अमिनको नेपाली संस्करणको पदार्पण हुनेछ।  तर नेपाली जनता ७० को दशकमा छन् र नेपाल बाहिरको राजनीतिक, घटनाक्रमसँग सम्पूर्णरूपले अपडेट छन्। ओली सरकार असफल भैसक्यो भनेर बच्चालाई पनि थाहा भैसक्यो। नपाउनेले केरा पायो बोक्रा समेत खायो भनेजस्तै बालुवाटार कोटरीमा अहिले बोक्रा खाने प्रतिस्पर्धा चलेको अनुमान लगाउन सकिन्छ । 

केपी ओली सरकारले जनहितका लागि काम गर्न त सकेन नै, पछिल्ला केही घटनाक्रमहरूले यो सरकार कतै संघीय लोकतान्त्रिक गणतन्त्रको विरुद्धमा त छैन भन्ने शंका उब्जिएको छ। किनकी प्रचण्डलाई निरन्तर अपमान गर्नु, पहिलो, दोस्रो अध्यक्षको किटान गर्नु, कुर्सी तलमाथि पार्नु यो प्रचण्डको अपमान मात्र हैन, गणतन्त्रको विरोध पनि हो। ओली सरकारले नेपालको अगाडि गणतन्त्र राख्नुपर्दैन भनेर मातहतलाई निर्देशन दिइसकेको छ। ओलीकै निकट पात्र पूर्वमन्त्री गोकुल बाँस्कोटाले सार्वजनिक रूपमै संघीयता बाध्यताका कारण मानिदिनु परेको हो भनेका छन् । प्रधानमन्त्री स्वयंले स्थानीय सरकार केबल इकाइ मात्र हो भनेर संघीयताको मर्ममाथि नै प्रहार गरेका छन्।

काण्डैकाण्ड अनि फण्डैफण्डाको शिखरमा उभिएका प्रधानमन्त्रीलाई देखेर उनका अनुयायीहरूले सगरमाथाको शिखर आरोहण गरे जसरी सन्तोष प्रकट गरिरहेका छन्। तर तिनले आफ्नो वादशाह पहिलो आधार शिविरमै बेहोश भएको कुरा थाहा पाएका छैनन् वा बताउन चाहेका छैनन्। 

पार्टी एकता नभएको भए वा प्रचण्डले पहलकदमी नलिएको भए केपी ओली प्रधानमन्त्री बन्ने थिएनन् । भन्न त केही मानिसहरू भन्छन्, प्रचण्डले विप्लवलाई पनि छाड्यो, मोहन वैद्य किरणलाई पनि छाड्यो । अब नेकपा पनि बिगार्न खोज्यो । यो राजनीतिक चेत नभएका लठुवाहरूको तर्क हो । यदि प्रचण्डले विप्लव र किरणलाई नछाडेर सँगै गएको भए, अहिले उनी कुनै कोठामा रक्सी पिएर वा दिल्लीतिर बरालिएर बसिरहेका हुने थिए । प्रचण्डले कसैको उक्साहटमा त्यसो गरेनन् बरु उपलब्धिको रक्षाका लागि सधैँ भिडिरहे। शान्ति सम्झौतापश्चात पनि प्रचण्ड कहिले सडकमा, कहिले सरकारमा, कहिले सदनमा अनवरत आन्दोलनमा छन् । र अहिले पनि नेकपाभित्र प्रचण्डको आन्दोलन नै जारी छ ।

यो आन्दोलनले नयाँ कम्युनिस्ट पार्टीको निर्माण गर्ने मात्र हैन सरकारले जनतालाई अनुभूति पनि दिनेछ। तर ओली सरकार दिनप्रतिदिन बदनाम हुँदै गयो । ओलीकै कारण गणतन्त्र, संघीयताजस्ता निकै उन्नत तथा प्रगतिशील व्यवस्थाप्रति नै मानिसहरूले प्रश्न चिह्न उठाउन थाले । ओलीले प्रचण्ड, माधव नेपाल, झलनाथ खनालको अस्तित्व स्वीकार गर्न चाहेनन्, बरु आलंकारिक राष्ट्रपतिसँग बारम्बार भेट गरे। पार्टीमा दशकौंदेखि लगानी गरेका बेरोजगार नेताहरूको निरन्तर बेवास्ता गर्दै युवराज खतिवडालाई काखी च्यापेर निरन्तर लाभको पद दिने काम गरे जबकि उनी असफल अर्थमन्त्रीका  रूपमा स्थापित छन्।

यो सरकार मूलत: पूँजिपति वर्गको भयो । र यसले पक्षपोषण पनि पूँजीपतिकै गर्दै आयो । नातावाद र गुटवाद मात्र हैन जातिवाद पनि हावी हुँदै गयो। बालुवाटारको गेटबाट भित्र पोलिटब्यूरो सदस्य छिर्न पाउँदैनन् । केन्द्रीय सदस्य छिर्न पाउँदैन, पार्टी कार्यकर्ता छिर्न पाउँदैनन् । तर 'केपी बा’ भनेर जो कोहीले सम्बोधन गरेपनि उनीहरूलाई सहजै छिर्न दिइन्छ भनेर एकजना उपल्लो स्तरकै नेताले अस्ति एक संवादमा हाँसो गरेका थिए। ओलीलाई आलोचना गर्नु भनेको तत्कालीन राणा, पञ्चायती शासक र महाराजाहरूको आलोचना गरेजस्तै कठिन भएको छ । 

एउटा टुहुरो छोरालाई पालन पोषण गर्नका लागि अशिक्षित सौतेनी आमाको कचकच कति धेरै हुन्छ, अबोध बच्चाको मानवीय संवेदनालाई कति धेरै निर्मम ढंगले आरोप लगाउँछन्,  त्यो विगतमा गाउँघरको दोबाटोमा, चौतारीको कचहरी र आमा समूहको भेलामा देख्न पाइन्थ्यो। अहिले त्यस्तै निर्मम सौतेनी आमाको आवेग बालुवाटारको कुटी भएर सामाजिक सञ्जाल हुँदै मिडियाहरूमा प्रतीत हुँदै आएका छन्। बच्चा कसको हो भनेर चिन्न नसक्दा चिर्ने कुरा गर्दा असली आमा पत्ता लागेको थोत्रा किम्बदन्ती सुनाउने ओलीले गणतन्त्रको विचार प्रचण्डको हो, संविधान र संघीयताको लाइन पनि प्रचण्डकै हो । आधी–आधी सरकार चलाउने सहमतिमा पनि महान् त्याग गरेका कारण यो सरकारको आमा पनि प्रचण्ड नै हो भनेर बुझ्न सकेनन् । 

तिनै रुखो अहंकारी सौतेनी आमाको छायाँ अरू कोही नभएर प्रधानमन्त्री केपी शर्मा ओलीको मुहारमा प्रस्टसँग देखिन थालेको छ। काण्डैकाण्ड अनि फण्डैफण्डाको शिखरमा उभिएका प्रधानमन्त्रीलाई देखेर उनका अनुयायीहरूले सगरमाथाको शिखर आरोहण गरे जसरी सन्तोष प्रकट गरिरहेका छन्। तर तिनले आफ्नो वादशाह पहिलो आधार शिविरमै बेहोश भएको कुरा थाहा पाएका छैनन् वा बताउन चाहेका छैनन्। 

ओलीले आफू कम्युनिस्ट पार्टीको प्रधानमन्त्री भन्ने कुरा बिर्सेर सरकारी जग्गा यतीलाई हस्तान्तरण, मेडिकल उपकरणमा ३ अर्ब भ्रष्टाचार, वाइडबडी खरिदमा ६ अर्ब भ्रष्टाचार,  राज्यको  अर्बौं रकमले गुटको भरणपोषण, ओम्नी समूहलाई स्वास्थ्य सामग्रीको ठेक्का, अनुदानको सामान छाडेर नक्कली स्वास्थ्य सामग्री खरिद, राष्ट्रिय गौरवका आयाेजनाबाट अर्बौंको कमिसन, ट्रष्ट र सरकारी जग्गा यती समूहलाई हस्तान्तरण,  सेक्युरिटी प्रिन्टिङ प्रेस मेसिन खरिदमा ७० करोडको बार्गेनिङ, सिण्डिकेट जोगाएर अर्बौंको कमिसन र घुस, संघीय सांसदलाई दिनदहाडै अपहरण, पार्टी फुटाउन दल विभाजनको अध्यादेश जारी, निर्वाचन आयोगमा नेकपा एमाले दर्ता, देशद्रोही एमसीसी सम्झौता पारित गर्न जोरजुलुम जस्ता कयौं काण्डहरू केपी ओलीकै सरकारले घटायो ।

त्यति मात्र हैन, संवैधानिक अंगलाई गुटको भर्ती केन्द्रमा रुपान्तरण, मदन भण्डारी फाउन्डेसनका नाममा देशभरि गुट भेला,  मिडिया नियन्त्रण गर्न मिडिया काउन्सिल विधेयक, संसद् चल्दाचल्दै सभामुखलाई समेत जानकारी नदिई संसद् अधिवेशन अन्त्यको घोषणा जस्ता कयौं अधिनायकवादी चरित्र ओलीले जनतासामु प्रकट गरे। उनले चीनसँग गरिएका सम्झौता कार्यान्वयनमा रुचि देखाएनन् । ओलीले आफ्नै प्रदेश सरकार गिराउन अविश्वासको प्रस्ताव ल्याउन खोजे । खुलामञ्चमा निमुखालाई खाना वितरणमा रोक लगाए । कुलमानको अवकाशपछि पुनर्नियुक्तिको चौतर्फी मागलाई बेवास्ता गर्दै असक्षम सालोलाई नियुक्ति दिए । साथै पर्सामा आफ्नै पार्टी कार्यकर्ताको हत्या हुँदा खासै चिन्ता प्रकट गरेनन्। लिम्पियाधुराको चुच्चे नक्सा हटाएर भारतको विश्वास जित्ने प्रयास गरे । अनेकौं बहाना बनाएर नयाँ नक्सासहितको पाठ्यक्रम समेत रोक्ने काम भयो।  रअ प्रमुखसँग मर्यादाविपरीत गोप्य रूपमा भेट र साँठगाँठ गरेर देशको कूटनैतिक मर्यादाको खिल्ली उडाए । 

यसरी देशको अहितमा काम गर्दै, जनताको नजरबाट दिन प्रतिदिन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्डलाई निस्तेज पार्ने सपना देखेका छन् भने त्यो ज्यादै गम्भीर हुनेछ । त्यो गणतन्त्र विरुद्धको चलखेलका रूपमा प्रकट हुनेछ, किनकी उनले कुनै ठूलो कदम चाल्ने धम्की दिँदै आएका छन् । गणतन्त्रमा, संसदीय व्यवस्थामा उनले ठूलो कदम चाल्छु भनेको के हो ? के उनले कदम चाल्दैमा चालिने हो ? उनी शाही राजा हुन् ? उनी सैन्य शासकका नायक हुन् ? वा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुन् ? उनी कोप्रति उत्तरदायी हुने हो ? यस्ता कुरा सोझा जनताले पनि बुझेका छन्। त्यस्तो अवस्था आएको खण्डमा सबै राजनीतिक दलहरू मिलेर लोकतन्त्रको रक्षाका लागि एकजुट हुन आवश्यक छ। उनलाई बालुवाटारबाट बिदाइ गर्नुको विकल्प हुँदैन । 

महाराजाहरूले समेत हल्लाउन नसकेका प्रचण्डलाई केपी ओलीले कसरी हल्लाउलान् ? त्यो भने हेर्न बाँकी छ ।

(यो लेखकको निजी विचार हो ।)

दिलनिशानी मगर
दिलनिशानी मगर

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्