हत्या अभियोग लागेर फरार भएको ८ वर्षपछि कारागार चलान

प्रतिकात्मक तस्वीर

हत्या सम्बन्धी मुद्दाको अभियोग लागेर फरार रहेका एक अभियुक्त ८ वर्षपछि कारागार चलान भएका छन् । 

महोत्तरीको सोनमा गाउँपालिका–८ का २२ वर्षीय विद्यार्थी पंकज यादवलाई अपहरण गरी हत्या गरेर फरार रहेका अभियुक्त जिवछ अन्सारीलाई महोत्तरी जिल्ला अदालतको आदेशमा जेल चलान गरिएको हो । 
    
विक्रम संवत् २०६९ चैत ४ गते जिल्लाकै सोनमा गाउँपालिका–८ का श्याम राय यादवका छोरा १२ कक्षामा अध्ययनरत २२ वर्षीय पंकज यादवलाई ललाइफकाई जलेश्वर घुमाउने भनी ल्याएर अपहरण गरी लागूऔषध सेवन गराई अर्धचेत भएपछि जलेश्वर नपा–१ स्थित राविम क्याम्पसको चौरमा निजको घाँटी रेटी हत्या गरेर फरार रहँदै आएका एकडारा गाउँपालिका–३ का जीवछ अन्सारीलाई महोत्तरीको जलेश्वर नपा–३ भिठ्ठामोडबाट मंसिर ३ गते प्रहरीले पक्राउ गरिएको थियो ।


Advertisement

पंकज धनुषाको जनकपुर नगरपालिकाको पिडाडीचोकमा डेरा गरी बस्दै आएका थिए । 

पक्राउ परेका अन्सारीले नै ल्याएको छुराबाट ४–५ जना मिलेर किशोर यादवको हत्या गरी उनले नै बोकी ल्याएको खुर्पा र कोदालोले घटनास्थल नजिकै रहेको रातुखोलाको बगरमा खाल्डो खनी शव गाडेका थिए । मृतकका बुवा श्याम राय यादवलाई विक्रम संवत् २०६९ चैत १० गते सिरहा जिल्लाको लक्ष्मीपुरस्थित कमला नहरमा बोलाई ७ लाख नेपाली फिरौतीसमेत लिएका थिए ।


Advertisement

महोत्तरी जिल्ला अदालतले निज अन्सारीको हकमा विक्रम संवत् २०७२ जेठ १८ गते अपहरण तथा शरीर बन्धक मुद्दामा १७ वर्ष कैद र २ लाख ७५ हजार जरिवाना तोकेको थियो । सोमवार उनलाई अदालतले कैद सजायका लागि जलेश्वर कारागारमा पठाएको छ । 

उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा महोत्तरी जिल्ला अदालतमा अझै पनि मुल्तवी छन् भने २०५१ सालमा उनले झुठा विवरण पेश गरेर नेपाली नागरिकता लिएकोविरुद्ध २०६२ सालमा जिल्ला प्रशासन कार्यालय महोत्तरीमा पनि नागरिकता मुद्दा दर्ता रहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्