१ डिग्री तापक्रम बढ्दा जीडीपीमा १.६१% घाटा

तस्वीर सौजन्य : कान्तिपुर दैनिक

अन्तर्राष्ट्रिय कम्पनीहरूले हरेक वर्षजस्तो घुम्नैपर्ने देशको सूचीमा नेपाललाई अग्रपंक्तिमा राख्ने गरेका छन् । प्राकृतिक सुन्दरताका हिसाबले त्यो सूचीमा पर्नु सुखद भए पनि पछिल्ला वर्षमा जलवायु परिवर्तनका कारण हिउँ पग्लिने र अन्य जलवायुजन्य जोखिमको दर बढ्दा पर्यटन क्षेत्रमा गम्भीर असर पर्ने देखिएको छ ।

जलवायु परिवर्तनका कारण पर्यटन क्षेत्रमा वार्षिक २५ अर्ब रुपैयाँ (२४१.६३५ मिलियन अमेरिकी डलर) सम्मको क्षति हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र प्राक्टिकल एक्सनको अध्ययनले देखाएको छ । उक्त अध्ययनले हिउँ पग्लिने दरमा वृद्धि, बाढी, पहिरो, हिमआँधी, हिमपहिरो र मौसमी गतिविधिजस्ता जलवायुजन्य प्रकोपले पर्यटन क्षेत्रको अर्थतन्त्रमा असर निम्त्याइरहेको देखाएको छ । प्राक्टिकल एक्सनका क्षेत्रीय सल्लाहकारसमेत रहेका जलवायु परिवर्तनविज्ञ सुनील आचार्यका अनुसार पर्यटकको मुख्य गन्तव्य पोखरा, लाङटाङ र चितवनलाई प्रमुख आधार मानेर अध्ययन गरिएको थियो ।


Advertisement

सन् २०१७ र २०१८ मा गरिएको उक्त अध्ययनले जलवायुजन्य प्रकोपका कारण पर्यटन क्षेत्रबाट कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा नोक्सानीको दरसमेत बढ्दै गएको देखाएको छ । ‘जलवायुजन्य विपद्का कारण सन् १९८५–२०१५ सम्म पर्यटन क्षेत्रमा घाटा बढेको देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘सन् १९८५ देखि १९९० सम्म जीडीपीमा ०.०७७८ बिलियन रहेको नोक्सानी बढेर सन् २०१० देखि २०१५ सम्ममा १.४६२४ बिलियन भएको छ ।’

तापक्रम १ डिग्री सेल्सियसका दरले वृद्धि भए कुल गार्हस्थ्य उत्पादनमा १.६१ प्रतिशतले घाटा हुने अध्ययनको निष्कर्ष छ । जलवायु परिवर्तनको मुख्य कारक मानिएको हरितगृह ग्यास उत्सर्जनले तापक्रम वृद्धि हुँदा हिउँ र हिमनदी पग्लिने र हिमतालको आकार बढ्ने हुनाले जोखिम उच्च भएको छ । त्यसको प्रत्यक्ष असर हिमाल आरोहण र हिमाली क्षेत्रको पदयात्रामा पर्ने जानकारहरू बताउँछन् । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को ‘द हिन्दुकुश हिमालय एसेसमेन्ट–माउन्टेन, क्लाइमेट चेन्ज, सस्टेनेबिलिटी एन्ड पिपल’ प्रतिवेदनमा शताब्दीको अन्त्यसम्म विश्वको तापक्रम वृद्धि १.५ डिग्री कायम हुँदा पनि ३६ प्रतिशत र अहिलेकै अवस्थामा कार्बन उत्सर्जन हुने हो भने ६४ प्रतिशत हिउँ पग्लने चेतावनी दिएको छ ।


Advertisement

अध्ययनमा संलग्न आचार्यले प्रतिवेदनले जलवायु उत्थानशील पर्यटकीय पूर्वाधारको विकासमा लाग्न सुझाएको जानकारी दिए । ‘कालान्तरमा जोखिम बढ्ने भएकाले कसरी अनुकूलित हुने भनेर बेलैमा ध्यान दिनुपर्ने भएको छ,’ उनले भने । अध्ययनमा संलग्न राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयाँलले अर्थतन्त्रमा ठूलो असर पर्न सक्ने देखाएकाले हिमालय क्षेत्रको दिगो पर्यटनका लागि दीर्घकालीन कार्यक्रम प्रस्ताव गरिएको बताए ।

‘तापक्रम वृद्धि हुँदा पर्यटन क्षेत्रमा कस्तो स्थिति आउला भनेर अध्ययन गरिएको थियो,’ उनले भने, ‘सम्भावित जोखिमलाई ध्यान दिँदै हिमाली क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्न माउन्टेन इकोनोमी मोडलको अवधारणा अघि बढाउनुपर्ने देखिएको छ ।’ पर्यटन मन्त्रालयसँगको अध्ययनमा संलग्न प्राक्टिकल एक्सन जलवायुजन्य जोखिम न्यूनीकरण, अनुकूलन र समुदायको उत्थानमा काम गरिरहेको अन्तर्राष्ट्रिय संस्था हो ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनञ्जय रेग्मीले म्यानमारदेखि अफगानिस्तानसम्म फैलिएको हिन्दुकुश हिमालय क्षेत्र (एचकेएच) मध्ये सगरमाथासहित अग्ला हिमाल नेपालमा पर्ने भएकाले सबैको आकर्षणभित्र परे पनि जलवायु परिवर्तनले निम्त्याएको जोखिमका कारण नेपालले घाटा बेहोर्नुपरेको बताए । ‘फ्रेस हिउँ, हिमनदी र हिमताललाई नजिकबाट साक्षात्कार गर्न पाइने आशाले विदेशीहरू नेपाल घुम्न लालायित हुन्छन्,’ उनले भने, ‘तापक्रम वृद्धिले हिमनदी पग्लिएर हिमतालको आकार र संख्या बढ्दा भविष्यमा नेपालको पर्यटन क्षेत्र थप धराशायी बन्ने मात्र होइन, जलविद्युत् र पिउने पानीको स्रोतमै संकट निम्तिने देखिन्छ ।’ कान्तिपुर दैनिकमा अब्दुल्लाह मियाँले खबर लेखेका छन् ।

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्