अमेरिकाको रक्षा मन्त्रालयले जो बाइडन–कमला ह्यारिस ट्रान्जिसन टीमसँग काम गर्न थाल्ने बताएको छ ।
सामान्य सेवा प्रशासन (जीएसए)ले ट्रम्पबाट बाइडनमा शक्ति हस्तान्तरणको प्रक्रिया शुरू गर्नका लागि अनुमति दिएपछि रक्षा मन्त्रालयको बयान आएको हो ।
‘मन्त्रालयले प्रेसिडेन्सियल ट्रान्जिसन याक्टबमोजिम पाएको सूचनालाई पछ्याउँदै जीएसए प्रशासकले बाइडन–ह्यारिस टोलीलाई निर्वाचनपछिको स्रोत र सेवा उपलब्ध गराएको छ,’ पेन्टागनकी प्रवक्ता सु गफले सोमवार राति बताइन् ।
रक्षा मन्त्रालयका सबै सम्पर्क बाइडन–ह्यारिसका लागि व्यवस्थापन र संयोजन गर्ने व्यवस्था ट्रान्जिसन टास्क फोर्सले गर्नेछ ।
निर्वाचनमा पराजित भए पनि डोनल्ड ट्रम्पले धाँधलीको आरोप लगाउँदै शक्ति हस्तान्तरण गर्न मानिरहेका थिएनन् तर हिजो अचानक त्यसमा सहमति दिए । तर आफूले धाँधलीविरुद्ध लडिरहने उनले बताए ।
जीएसए प्रमुख एमिली मर्फीलाई ट्रान्जिसनको कागजातमा हस्ताक्षर नगरेकोमा सताइएको, धम्क्याइएको र दुर्व्यवहार गरिएको भन्दै देशको हितका लागि भए पनि मर्फीले कागजातमा हस्ताक्षर गरेको बताए । बाइडनले धाँधली, सफ्टवेयरमा समस्या र अन्य अनियमितताको आडमा चुनाव जितेको भनी अड्डी कसिरहेका ट्रम्पले बाइडनलाई शक्ति हस्तान्तरणका लागि अनुमति दिएर पहिलोपटक लचिलो बनेका हुन् ।
निर्वाचनको विजेताको प्रमाणपत्र अहिलेसम्म नदिइएको भए पनि अनेकौं मिडियाहरूले बाइडन विजेता भएको घोषणा गरिसकेका छन् । बहुमतका लागि लागि आवश्यक २७० भन्दा ३६ इलेक्टोरल भोट बढी ल्याएर उनले चुनाव जितेका हुन् ।
एजेन्सी