प्रहरी जवानले डीआईजीसँग टेलिफोनबाट सोझै गुनासो राख्न पाउने

वाग्मती प्रदेश प्रहरी कार्यालय मातहतका सबै प्रहरी कार्यालयमा कमान्डर वा प्रमुखलाई जवाफदेही बनाउन प्रदेश प्रहरी कार्यालयले प्रदेश प्रहरी प्रमुखसँग टेलिफोन संवाद कार्यक्रम शुरू गरेको छ ।

प्रहरी संगठनभित्र सबैलाई थप जवाफदेही बनाउन र सबै तहका प्रहरी कर्मचारीलाई प्रदेश प्रहरी प्रमुखसँग आफ्नो समस्या वा गुनासो राख्न सहजता होस् भन्ने उद्देश्यले टेलिफोन संवाद शुरू गरिएको हो ।


Advertisement

तल्लो तहका प्रहरी कर्मचारीको गुनासो विभागीय रूपमा समाधान गर्ने उद्देश्यले सबै तहका कर्मचारीलाई प्रदेश प्रहरी प्रमुखसँग टेलिफोन संवादको व्यवस्थापन मिलाइएको प्रहरी नायव महानिरीक्षक वसन्तकुमार लामाले जानकारी दिए । संवाद कार्यक्रमले सानो वा ठूलो तहका प्रहरी कर्मचारीले आफ्नो समस्या वा गुनासो आफू कार्यरत कार्यालयको प्रमुखबाट समाधान हुन नसके प्रदेश प्रहरी प्रमुखसँग सहजै रुपमा टेलिफोनमार्फत संवाद गर्न सक्नेछन् । 

आन्तरिक रूपमा संगठनलाई व्यवस्थित गर्न र तल्लो तहका प्रहरी कर्मचारीको गुनासो वा समस्या माथिल्लो तहको कर्मचारीले व्यवस्थापन गर्नुपर्ने जिम्मेवारी बोध गराउन संवाद शुरू गरिएको वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । तल्लो तहदेखि अधिकृतस्तरका कर्मचारीका लागि हप्तामा फरक–फरक समय विभाजन गरी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) सँग टेलिफोन संवाद गर्न सक्नेछन् । 


Advertisement

जुनियर प्रहरी अधिकृतका लागि मंगलवार बिहान ९ देखि १० बजेसम्म २ घण्टा, प्रहरी जवान र हवल्दारका लागि शुक्रवार बिहान ९ देखि १० बजेसम्म २ घण्टा र माथिल्लो अधिकृत दर्जा प्रहरी कर्मचारीका लागि जनुसुकै समयमा पनि प्रदेश प्रहरी प्रमुखसँग टेलिफोन संवाद गर्न सक्नेछन् ।

प्रहरी संगठनलाई आन्तरिकरूपमा चुस्तदुरुस्त राख्न सो अभियानले सहयोग पुग्ने विश्वास लिइएको छ ।

कमेन्ट गर्नुहोस्