बैतडीमा मंगलवार दिउँसो भएको जीप दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परेर बैतडीको सुर्नया गाउँपालिका–४ का ७५ वर्षीया कलावती चन्द, दशरथचन्द नगरपालिका–४ का ७५ वर्षीय भगिरथ पाण्डेय, दशरथचन्द नगरपालिका–५ बस्कोटका ७० वर्षीया पार्वतीदेवी चन्द, ७२ वर्षीया पार्वतीदेवी चन्द र दशरथचन्द नगरपालिका–२ का ५८ वर्षीय कृष्णलाल लावडको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायणप्रसाद अधिकारीले बताए ।
दुर्घटनामा ४ जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल पुर्याइएको डीएसपी अधिकारीले बताए ।
बैतडीको झुलाघाटबाट गोठलापानी आउँदै गरेको ना१ज २१९६ नम्बरको जीप दशरथचन्द नगरपालिका–१० बुड्डामा मंगलवार दिउँसो दुर्घटनामा परेको थियो ।
तीव्रगतिमा रहेको जीप अनियन्त्रित भएर दुर्घटनामा परेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । जीप सडकबाट करीब १०० मिटर तल खसेको छ । दुर्घटनालगत्तै फरार रहेका जीप चालक गोपाल कार्कीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर मृत्यु भएका सबै नागरिक भारतबाट ‘पेन्सन’ बुझेर आउँदै गरेकाहरू रहेको बताइएको छ ।
जीवन विष्ट
विष्ट लोकान्तरका लागि सुदूरपश्चिम प्रदेश प्रतिनिधि हुन् ।