काठमाडौं उपत्यकामा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न उपत्यका नगरपालिका फोरमले निषेधाज्ञाको माग गर्दै आएपनि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिले तत्काल यसबारे निर्णय नगर्ने भएको छ । उपत्यकामा क्रमशः कोरोनाका सक्रिय संक्रमित घट्दै गएकाले सीसीएमसी तत्काल निषेधाज्ञा गर्ने पक्षमा नरहेको हो ।
काठमाडौं उपत्यकामा संक्रमणको जोखिम बढ्दै गएकाले निषेधाज्ञा गर्न उपत्यका मेयर फोरमले सिफारिस गरेको थियो । तर, मंगलबारको बैठकमा यसबारे कुनै निर्णय नभएको हो ।
बैठकले संक्रमणको जोखिमको अवस्था मूल्यांकन गरी सबै देशहरुमा उडान अनुमित दिने निर्णय भने गरेको छ । हाल सीमित देशहरुमा उडान अनुमति दिइएको बैठकले अन्तर्राष्ट्रिय उडान बढाउने निर्णय गरेको हो ।
संक्रमणको जोखिम मूल्यांकन गरी आवश्यकता अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नियमित उडानको अनुमति दिने निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले बताए ।
विभिन्न सरकारी कार्यालयहरूमा केही व्यक्तिमा कोरोना संक्रमण देखिए सम्पूर्ण सेवा बन्द गर्ने प्रवृत्ति बढेकाले त्यस्तो नगर्न पनि सम्बन्धितलाई बैठकले निर्देशन दिएको छ ।
लोकान्तर संवाददाता