भारतका परराष्ट्र सचिव हर्षवर्धन शृंगला नेपालको दुईदिने भ्रमणका लागि बिहीवार काठमाडौं आउने पूर्वसन्ध्यामा भारतबाट प्रकाशन हुने अंग्रेजी दैनिक पत्रिका द हिन्दुमा एउटा रिपोर्ट छापिएको छ ।
सुहासिनी हैदरको बाइलाइनमा छापिएको रिपोर्टमा लेखिएको छ :
विदेश सचिवले काठमाडौंको भ्रमण गरेकोलाई भारतले सीमाको विषयमा लचिलो बनेको भनी अर्थ्याउन मिल्छ भन्ने कुरालाई सरकारी स्रोतहरूले अस्वीकार गरेका छन् ।
‘सीमाका विषयमा हाम्रो अडान स्पष्ट छ र हामी त्यसमा परिवर्तन गर्दैनौं,’ एक वरिष्ठ अधिकारीले बताए । ‘नेपालका प्रधानमन्त्रीले अगस्ट महिनामा हामीलाई सम्पर्क गर्नुभएको थियो । त्यसपछि उनीहरूले हाम्रा सेनाप्रमुखलाई बोलाए । हामी यस सम्पर्कलाई अगाडि बढाउन चाहन्छौं र यसले कहाँ पुर्याउँछ हेर्नेछौं ।’
विगत केही महिनामा भारतले चीन र नेपाल सरकारको सम्पर्कमा वृद्धि भएको कुरामा चिन्ता व्यक्त गरेको छ । गत अगस्ट महिनामा नेपालले कोभिड–१९ व्यवस्थापनका विषयमा चीनद्वारा आयोजित पराहिमालय सम्मेलनमा भाग लिएको थियो र त्यसमा पाकिस्तान र अफगानिस्तान पनि सहभागी थिए ।
अनि नोभेम्बर महिनाको आरम्भमा चीनले आयोजना गरेको अर्को सम्मेलनमा पनि नेपालले भाग लियो जसमा पाकिस्तान, बंगलादेश र श्रीलंका पनि संलग्न थिए ।
अर्को साता चीनका रक्षामन्त्री वेई फङ्हेले काठमाडौं भ्रमण गर्ने अपेक्षा छ र नयाँ दिल्लीले त्यसलाई पनि नजिकैबाट नियाल्नेछ ।
‘हामीले अन्य मुलुकहरूलाई कोसँग भेट्न सक्छन् भनी बताउन मिल्दैन,’ अर्का एक अधिकारीले बताए । ‘कोभिड–१९ का विषयमा भारतले नेपालसँग गरेको सहकार्य दरिलो र सक्रिय छ ।’
एजेन्सी