नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले महामारीले थलिएको अर्थतन्त्रको पुनरुत्थानका लागि महासंघले भिजनपत्र बनाइरहेकाे बताएका छन् ।
महासंघको ५४ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले आफूहरूले रणनीतिक रुपमा आर्थिक क्षेत्रको उन्नतीका लागि भिजनपत्र बनाइरहेको भन्दै यसको कार्यान्वयनका लागि सरकार र निजी क्षेत्रको सहकार्य अत्यावश्यक भएको बताए ।
नेपालको अर्थतन्त्र कसरी चलायमान बनाउने भन्ने विषयमा गहन अध्ययन भइरहेको भन्दै उनले यसबारे नयाँ कार्यकारिणी समितिबाट पास गराएर भिजन पत्र सार्वजनिक गरिने बताए ।
अहिले विभिन्न मुलुक कोभिड १९ को खोपको अन्तिम तयारीमा रहेका भन्दै खोप ल्याउन निजी क्षेत्रको सहकार्य आवश्यक भएमा तयार भएको बताए ।
क्षेत्रगत रुपमा आर्थिक राहतको प्याकेज ल्याउन उनले सरकारसँग माग गरेका छन् ।
उनले महामारीका बीचमा पनि कृषिमा समस्या यथावत रहेको औंल्याउँदै यसमा सरकारले उचित कार्यक्रम ल्याउन नसकेको बताए ।
उद्योग व्यवसायले ब्याजदर छुट, कर्जा लगायतको अपेक्षा गरेकोमा सरकारको ध्यान जान जरुरी रहेको बताए ।
राहतका कार्यक्रम सार्वजनिक भयपनि कार्यान्वयन हुन नसक्दा उद्योग व्यवसाय समस्यामा भएको उनले बताए ।
पुनकर्जा कोष २ खर्ब पुर्याउनुपर्नेमा उनले जोड दिए । उनले समय ३ वर्ष बनाउनुपर्नेमा जोड दिए ।
कृषिको पुनरसंरचना गर्नुपर्नेमा उनले जोड दिए ।
उनले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि निजी क्षेत्र योगदान गर्न चाहने उनले बताए ।
लोकान्तर संवाददाता