भीमफेदी–कागते–इपा–सिस्नेरी सडक खण्डको निर्माण द्रुतगतिमा

मकवानपुरको भीमफेदी–कागते–इपा–सिस्नेरी सडकखण्ड निर्माणको काम द्रुतगतिमा भइरहेको छ ।

सङ्घीय सरकारको रु ३४ करोडको लागतमा सो सडकखण्ड र त्यसमा पर्ने पुल निर्माणको काम द्रुतगतिमा भइरहेको हो ।


Advertisement

२६ करोडको लागतमा नालीसहित पक्की सडक र रु आठ करोडको लागतमा पक्की पुल निर्माण गर्न लागिएको छ ।

मकवानपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य विरोध खतिवडाको विशेष पहलमा २६ किलोमिटर सो सडकखण्ड निर्माणको काम भइरहेको बताइएको  छ  ।
 
सडक निर्माणसँगै भीमफेदी कोगटेमा दुई वटा पुल निर्माणको काम पनि अघि बढाइएको छ ।


Advertisement

सो सडकखण्ड र पुल निर्माण कार्यको आज प्रतिनिधिसभा सदस्य खतिवडा र भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामालगायत प्राविधिक टोलीले स्थलगत अनुगमन तथा अवलोकन गरेका छन् ।

अनुगमनका क्रममा सडक र पुल निर्माणको काम द्रुतगतिमा अगाडि बढेको देखिएको सांसद खतिवडाले बताए ।

उनले तोकिएको समयमा नै पुल तथा सडक निर्माणको काम सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिए ।

यसैगरी भीमफेदीको गट्टेखोलामा दुई वटा पक्की पुलको निर्माण शुरु भएको छ ।

उक्त पुल र सडक निर्माण भएपछि स्थानीयवासीलाई आवातजावत र व्यावसायिक कारोवार गर्न थप सहजहता हुने अपेक्षा गरिएको भीमफेदी गाउँपालिकाका अध्यक्ष लामाले बताए ।

कमेन्ट गर्नुहोस्