नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारणसभा बिहीवारदेखि शुरू भएको छ ।
यतिखेर महासंघका पदाधिकारी तथा सदस्यहरू निर्वाचनका लागि तयार भएर बसेका छन् ।
निर्वाचनमा महासंघको वस्तुगत तर्फ रोचक प्रतिस्पर्धा देखिने भएको छ ।
चुनावी मैदानमा वस्तुगत तर्फ चन्द्र ढकाल समूहबाट उमेशलाल श्रेष्ठ र किशोर प्रधान समूहबाट अन्जन श्रेष्ठ भिड्दै छन् ।
उमेशलाल अहिलेको कार्यकारिणी समितिमा वस्तुगतबाट उपाध्यक्ष हुन् भने अन्जन कार्यकारिणी सदस्य हुन् ।
औषधी उत्पादन संघको प्रस्तावमा उमेशलाल र नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपालको प्रस्तावमा अन्जन उम्मेदवार बनेका हुन् ।
कसको प्यानलमा को ?
उमेशलालको प्यानलमा कमला श्रेष्ठ, हेमराज ढकाल, जयप्रसाद शिवाकोटी, रविनकुमार श्रेष्ठ, प्रकाशसिंह कार्की, आकाश अधिकारी, सुमित केडिया, सुवोधकुमार गुप्ता, नरेशलाल श्रेष्ठ, भक्तबहादुर हमाल, सुभाष भण्डारी, हरिबहादुर कार्की, रामकृष्ण श्रेष्ठ र सुर्यबहादुर मगर उम्मेदवार छन् ।
यस्तै अन्जन श्रेष्ठको प्यानलमा अरनिको राजभण्डारी, अशोक शर्मा, गोविन्द ढुंगेल, दिपकप्रसाद दाहाल, मनिषलाल प्रधान, मिनमान श्रेष्ठ, रविन पुरी, विप्लवमान सिंह, बिष्णुप्रसाद गैरे, शकुन्तलाल हिराचन, शारदा रिजाल, शिवप्रसाद घिमिरे, सन्दिपकुमार अग्रवाल र सुनिलगोपाल श्रेष्ठ रहेका छन् ।
बिहीवारबाट शुरू भएको महासंघको साधारण सभामा शुक्रवार बन्दसत्र र शनिवार निर्वाचन हुने छ ।
साधारण सभाले शेखर गोल्छाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्नेछ ।
विधान अनुसार वरिष्ठ उपाध्यक्ष गोल्छा साधारणसभाबाट स्वतः अध्यक्ष बन्नेछन् भने वरिष्ठ उपाध्यक्ष तथा अन्य पदका लागि चुनावी प्रतिस्पर्धा हुनेछ ।
वरिष्ठ उपाध्यक्ष पदका लागि चन्द्र ढकाल र किशोर प्रधानबीच कडा प्रतिस्पर्धा हुने छ । उपाध्यक्षका प्रत्यासी उमेशलाल ढकाल समूहका हुन् भने अर्का प्रत्यासी अन्जन प्रधान समूहका हुन् ।
लोकान्तर संवाददाता