नेपाल–भारत सम्बन्ध र श्रृंगला भ्रमणको कूटनीतिक सन्देश

लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको नेपाली भूमि समेटेर गत वर्षको नोभेम्बर २ मा भारतले नयाँ प्रशासनिक नक्सा प्रकाशित गरेपछि सदियौं पुराना दुई छिमेकी मुलुक नेपाल–भारतबीचको सम्बन्धमा एकाएक चिसोपना आयो ।

जम्मु काश्मिर विवादलाई लिएर भारतले जारी गरेको नयाँ प्रशासनिक नक्सामा नेपाली भूमि अतिक्रमित भएपछि नेपालले कूटनीतिक नोट पठाएर तत्कालै विरोध जनाए पनि संवाद हुन सकेन ।


Advertisement

नेपाली अतिक्रमित भूमि फिर्ताबारे वार्ता गर्न भारत तयार नभएपछि भारते नयाँ नक्सा जारी गरेको झण्डै ६ महिनापछि २०७७ जेठ ५ गते नेपालले पनि आफ्नो अतिक्रमित भूमि समेटेर नयाँ नक्सा प्रकाशित गर्‍यो ।

कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालले आफ्नो नक्सामा पारे पछिको अर्को ६ महिना पनि नेपाल भारतबीच औपचारिक संयन्त्रबीच संवादहीनता नै रह्यो । 


Advertisement

कोरोना महामारी बहाना बनेपनि नेपालले अतिक्रमित भूमि समेटेर नक्सा प्रकाशित गरेपछि दुई देशबीच एकप्रकारको संवादहीनताको स्थिति सिर्जना भएको थियो ।

नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले संवादहीनता तोड्न भेटघाट र संवादलाई तीव्र बनाए । पछिल्लो एक महिनाको बीचमा भारतबाट तीनवटा महत्त्वपूर्ण भ्रमण भएका छन्– भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको भ्रमण, भारतीय प्रधानमन्त्रीको ‘विशेष दूत’ बनेर आएका सामन्त गोयलको भ्रमण र भारतीय विदेश सचिव हर्षबर्धन श्रृंगलाको भ्रमण । 

भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख गोयलको भ्रमण विवादमा परे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेताहरूसँग भारतीय प्रधानमन्त्रीले विशेष दूतको रूपमा पठाएको ब्रिफिङ गरेका थिए ।
यी तीनवटै भ्रमणको मुख्य सन्देश नै दुई देशबीच देखिएको संवादहीनताको अन्त्य र समझदारी निर्माण गर्नु थियो ।

विदेश सचिवको रूपमा आफ्नो पहिलो नेपाल भ्रमणका क्रममा बिहीवार काठमाडौं उत्रिनेबित्तिकै श्रृंगलाले नेपाली भाषामै नेपाल–भारत सम्बन्धको व्याख्या गरेर नेपालीको विश्वास जित्ने कोशिश गरे । कूटनीतिक सम्बन्धमा भाषाको कुराले पनि गहिरो अर्थ राख्छ । विमानस्थलबाटै उनले नेपाल–भारत सम्बन्ध बलियो रहेको सन्देश दिए । 

बिहीवार नै काठमाडौंमा परराष्ट्र सचिव स्तरमा बैठक भयो, जहाँ दुई देशबीच पछिल्लो समय देखिएका समस्याको बारे छलफल भयो । 

सचिवस्तरीय संयन्त्रलाई दुई देशका समस्या समाधान गर्ने औपचारिक र स्थायी संयन्त्र मानिँदै आएको छ । राजनीतिक तहमै टुंग्याउनु पर्ने कालापानीको विषय र सीमा विवाद सचिवस्तरीय बैठकबाट नटुंगिए पनि औपचारिक संवादको शुरूआतलाई सकारात्मक मान्नुपर्छ ।

शुक्रवार एक कार्यक्रममा भारतीय विदेश सचिव श्रृंगलाले कोभिड– १९ विरुद्ध भारतले बनाउँदै गरेको खोपबाट नेपालले लाभ लिन सक्ने जनाउ दिएका छन् । 

छोटो भ्रमणमा पनि विदेश सचिव श्रृंगलाले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवा लगायतसँग औपचारिक भेटवार्ता गरे । ओलीलाई भेटेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिवादन टक्र्याएको सन्देश नेपालस्थित भारतीय दूतावासले दिएको छ । 

‘उहाँहरूबीच भारत र नेपाल बीचको बृहत्तर साझेदारी र यसलाई अझ सुदृढ पार्ने विषयमा छलफल भयो,’ दूतावासले सन्देश लेखेको छ । राष्ट्रपति भण्डारीसँगको भेटमा विदेश सचिव श्रृगंलाले ‘भारत– नेपाल सम्बन्धलाई सुदृढ बनाउने उपायबारे छलफल गर्नुभयो,’ भनेर दूतावासले लेखेको छ । 

नेपाल र भारतका नागरिकबीच सदियौं पुरानो सम्बन्ध छ, दिल्ली या काठमाडौंले यसको सहजीकरण गर्दै आइरहेका छन् । दुई देशको सम्बन्धमा बेलाबखत समस्या उत्पन्न भएपनि आपसी समझदारीबाट अन्त्य गरिएका दृष्टान्त छन् ।

लामो संवादहीनता तोड्दै श्रृंगला भ्रमणले शुरू गरेको संवादको थालनीलाई अगाडि बढाउँदै दुई देशका समस्या कूटनीतिक तबरबाटै हल गर्नु बुद्धिमानी हुनेछ ।

परराष्ट्र सचिवस्तरमा भएको सफल वार्तापछि भ्रमण, मन्त्री र प्रधानमन्त्री तहमा कुरा गरेर दुई देशबीचका समस्या हल गर्न सकिन्छ । दुवै देशले बिर्सन नमिल्ने कुरा– छिमेकी फेर्न सकिँदैन ।

लोकान्तर सम्पादकीय
लोकान्तर सम्पादकीय

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्