प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले जनताको बहुदलीय जनवादको सकारात्मक चर्चा गर्दा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमा देखिने छटपटी र व्यग्रता देखेर आफू अचम्मित हुने गरेको बताएका छन् ।
महाधिवेशनसम्म जबजलाई थाँती राखेर जनताको जनवाद पदावली प्रयोग गर्ने निर्णय गरेको ओलीले उल्लेख गरेका छन् ।
शनिवार पार्टी सचिवालय बैठकमा पेश गरेको प्रस्तावमा ओलीले नेकपा हिंड्ने बाटो कुन हो भन्ने कुरा स्पष्ट हुनु पर्ने बेला आएको बताएका हुन । प्रचण्डले जबजमा फर्किन नसकिने बताउँदै आएका छन् ।
‘मैले यिनै केही प्रश्नहरुको सन्दर्भमा जनताको बहुदलीय जनवादको विषय उठाएको हुँ । महाधिवेशनसम्म हामीले यसलाई थाँती राखेको र जनताको जनवाद पदावली प्रयोग गर्ने निर्णय गरेको तथ्यलाई मैले बिर्सेको छैन । तर नेपालको कम्युनिष्ट आन्दोलनलाई यस उचाइमा ल्याइपुर्याउन यसले खेलेको भूमिकाको सकारात्मक चर्चा गर्दा तपाईंलाई हुने छटपटी र व्यग्रता देखेर म अचम्मित हुन्छु’ ओलीले भनेका छन, ‘अब हामी हिंड्ने बाटो कुन हो भन्ने कुरा स्पष्ट हुनु पर्दैन ? नेकपाको पहिचान र बाटोका बारेमा उठेका प्रश्नहरुको सैद्धान्तिक जवाफ दिनु पर्दैन ?’
ओलीले सचिवालयमा पेश गरेको ५३ बुँदे प्रस्ताव र प्रचण्डको छुट्टै प्रस्तावमाथि मंसिर १६ गते नेकपा सचिवालय बैठकमा छलफल हुने भएको छ ।
लोकान्तर संवाददाता